Nic Asia
cocacola

टिप्पणी

कतारमाथि आतंकवादलाई प्रश्रय गरेको आरोप किन लाग्यो ?

टम कीटिङ

आतंकवादी संगठनहरूलाई लगानी गरेको आरोपमा साउदी अरब र खाडीका अन्य मुलुकले कतारसँग सबै सम्बन्ध तोडेका छन् ।


कतारका छिमेकी मुलुकले उसको विदेशनीतिप्रति असन्तुष्टि देखाएको यो पहिलो अवसर होइन । सन् २०१४ मा पनि ती मुलुकले कतारसँग नौ महिनाका लागि सम्बन्ध तोडेका थिए ।

मुस्लिम ब्रदरहूडलाई कतारले समर्थन गरेको भन्दै खाडी मुलुकसँगको तनाव शुरु भएको हो ।

यसअतिरिक्त तालिबान र अलकायदासँग जोडिएका संगठनसँग कतारको निकट सम्बन्ध र इरानसँगको सम्बन्धले गर्दा पनि खाडी मुलुकहरू उसप्रति रुष्ट थिए ।

कतारमा रहेको अलजजीरा टीभीले यमनमा हूती विद्रोहीहरूलाई इरानको पैसा खाएर समर्थन गरेको आरोप हालै साउदी अरबले लगाएको थियो । यमनमा साउदी अरब र युएई सरकारी फौजलाई समर्थन गर्छन् र हूतीविरुद्ध बमवर्षा गरिरहेका छन् ।

दोहाले यी सबै आरोप खारेज गरेको छ ।

तर अहिलेको तनाव ग्यास भरपूर भएको धनी देश कतारको लगानीसँग सम्बन्धित छ ।

गत अप्रिलमा कतारले सिरियामा अलकायदाका एक पूर्वसहयोगी तथा इरानी सुरक्षा अधिकारीहरूलाई एक अर्ब डलर फिरौती दिएको बताइन्छ ।

फिरौती लिएर कतारका शाही परिवारका २६ सदस्यलाई इरानसमर्थित शिया अतिवादीहरूले छोडेका थिए ।
यसअतिरिक्त उक्त अवसरमा दर्जनौं शिया लडाकुहरूलाई पनि छोडिएको थियो । ती लडाकुहरूलाई सिरियामा जिहादीहरूले पक्रेका थिए ।

त्यसैले कतारले अतिवादी विचारधारालाई आर्थिक सहायता जारी राखेकाले वर्तमान संकट उब्जिएको देखिन्छ ।

सेप्टेम्बर ११ पछि अमेरिकाले अतिवादीहरूलाई आर्थिक सहयोग रोक्ने विश्वनीति बनाएको छ ।

नयाँ कानूनहरू बनाएर अतिवादीहरूमाथि लगानी रोक्नका लागि नक्कली कम्पनी तथा संस्थाहरूको आर्थिक गतिविधिमाथि रोक लगाइएको थियो । ती संस्थाको सम्पत्ति र व्यक्तिमाथि पनि प्रतिबन्ध लगाइयो ।

तर कतार जस्ता मुख्य देशले अतिवाद रोक्ने भनेपनि उनीहरूको प्रतिबद्धतामा प्रश्न उठेका छन् ।

सन् २०१४ मा तत्कालीन टेररिजम एन्ड फाइनान्सियल इन्टेलिजेन्सका उपसिचव डेभिड कोहेनले भनेका थिए, ‘अमेरिकाको लामो समयदेखिको सहयोगी कतारले वर्षौंसम्म खुल्ला तवरले हमासको मद्दत ग–यो । मिडियामा आएको खबर अनुसार कतारले सिरियामा अतिवादी समूहको पनि मद्दत गरिरहेको संकेत पाइन्छ ।’

कतारले आफ्नो भूमिमा अल कायदा र इस्लामिक स्टेट जस्ता अतिवादी समूहका लागि धन जम्मा गर्ने अनुमति दिने गरेको पनि उनी बताउँछन् ।

सन् २०१६ मा कोहेनको ठाउँमा आएका एडम शूबीनले अतिवादीलाई आर्थिक सहायता दिनेहरूमाथि कारवाहीको इच्छा देखाएपनि कतारले बेवास्ता गरेको र यसका लागि जरूरी राजनीतिक इच्छाशक्ति नदेखाएको अनि कडा कानून पनि नबनाएको बताए ।

अमेरिकाले अतिवादीलाई प्रायोजित गर्ने कतारका कैयौं नागरिकमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

तर कतारको आर्थिक गतिविधिहरूको विरोधको नेतृत्व गर्ने साउदी अरब हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको रियाद भ्रमणका बाबजुद यही खालका आलोचनाबाट मुक्त छैन ।

सेप्टेम्बर ११ को घटनामा संलग्न विमान अपहरणकर्तामा १९ मध्ये १५ जना साउदी नागरिक थिए ।

सन् २००९ मा विकिलिक्सद्वारा प्रकाशित राजदूतहरूको सन्देशबाट पनि थाहा लाग्छ, अतिवादलाई आर्थिक मद्दत गर्ने विषयमा कठोरता अपनाउनका लागि साउदी अरबलाई मनाउने विषयमा अमेरिकालाई निराशा मात्र हात लागेको छ ।

साउदी अरबले पेट्रोलियम बेचेर कमाएको धनले संसारभरि स्कूल र मस्जिदमार्फत कट्टर वहाबीवाद प्रचार गराइरहेको छ ।

वहाहीवाद नै अतिवादको स्रोत भएको धेरैको आरोप छ ।

थोरै वहाबी व्यक्ति तथा संस्थाहरूमाथि अतिवादलाई सहायता गरेको आरोप भएपनि कतारको तुलनामा साउदी अरबले अतिवादीहरूका विरुद्ध कारवाही गर्न बढी मद्दत गरेको छ ।

ट्रम्पको यात्राका बेलामा अतिवादलाई आर्थिक मद्दत गर्ने सम्बन्धमा अमेरिका र साउदी सरकारले एक संयुक्त क्षेत्रीय आतंकवादी लगानी केन्द्र स्थापनाको घोषणा गरे ।

तर साउदी अरबको यो कदम अतिवादलाई आर्थिक सहायता पुग्नबाट रोक्नका लागि पर्याप्त छैन ।

हालै अतिवादी विचारधाराको प्रचारप्रसार गर्ने व्यक्ति तथा संस्थालाई समेत अतिवादविरोधी नीतिमा समावेश गरिएको छ ।

कतारको वर्तमान संकट छिट्टै सकिएला तर अतिवादलाई आर्थिक सहायताको मुद्दामा बहस चलिरहनेछ र त्यसको केन्द्रमा दोहा रहन सक्छ ।

बीबीसी हिन्दीबाट

मंगलवार, जेठ ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti