खोज/विशेष : टिप्पणी

पूर्वराजाको विज्ञप्तिमा ४५ गल्ती, नेपाली भाषा ध्वस्त !


काठमाडौं, ७ मंसिर – नेपालमा भाषिक शुद्धता, संरक्षण र प्रवर्द्धनका विषयमा गम्भीर बहस भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार बेलुका जारी गरेको एक विज्ञप्तिमा बग्रेल्ती भाषागत त्रुटि भेटिएका छन् । यसले पूर्वराजा र उनका सल्लाहकार एवं सहयोगीहरू नेपाली भाषाप्रति गैरजिम्मेवार रहेको देखाएको छ ।
हिन्दू धर्मका कट्टर समर्थक पूर्वराजा र उनका सहयोगीले आफ्नै मातृभाषा नेपालीको चाहिँ उपहास गरेको देखिएको भाषाविद्हरूले टिप्पणी गरेका छन् । पूर्वराजालाई पटक-पटक भेट्नेहरू उनको अंग्रेजी भाषा चाहिँ राम्रो भएको दाबी गर्छन् । तर अंग्रेजी राम्रो बोल्नसक्ने पूर्वराजाले नेपाली भाषाको शुद्धाशुद्धिमा ध्यान नदिनु आपत्तिको विषय भएको विश्लेषकहरूको भनाइ छ ।

भाषागत त्रुटि एउटा भयो, पूर्वराजा वा उनका सहयोगी टोलीका सदस्यहरू कति अव्यवस्थित, असंवेदनशील वा गैरजिम्मेवार छन् भन्ने पनि छरपस्ट भएको छ । साथै पूर्वराजाका सल्लाहकार टोलीका सदस्यहरूको क्षमता र परिपक्वतामाथि पनि यसले प्रश्न तेर्स्याइदिएको छ । नेपाली भएर सामान्य ह्रस्व दीर्घमा समेत ध्यान नदिएको देखिनु आफैंमा लज्जास्पद भएको भाषाविद्को टिप्पणी छ ।

४५ स्थानमा त्रुटि

पूर्वराजा ज्ञानेन्द्र शाहको नामबाट बुधवार बेलुका जारी विज्ञप्तिमा जम्माजम्मी तीनसय ७९ शब्द छन् । एक पृष्ठको उक्त विज्ञप्तिको ४५ स्थानमा त्रुटि भेटिएको छ । लोकान्तरको समीक्षाले उक्त विज्ञप्तिमा सामान्य ह्रस्व दीर्घमा समेत ख्याल नपुर्‍याएको देखिएको छ ।

विज्ञप्तिमा विक्रम हुनुपर्नेमा बिक्रम लेखिएको छ । बलिदान हुनुपर्नेमा वलिदान उल्लेख छ । प्रयोग भएका सबै ‘हरु’ दीर्घ हुनुपर्नेमा ह्रस्व लेखिएको छ । शिरविन्दु र चन्द्रविन्दुमा ख्याल गरिएको छैन । चन्द्रविन्दु प्रयोग गर्नुपर्ने ठाउँमा शिरविन्दु दिइएको छ । प्रताडित हुनुपर्नेमा प्रताडीत गराइएको छ । अस्थायी हुनुपर्नेमा अस्थाथी उल्लेख गरिएको छ भने स्थायी हुनुपर्नेमा स्थाथी लेखिएको छ ।

नेपाली भाषाप्रतिको उपहास: प्राध्यापक पोखरेल

यसैबीच नेपाली भाषाविद् प्राध्यापक डा. माधव पोखरेलले पूर्वराजाको तहबाट आउने विज्ञप्तिमा भाषागत त्रुटि हुनु गम्भीर लापरवाहीको विषय भएको बताए । ‘दरबारियाहरू नेपाली भाषाप्रति जानकार नहुने गरेका थुप्रै उदाहरण छन् तर त्यो राम्रो होइन,’ उनले लोकान्तरसँग भने, ‘पूर्वराजा आफैंले त लेखेका होइनन् होला । तर उनका सहयोगी वा सल्लाहकारहरूले पनि भाषाप्रति संवेदनशीलता नदेखाएको रूपमा यसलाई बुझ्नुपर्छ ।’

उच्च पदमा बस्ने नेपाली अधिकारीहरूले नेपाली भाषालाई ख्यालठट्टाका रूपमा लिने गरेको आफूले पाएको पोखरेलको भनाइ छ । ‘कम्तीमा सार्वजनिक गर्नुअघि एकपटक दोहोर्‍याएर त पढ्नुपर्छ । भाषागत रूपमा ठीक भए/नभएको हेर्नुपर्छ । तर त्यसो गर्ने गरेको पाइँदैन, यो नेपाली भाषाप्रतिको गम्भीर लापरवाही हो । ’
खासगरी ठूलाबडाहरूबाटै हुने भाषिक शुद्धतामाथिको मिच्याइँले नेपाली भाषाको सम्मान बढ्न नसकेको उनले बताए । ‘ यो त भाषिक शुद्धताप्रतिको उपहास नै हो,’ पोखरेलले थपे ।
कहाँ कहाँ कस्ता गल्ती छन् विज्ञप्तिमा ? हेरौं:
पुस ७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस