Ruslan
Tata /sipradi
Sarbottam Cement

टिप्पणी

युरोपमा भइरहेको शृङ्खलाबद्ध हमलाले के संकेत गर्दैछ ?

विन्देश दहाल

युरोपमा अघिल्लो हप्ता भएका दुईवटा घटनाले त्यस महाद्वीपको भविष्यमा प्रश्नचिह्न उठाएका छन् । टर्कीमा रुसी राजदूत आन्द्रेई कार्लोभको हत्या र जर्मनीको बर्लिनमा व्यस्त सडकमा ट्युनिसियाली आतंकवादी अनिस आमरीले ट्रक जोतेर १२ जनाको हत्या गरेको यी दुई घटनापछि युरोपमा इस्लामका विषयमा तीव्र बहस छेडिएका छन् ।


विगतका केही वर्षयता इस्लामिक आतंकवादीहरूले युरोपलाई तारो बनाइरहेका छन् । मध्यपूर्वमा अनन्त द्वन्द्व मच्चाएको पश्चिमलाई साना तर खतरनाक आक्रमणमार्फत बदला लिने रणनीति आतंकवादी संगठनहरूले लिएको समेत विश्लेषण हुने गरेको छ । मध्यपूर्वबाट युरोप भौगोलिक रूपमा नजिकै रहेकाले पनि आतंकवादीहरूको निशाना बनिरहेको देखिन्छ । पोहोरसाल फ्रान्सको नीसमा ट्रक जोेतेर गरिएको आक्रमण, ब्रसेल्समा गरिएको बम आक्रमण, जर्मनीको म्युनिखमा जथाभावी गोली प्रहार, चार्ली हेब्दोमा पत्रकारहरूको कत्लेआम लगायतका घटनाबाट नै युरोपमा मुसलमानी आतंकवादीको जगजगी रहेको देखिएको थियो ।

त्यसमाथि इस्लामिक स्टेट (आईएस) का नेताहरूले आफ्ना अनुयायीहरूलाई युरोपमा स्वतन्त्र हमलाको योजना बुन्ने र आक्रमण गर्ने आह्वान गरेका छन् । यसैको परिणामस्वरूप ‘लोन उल्फ’ अर्थात् (आमरीले जस्तै) एकल आक्रमणका सिलसिला शुरु भएका छन् । सम्भावित आक्रमणकारीलाई पहिचान र निरन्तर निरीक्षण गर्न व्यावहारिक कठिनाइ भएको युरोपेली अधिकारी र विश्लेषकहरूले बताएका छन् ।

विश्लेषकहरूका अनुसार आईएसले नाबालक आक्रमणकारीहरूको जत्था तयार पारिरहेको छ । जर्मनीमा ट्रक आक्रमणको हल्लाखल्ला भइरहँदा एकजना १२ वर्षीय इराकी बालकले क्रिसमस बजारमा बम आक्रमण गर्ने योजना बनाएको र अधिकारीहरूले त्यसलाई असफल पारेको खबरले महत्व पाएन । पोहोरसाल बाभेरियामा एक १७ वर्षीय बालकले रेलयात्रुहरूमाथि आक्रमण गरेको घटना पनि सार्वजनिक भएको थियो । साना उमेरका बालबालिकालाई अतिवादी बनाउन सजिलो हुने देखेरै आईएसले रणनीति बनाएको विश्लेषकहरू बताउँछन् ।

यस्ता बालबालिकालाई आफ्नो समूहमा तान्नका लागि आईएसले गीत, भिडियो र डिजिटल गेमहरूको पनि प्रयोग गर्ने गरेको भेटिएको छ । उनीहरूले भावना भड्काउने प्रभावकारी उपाय अपनाउने गरेका छन् । सामाजिक सञ्जालको प्रयोग पनि अतिवादी शिक्षाका लागि हुने गरेको छ । सामाजिक सञ्जाललाई नियन्त्रण गर्न
अधिकारीहरूलाई गाह्रो परिरहेको छ । अधिकारीहरूले युवामात्र नभएर बालबालिका लगायत सबैखाले उमेर समूहका व्यक्तिमाथि निगरानी बढाउनुपर्ने अवस्था आएको छ ।

तर निगरानी र निरीक्षणमा अनेकौं समस्या छन् । युरोप छिर्ने मुसलमानहरूको सम्पूर्ण जानकारीको अभिलेख राख्ने काम (प्रोफाइलिङ) लाई अधिकारवादी संस्थाहरूले विरोध गरेका छन् । अमेरिकामा डोनाल्ड ट्रम्पले मुसलमान आप्रवासीको दर्ताअभिलेख राख्नुपर्ने कुरा उठाउँदा सर्वत्र विरोध भयो । युरोपमा त झन् अधिकारका कुरा चर्का रूपमा उठ्छन् । त्यहाँ एउटा जाति वा धर्मविशेषलाई लक्षित गरी अभिलेख राख्ने काम अघि बढ्न मुश्किल छ ।

आईएसले मुसलमान देशका शरणार्थीलाई प्रमुख रूपमा लक्षित गरेको छ । यीमध्ये पनि आर्थिक रूपमा कमजोर रहेका मुसलमान युवाहरूलाई अतिवादी समूहले लक्षित गर्ने गरेका छन् । आर्थिक असमानता बढ्दै जाँदा अनि उनीहरूलाई समाजले स्वीकार गर्न आनाकानी गर्दा यस्ता जिहादीको संख्या झन् बढ्दै जानेछ ।

अनि विदेशी भूमिमा लडाईं गरिसकेका अतिवादीहरूले युरोपमा जन्मेर हुर्केका मुसलमानहरूलाई पनि खोजीखोजी आफ्नो समूहको सदस्य बनाउने गरेका छन् । युरोपमा अहिले यस्ता दुई हजार लडाकु रहेको अधिकारीहरूले अनुमान गरेका छन् ।

तर वास्तविकताको अर्को पाटो पनि छ । युरोप वा पश्चिममा हुर्केका मुसलमानहरूले त्यहाँको चमकधमकयुक्त तथा आत्मकेन्द्री संस्कृतिलाई अपनाउन नसकेको पनि तीतो सत्य हो । जिहादी लडाकुको आकर्षणमा पर्नुका पछाडि यस्ता युवाहरू हुर्केको समाजले उनीहरूलाई प्रेरित र उत्साहित गर्न नसक्नु पनि हो । यस्ता युवाको मनमा चल्ने सांस्कृतिक द्वन्द्वले उनीहरूमा शून्यवादी विचार पलाउने तथा हिंस्रक कार्यमा लाग्न प्रेरित हुने पनि गर्छ ।

तर पश्चिमका विश्लेषकहरू यो मान्न तयार छैनन् । उनीहरू त आफ्नो समाज उदारवादी तर्क र निष्पक्षताको आधारशिलामा उभिएको मान्छन् । जतिसुकै उदारवादको नारा घन्काएपनि पश्चिमी समाजमा खुल्ला बहसलाई असहिष्णु तवरले हतोत्साहित गरिने देखिएकाले पनि फरक संस्कृतिका युवाले आतंकको ‘ग्ल्यामर’ लाई अपनाएको पाइन्छ ।

युरोपबाहिरबाट आएका युवा र युरोपमै हुर्केका युवा यसरी अतिवादी समूहहरूको आकर्षणमा पर्नुले युरोपमा आक्रमणका सिलसिला झनै बढ्ने देखिन्छ । अबको १५ वर्षसम्म पनि यसैकारण युरोप आक्रान्त हुने विश्लेषकहरूले बताएका छन् ।

यस्ता आक्रमण नियमित रूपमा भइरहँदा युरोपका उग्रदक्षिणपन्थी राजनीतिकर्मीहरूप्रतिको समर्थन ह्वात्तै बढेको छ । जर्मनीमा भएको आक्रमणपछि अल्टरनेभि फर जर्मनी नामक उग्रदक्षिणपन्थी दलप्रतिको समर्थन बढेको देखिएको छ भने आप्रवासीलाई स्वागत गर्ने जर्मन चान्सलर अन्गेला मर्केलको लोकप्रियता घटेको छ । आफ्नो देशको सीमा बन्द गर्ने र आप्रवासीहरूको प्रवाह घटाउने प्रस्ताव दक्षिणपन्थीहरूले गरेका छन् । बेलायतले युरोपेली संघबाट बाहिरिने निर्णय गर्नुमा यही आप्रवासीको प्रवाहजन्य खतरा प्रमुख कारण थियो ।

तर यस्ताखाले प्रस्तावले समुदायहरूका बीच झन् तनाव बढ्ने र उग्रवाद थप मौलाउने केही विश्लेषकहरूको टिप्पणी छ ।

यो सामग्री तयार पार्न वाशिङटन पोस्टमा प्रकाशित विभिन्न लेखको सहायता लिइएको हो । आइतवार, पौष १०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement