Ruslan
Tata /sipradi
Nic Asia

टिप्पणी

हाम्रा प्रधानमन्त्रीहरू जहिल्यै किन गम्भीर ? एकछिन हाँस्न केले छेक्छ उनीहरूलाई ?

विमल गौतम

गत सोमवार प्रधानमन्त्री कार्यालयको कन्ट्रोल रुमबाट उपसचिव झंक ढकालले पंक्तिकारलाई फोन गर्नुभयो र भन्नुभयो –‘प्रधानमन्त्रीज्यू मंगलवार (मंसिर ७ ) मा ताप्लेजुङ्ग जाने कार्यक्रम छ, समय छ भने तपाईं पनि हिँड्नुस् ।’

धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुने, ताप्लेजुङ्गमा कञ्चनजंगा हिरक महोत्सवको उद्घाटन गर्ने र भोजपुरमा आगलागी पीडितको गुनासो सुन्ने कार्यक्रम तय भएको रहेछ । त्यसका लागि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली जिल्ला जाने कार्यक्रम बनेछ ।

प्रधानमन्त्रीको सचिवालयको प्रस्ताव स्वीकार्दै प्रधानमन्त्रीसँग जिल्ला जाने निर्णय गरें । र, तालिका अनुसार उक्त दिन
काठमाडौंबाट धुलिखेल, ताप्लेजुङ्ग र भोजपुर पुगेर पुनः राजधानी फर्किन भ्याइयो । तीन वर्षपछि प्रधानमन्त्रीसँगै बसेर जिल्ला जाने अवसर जुट्यो । यस्ता अवसर प्रधानमन्त्रीसँग कुराकानी गर्न, उनीहरूको ‘अनुहार र मुड’ बुुझ्न उपयोगी पनि हुने गर्छन् ।
अत्यन्त व्यस्त दैनिकीका बाबजुद मैले प्रधानमन्त्रीको टोलीसँग जिल्ला जाने निधो गर्नुको प्रमुख कारण थियो – यात्राका क्रममा प्रधानमन्त्रीसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे संक्षिप्त कुराकानी गर्न सकिएला कि भन्ने चाहना ।

मंगलवार बिहान साढे नौ बजे त्रिभुवन विमानस्थल पुग्दा झंकजी सहित प्रधानमन्त्री भ्रमण टोलीका केही सदस्य पुगिसक्नु भएको थियो । ‘स्वागत छ विमल जी, प्रधानमन्त्री पनि बौद्धको कार्यक्रम सकाएर हिंडिसक्नु भयो ।’ झंकजीको पहिलो वाक्य थियो त्यो ।

मेरो तीव्र इच्छा थियो– विशेष अनुरोध गरेरै भएपनि प्रधानमन्त्रीसँग लोकान्तर डट कमका लागि संक्षिप्त कुराकानी गर्ने । तर बिहानै एक कार्यक्रममा उपस्थित भएर एयरपोर्ट आउँदै गरेको सूचनाले मलाई प्रधानमन्त्रीको व्यस्त कार्यतालिकाको संकेत दिइहाल्यो ।
administers-elected-nepalese-arrival-building-kathmandu-presidential_d9d76398-77cf-11e6-9bc1-888b3aba2d1dप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘दिउसोको कार्यतालिका कस्तो छ ? कत्तिको व्यस्त हुनुहुन्छ प्रधानमन्त्री ज्यू?’ मेरो प्रश्न सकिन नपाउँदै झंकजीको उत्तर आयोे, ‘व्यस्तताको कुरै नगरौं । धुलीखेलमा काठमाडौं विश्वविद्यालयको कार्यक्रम सकाएर खाना खाने र त्यहाँबाट सिधै ताप्लेजुङ्ग जाने योजना छ । बरु जहाँ–जहाँ पुगिन्छ, त्यहाँ छिटो–छिटो तयार हुनुहोला । हुलमुलमा को कता भइन्छ, पत्तो हुँदैन ।’
झंकजीको कुरा सुनेपछि मलाई प्रधानमन्त्रीसँग लोकान्तर डटकमका लागि कुरा गर्ने इच्छा व्यक्त गर्न मनै लागेन । नेपाली सेनाको हेलिकोप्टर चढेर काठमाडौं छोड्नुअघि एयरपोर्टस्थित सेनाको वाहिनीमा प्रधानमन्त्रीसँग मेरो संक्षिप्त कुराकानी भयो । सामान्य कुराकानी थियो त्यो । पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा कुरा गर्न सम्भव नै थिएन, भएन । एकैछिनमा हेलिकोप्टर उड्यो ।

अघिल्लो दिन प्रधानमन्त्रीले डाकेको बालुवाटार बैठकमा संविधान संशोधनको विषयमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मतान्तर भएको र वार्ता भाँडिएको समाचार बाहिर आएको थियो । सायद संविधान संशोधनको विषयमा प्रमुख दलहरूबीच सहमति जुट्न नसकेकैले हुनसक्छ वा चैतका लागि तोकिएको स्थानीय तहको निर्वाचनको माहोल बिग्रदै गएकोले हुनसक्छ, प्रधानमन्त्री प्रचण्डको मुहारमा चमक थिएन । उहाँ गम्भीर मुद्रामा देखिनुहुन्थ्यो ।

प्रधानमन्त्री प्रचण्डको मुहार देखेर मलाई तीन वर्ष अघि त्यसैगरि सँगै सेनाको होलीकोप्टर चढेर हिंड्दा देखेको तत्कालीन प्रधानमन्त्री (मन्त्रिपरिषद् अध्यक्ष) खिलराज रेग्मीको अनुहारको सम्झना आयो । विषय र पात्र फरक । तर अनुहार दुवैको मलिन र चिन्ता मिश्रित । उतिखेर रेग्मीको चिन्ता संविधानसभाको दोस्रो निर्वाचन गराउनेमा केन्द्रित थियो । यतिखेर प्रधानमन्त्री प्रचण्डको चिन्ता सायद रेग्मी नेतृत्वको सरकारले गराएको चुनावबाट गठित संविधानसभाले जारी गरेको संविधान कार्यान्वयनसँग जोडिएको छ, निर्वाचन हुने/नहुने विषयमा केन्द्रित छ ।

संविधान कार्यान्वयनका अनगिन्ती चुनौती छन् । संविधानप्रति असन्तुष्ट दलहरूका माग सम्बोधन गर्ने प्रमुख चुनौती प्रधानमन्त्री प्रचण्डका सामु देखिन्छ । खासगरी तराई केन्द्रित दलहरूको मागलाई सम्बोधन गर्न संविधान संशोधन हुनुपर्ने विषय जोडतोडले उठिरहेको छ । र, नेपाली सेनाको हेलिकोप्टरमा चढेदेखि साँझ फर्कने बेलासम्म प्रधानमन्त्री प्रचण्डको दिमाग संविधान संशोधन प्रक्रियामा देखिएका चुनौती सम्बोधन गर्दै संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने विषयकै वरिपरि घुमिरहेको छ भन्ने अनुमान लगाउन गाह्रो थिएन ।

मैले तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष रेग्मी र प्रम प्रचण्डको अनुहारलाई नजिकबाट तुलना गरेंं । रेग्मीको सल्लाहकारका रुपमा काम गरिहेकोले उतिखेर उहाँसँग कुराकानी गर्दै यात्रा हुन्थ्यो । यतिखेर प्रचण्डसँग हेलिकोप्टर भित्र कुराकानी हुन नसकेपनि दुवैको अनुहार तुलना गर्ने अवसर चाहिँ जुट्यो ।

जतिखेर जहाँसुकै जाँदा होस् वा कुराकानी हुँदा, रेग्मी चुनावी प्रसंगमै केन्द्रित रहनुहुन्थ्यो । चुनाव हुन नदिन अनेकन षड्यन्त्र भैरहेका थिए । केही दल चुनाव हुन नदिने घोषणाका साथ आन्दोलनमा होमिएका थिए । रेग्मीले यात्राका क्रममा पनि प्रमुख दलका शीर्ष नेताहरूसँग सम्पर्क गर्ने, कुराकानी गर्ने र तत्कालीन समस्याहरूको हल कसरी गर्न सकिन्छ भनेर परामर्श गरिरहनुहुन्थ्यो । मोबाइलमै लामो कुराकानी भइराख्थ्यो । सञ्चार माध्ययमा के आइरहेका छन् ? अन्तराष्ट्रिय समुदायका गतिविधि कस्ता छन् भनेर बारम्बार सोधिरहनु हुन्थ्यो ।
bimal_gautam_prachandaकञ्चनजंघा हिमालको पृष्ठभूमिमा प्रम प्रचण्डसँगै लेखक गौतम (बायाँबाट चौंथो) ।
अहिले प्रधानमन्त्री प्रचण्डको अवस्था पनि लगभग त्यस्तै रहेछ । ताप्लेजुङको कार्यक्रममा सहभागी भइरहेको समयमा प्रचण्डले पनि जारी राजनीतिक गतिविधिका सम्बन्धमा छलफल गर्न, सहमति जुटाउने प्रयास गर्न वैठक राख्न आफ्ना पुत्र (स्वीकय सचिव) प्रकाश दाहाललाई बेलाबेला निर्देशन दिएको सुनें । भोलि बिहान यति बजे बैठक राख्नू, मधेशी मोर्चाका नेतालाई वोलाउनू, नेपाली काँग्रेसका नेताहरूलाई बालुवाटार बोलाउनू । यस्तै यस्तै निर्देशन प्रचण्डले यात्राका क्रममा आफ्ना स्वकीय सचिव र झंकजीलाई दिनुभयो । सायद प्रधानमन्त्रीको शरीर ताप्लेजुङमा भएपनि ध्यान चाँही संविधान संशोधन मै थियो भन्ने अनुमान लगाउन गाह्रो थिएन ।
प्रधानमन्त्री प्रचण्डका अगाडि संविधान कार्यान्वयन गर्दै लामो समयदेखि हुन नसकेको स्थानीय तहको चुनाव गराउने दुवै चुनौती छन् । प्रमुख चुनौती संविधान कार्यान्वयन हो जसलाई सम्भव बनाउन संविधान संशोधन गरिनुपर्ने व्यख्याहरू भैरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संविधान संशोधनमा सहमत भैसकेको छैन ।
आउँदो चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचन हुने सम्भावना क्षीण बन्दै गएजस्तो देखिन्छ । एकातिर संविधान कार्यान्वयनमा थपिदै गएका जटिलता, अर्कोतर्फ निर्वाचन नहुने वतावरण झन् झन् गहिरिदै जानु । सायदै यिनै विषयले प्रधानमन्त्री प्रचण्डको मुहारमा चमक आउन दिइरहेको थिएन । यद्यपि प्रचण्डले तोकिएको समयमै स्थानीय तहको निर्वाचन गर्ने बताउन छोड्नु भएको छैन ।
यति धेरै चिन्ताले घेरिएको मुलुकको कार्यकारीले हेलिकोप्टरबाट उत्रेपछि कार्यक्रममा के वोल्लान् ? कस्तो भाषण गर्लान् ? के भन्लान् ? विषयको गहिराइमा गएर बोल्लान् कि सतही कुरा गर्लान् ? यी प्रश्न मेरो मनमा चाहिँ खेलिरहे ।
सेनाको हेलिकोप्टर चढेपछि प्रधानमन्त्री प्रचण्डले धुलिखेल नपुगुञ्जेल धेरैजसो समय आफ्नै मोवाइल हेरेर बिताउनुभयो । वरिपरिका कोही कसैसँग खासै संवाद गर्नुभएन ।पंक्तिकारको ध्यान चाहिँ कार्यक्रमहरूमा प्रधानमन्त्री कसरी प्रस्तुत होलान् भन्नेमै केन्द्रित रह्यो । किनभने पछिल्ला राजनीतिक गतिविधिले प्रधानमन्त्रीलाई सन्तोषको श्वास फेर्न दिइरहेको छैन भन्ने प्रष्टै वुझ्न सकिन्थ्यो । यस्तो अवस्थामा प्रधानमन्त्रीले कार्यक्रममा व्यक्त गर्न सक्ने विषयका वारेमा चासो नहुने कुरै भएन ।
धुलिखेलमा ओर्लने बित्तिकै काठमाडौं विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि भएका प्रचण्डले त्यहाँ उपस्थित सयौं विद्यार्थीलाई एउटा मार्मिक सन्देश दिनुभयो । उहाँको भनाइ थियो– ‘हामी त जीवनको उत्तरार्धमा पुगिसक्यौं । देश बनाउने जिम्मा तपाईहरूको काँधमा छ । चिकित्सा शिक्षा पढ्नु भएका तपाईहरूको नरम बोलीले मात्र पनि विरामीलाई राहत दिन सक्छ । तपाईहरूको एक वचन रुखो बोलीले मात्र पनि बिरामीलाई थप बिरामी वनाउन सक्छ । देश विकासमा इमान्दार भएर लाग्नुहोला । अब पालो तपाइहरूको ।’ विद्यार्थी र तिनका अभिभावकहरूको अगाडि उभिएकाले होला, प्रधानमन्त्रीले धुलिखेलमा राजनीतिक भाषण गर्नु भएन ।
ताप्लेजुङ्गमा पर्यटन प्रवद्र्धनसँग सम्बन्धित कार्यक्रम थियो । कञ्जनजंगा हिमाल आरोहणको ६० वर्ष पुगेको अवसरमा कंचनजंगा हिरक महोत्सव आयोजना गरिएको रहेछ । शुरुमा प्रधानमन्त्री प्रचण्डले पर्यटनसँग सम्बन्धित विषयमा विचार राख्नुभयो । तर त्यही कार्यक्रममा उहाँले राजनीतिक विषयमा पनि चर्चा गर्नुभयो ।
‘भुकम्पले प्रमुख दललाई एक ठाउँमा उभ्यायो । संविधान जारी गर्ने वातावरण बन्यो । तर निकै मिहिनेतका साथ जारी गरिएको संविधान कार्यान्वयमा हामी किन एक ठाउँमा उभिन सकेनौं’ ? प्रचण्डको प्रश्न थियो । उहाँले संविधान संशोधनमा प्रमुख दललाई एक ठाउँमा उभ्याउन आफू लागिपरेको प्रसंग पनि कोट्याउनुभयो ।
ताप्लेजुङ्गको सुकेटारमा आयोजित हिरक महोत्सवपछि प्रधानमन्त्री सहितको टोली भोजपुरको सदरमुकाम भोजपुरमा पुग्यो । मंसिर ५ गतेका दिन आगलागीबाट त्यहाँका ११ घर जलेका रहेछन् । प्रधानमन्त्रीले त्यसको निरिक्षण गर्नुभयो र आगलागी पिडितका लागि राहत र पुनस्र्थापनाको व्यवस्था गर्न सरकारले सहयोग गर्ने वताउनुभयो ।
यहाँ प्रसंग कहाँ पुगेर प्रधानमन्त्रीले के भन्नुभयो भन्दा पनि नेपालका प्रधानमन्त्रीहरूका अनुहार सधैजसो समय किन चमक विहिन, उदास, निराश हुन्छन् भन्ने हो । के हाम्रा प्रधानमन्त्रीहरू हाँस्न नपाउने ? नेपालीले आफ्नो प्रधानमन्त्री दिल खोलेर हाँसेको देख्न नपाउने ? प्रधानमन्त्री हाँसेको दृश्य दुर्लभ हुनुपर्ने ? आखिर के ले यस्तो वनाइरहेको छ ? किन हुन्छ यस्तो ? प्रधानमन्त्रीहरूका अनुहार चमक विहिन हुँदा के मुलुकको अनुहार चम्कन सम्भव छ ? यि प्रश्न पछिल्ला वर्षहरूमा पेचिला वन्दै गइरहेका देखिन्छन् ।
दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको दिन अर्थात २०७० साल मंसिर ४ गतेको बेलुका तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको अनुहारमा पंक्तिकारले विशेष चमक देख्यो । तर झण्डै एक वर्षको कार्यकालमा रेग्मीको अनुहारमा धेरैपटक त्यस्तो चमक देख्न पाइएको थिएन । किनभने चुनाव हुनु अघिको माहोल सहज थिएन । जुन असहज परिस्थिती रेग्मीले भोगीरहनु भएको थियो, सायद अहिलेका प्रधानमन्त्री प्रचण्डले पनि त्यस्तै अनुभव गर्दै हुनुहुन्छ ।
आलोचना सहनु नेपालका प्रधानमन्त्रीहरूको बाध्यता र विवशता भइसकेको छ । सरकारसँग जनताका असिमित अपेक्षा छन, उनीहरू छिटो छिटो परिवर्तन चाहान्छन । त्यसैले प्रधानमन्त्रीको आलोचना गर्छन् । तर प्रधानमन्त्रीका आफ्नै विबसता हुन्छन । कर्मचारीको सुस्त कायैशैली र जनताको तीब्र आकांक्षाका कारण प्रधानमन्त्रीहरू जनताको आक्रोशको तारो बन्छन् । जनताको आलोचना सुन्दै आफ्नो काम सम्पन्न गर्नु प्रधानमन्त्रीको कर्तव्य हुनुपर्छ ।
२०७० साल मंसिर ४ गतेको साँझ । जतिखेर बेलुकाको साढे पाँच बजीरहेको थियो, त्यतीबेला रेग्मीले वोलेको एक वाक्य निकै ओजिलो, अर्थपूर्ण र सम्झन लायक छ । त्यो क्षण देशभर चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको, नेपालकै इतिहासमा बढी प्रतिशत मत खसेको लगायतका खबर आइरहेका थिए । रेग्मी निकै खुसी देखिनु भयो र बालुवाटारमा कफी पिउँदै भन्नु भएको थियो –‘विमल जी, यतिञ्जेल हामीहरू काँडैकाँडामाथि सुतीरहेका थियौं, हिंडीरहेका थियौं । आजबाट ति काँडाहरू झिकिएका छन् । अव ति काँडामा हिंड्नु नपर्ने भयो । त्यती भनेर रेग्मीले लामो सन्तोषको श्वास फेर्नुभयो ।’
प्रधानमन्त्री दाहाललाई पनि सायद यतिखेर काँडामाथि हिंडिरहेको, काँडाले विझाइरहेको अनुभव हुँदो हो । हाम्रोजस्तो विकासउन्मुख मुलुकका कार्यकारी प्रमुख कतिथरि समस्याले घेरिएका र जेलिएका हुन्छन् भन्ने वुझ्नेहरूले यस्तो अनुमान लगाउन गाह्रो पर्दैन । यतिखेर प्रधानमन्त्री प्रचण्डको अनुहारमा पंक्तिकारले मात्र होइन धेरैले चमक देख्न पाएका छैनन् । अनेक चिन्ता र तनावका बाबजुत प्रधानमन्त्री प्रचण्डलले केही सकरात्मक सन्देश दिने कदम चालीरहेका छन् । जस्तोकि, प्रधानमन्त्री बनेलगत्तै काभ्रेमा भएको बस दुर्घटनाका घाइतेको उद्धारका लागि हेलीकोप्टर पठाएर उद्धार गर्न लगाए । त्यस्तै धादिडको विकट गाउँमा भएको वस दुर्घटनापछि उद्धारका लागि सरकारले देखाएको सक्रियताको पनि प्रसंसा भयो ।
साउदी अरव लगायत खाडी मुलुकमा अलपत्र परेका नेपाली युवालाई नेपाल ल्याउन खेलेको भूमिका र खाडीका मुलुकमा जेलमा परेका कामदारको रिहाइकालागि ‘ब्लड मनी’ दिने निर्णय । काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने तथा बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न प्रचण्डले देखाएको सक्रियता प्रशंसनीय हुन् । प्रधानमन्त्रीले जनताले अनुभूत गर्ने खालका काम गर्न खोजेकै देखिन्छ । तर प्रधानमन्त्री प्रचण्डले चालेका यी सकारात्मक प्रयास संविधान संशोधन र स्थानिय तहको चुनाव जस्ता राष्ट्रिय मुद्दाका अगाडी फिका हुन् भन्ने टिप्पणी पनि प्रसस्तै सुन्न पाइन्छ ।
पार्टी भित्रका आन्तरीक समस्या पनि धेरै होलान् । तर जो प्रधानमन्त्री हुन्छ उसले ढुक्कले, दिल खोलेर काम गरेको, हँसिलो र चम्किलो अनुहारमा काम गरेको, कार्यक्रमका मञ्चहरूमा हँसिलो मुहारमा बसेको, हाँसी हाँसी वोलीरहेको नेपाली जनताले देख्न नपाएको धेरै भइसक्यो । यसबाट पार पाउन राजनीतिक स्थिरता प्रमुख सवाल त हुँदै हो । साथै स्वयं प्रधानमन्त्रीहरूले आइपरेका समस्या र चुनौतीहरूको सही ढंगले व्यवस्थापन गर्न पनि पहल लिनु आवश्यक छ । त्यसमा सिंगो समाज र सरोकारवालाले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।
जुनसुकै पृष्ठ भूमिको होस् , जुन सुकै पार्टीको होस् वा जति नै समयका लागि आएको किन नहोस्,  आखिर प्रधानमन्त्री प्रधानमन्त्री नै हुन् । उनको मुहारमा खुसी आउनुपर्छ । आम नेपालीको मुहारमा खुसी आउनुपर्छ । प्रधानमन्त्रीको मुहारमा खुसी, हाँसो र चमक देख्न नपाउँदा त्यसको असर जनता र समाजमा त परिहाल्छ । प्रधानमन्त्री हाँस्न पाएनन् भने जनता पनि हाँस्न पाउँदैनन् । देश हाँस्न पाउँदैन । किनभने सरकार सञ्चालनको चाँवी त प्रधानमन्त्रीसँग हुन्छ । हाम्रा प्रधानमन्त्रीलाई काम गर्न दिउँ । कसैले अवरोध गरे त्यसको भण्डाफोर गरौं । काम गर्ने वातावरण हुँदाहुँदै काम गरेनन् भने प्रधानमन्त्रीको पनि आलोचना गरौं ।
तर, विरोधका लागि विरोध गरेर, तनावमाथि तनाब थुपारेर न प्रधानमन्त्रीको अनुहारमा चमक देख्न पाइन्छ न नेपाली जनताको र नेपालको । प्रधानमन्त्री, जनता र देशको मुहारमा चमक ल्याउने दायित्व तपाइ हामी सबैको हो ।
मंगलवार, मंसिर २१, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon