shivam
Nerolac and Nepal life

टिप्पणी

राजनीतिक दलको चुनाव प्रचारमा राष्ट्रिय झण्डाको प्रयोगः उचित कि अनुचित ?


काठमाडौं ५ असार–राष्ट्रिय परिपेक्षमा प्रयोग गरिने चन्द्र सूर्य अंकीत राष्ट्रिय झण्डाको प्रयोग राजनीतिक दलका कार्यक्रममा व्यापक प्रयोग हुन थालेको छ ।

केही बर्ष अघिसम्म राजनीतिक दलले राष्ट्रिय झण्डाको प्रयोग कमगर्ने गरेका भएपनि पछिल्ला दिनमा राष्ट्रिय झण्डाको प्रयोग बढेको छ । पहिलो संविधान सभामा राष्ट्रिय झण्डा फेर्न लविङ गरेका राजनीतिक दलले समेत राष्ट्रिय झण्डाको प्रयोग गर्न थालेका छन् ।

स्थानीय तहको चुनावको उम्मेदवारी मनोनयनका क्रममा आइतवार प्रायः सबै राजनीतिक दलले पार्टीको चुनाव चिह्न अंकित झण्डाको अतिरिक्त ठूलो आकारका राष्ट्रिय झण्डा प्रयोग गरेको पाइयो । राष्ट्रिय झण्डालाई एकताको प्रतीक मानिन्छ ।

सामान्यतया औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा प्रयोग गरिन्छ । तर नेपालमा राष्ट्रिय झण्डा प्रयोगलाई सस्तो बनाइएको टिप्पणी हुने गर्छ । उसोत विशेष समारोहमा बजाइने राष्ट्रिय गानको धुनसमेत मोवाइलमा राख्ने र भट्टी पसलमा समेत बजाउने गरेको पाइन्छ ।

नेपाल सरकारले २०६९ साल जेठ २२ गते राजपत्रमा सूचना प्रकाशित गरेरै राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधी सार्वजनिक गरेको थियो । कार्यविधीमा व्यक्तीले घरमा झण्डा राख्न पाउनेदेखि लिएर राष्ट्रिय झण्डाको अपमान हुनेगरी प्रयोग गर्न निषेध गरिएको छ । तर राजनीतिक दलले चुनावी सभा वा उम्मेदवारी मनोनयका क्रममा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने नपाउने भन्ने बिषयमा कार्यविधी मौन छ ।

त्यस्तो अबस्थामा गृह मन्त्रालयको स्वीकृति बमोजिम हुने परिच्छेद ४ मा व्यबस्था गरिएको छ । ‘यस कार्यविधिमा राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धी उल्लेख नभएको अन्य अवस्थाका सम्बन्धमा गृह मन्त्रालयको सूचना, स्वीकृति वा परामर्श बमोजिम राष्ट्रिय झण्डाको प्रयोग हुनेछ’ कार्यविधिको बुँदा नम्बर १६ मा उल्लेख छ । 

राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्रभित्र यस कार्यविधि बमोजिम राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग भए नभएको सम्बन्धमा नियमितरुपमा अनुगमन गर्ने कार्यविधिमा उल्लेख छ ।

बरिष्ठ साहित्यकार एवं राजनीतिज्ञ मोदनाथ प्रश्रित जुनसुकै कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्नु झण्डाको गरिमा र मर्यादा विपरित हुने टिप्पणी गर्छन् । ‘आफूलाई बढी राष्ट्रवादी देखाउन राष्ट्रिय झण्डाको प्रयोग गरिएको हुनसक्छ, राष्ट्रिय झण्डा जहाँपायो त्यही प्रयोग गर्नु उचित होइन’ प्रश्रितले लोकान्तरसँग भने, ‘दलहरुलाई उनीहरुको परिचयको लागि छुट्टै झण्डा दिइएको हुन्छ ।’

लामो समय बामपन्थी राजनीति गरेका प्रश्रित राजनीतिक दलको अधिवेशन र स्वतन्त्र कार्यक्रममा सम्मानकालागि झण्डा राख्नु उचित ठान्छन् । ‘पृथ्वी जयन्ती जस्ता कार्यक्रममा राष्ट्रिय झण्डा प्रयोग गर्नु उचित हो, तर चुनावको प्रचार प्रसारमा राष्ट्रिय झण्डा प्रयोग गर्नु उचित होइन’ उनले भने ।

भारतमा पनि राष्ट्रिय दिवसमा राजनीतिक दलले राष्ट्रिय झण्डा प्रयोग गर्ने प्रश्रित बताउछन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङपनि चुनाव प्रचार प्रसारमा राष्ट्रिय झण्डाको प्रयोग गलत भएको बताउँछन् । ‘कुन पार्टीले कहाँ कहाँ प्रयोग गरे त्यो थाहा भएन, तर राजनीतिक दलले चुनाव प्रचारमा राष्ट्रिय झण्डा प्रयोग गर्नु उचित होइन’ कांग्रेसकै कार्यकर्ताले पनि राष्ट्रिय झण्डा प्रयोग गरेको भन्ने लोकान्तरको सवालमा गुरुङले भने, ‘राजनीतिक दलका आफ्नै झण्डा छन्, राष्ट्रिय झण्डा सबैको हो, सबैले यसको सम्मान गर्नुपर्छ ।’

राजनीतिक दलका कतिपय नेताहरु भने राष्ट्रिय झण्डाको प्रयोगले राष्ट्रियतालाई मजबुत गर्ने बताउँछन् । ‘राष्ट्रिय झण्डा जहाँ पायो त्यही प्रयोग गर्नु हुंदैन, मन्त्रीले जस्तै दलको नेताले गाडीमा राष्ट्रिय झण्डा हालेर हिड्न मिल्दैन नि !’ कांग्रेस नेता गुरुङले भने । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota