Ruslan
Tata /sipradi
Nic Asia

टिप्पणी

संसदमा ‘माघ ५’ को घटना दोहोरिन लागेको हो ?

सुशील पन्त

समाचार टिप्पणी

काठमाडौं, १७ पुस — आजभन्दा दुईवर्ष पहिले अर्थात् २०७१ साल माघ ५ गते मध्यरातमा संविधानसभामा तत्कालीन माओवादी केन्द्र तोडफोडमा उत्रिएको थियो ।

आफ्नो सहमतिबेगर संविधानसभामा विवादित विषयको प्रश्नावली बनाउने प्रस्ताव पेश गर्न खोजिएको भन्दै माओवादी सांसदले माघ ५ को मध्यरातमा संविधानसभा भवनका माइक र कुर्सी तोडफोड गरेका थिए । संविधानसभामा पक्ष–प्रतिपक्ष नहुने भएपनि एमाओवादी संसदमा प्रतिपक्षमा थियो ।

संविधानसभा भवनका कुर्सी र माइक तोडफोड गरेको भनेर त्यसको चर्को विरोध भयो । सो घटनाको छानबिनका लागि संसद्ले एउटा छानबिन समिति पनि गठन गरेको थियो, तर तोडफोडमा संलग्न कसैलाई कारवाही भएन । घटनालाई लिएर दलहरूबीच लामो समय तनावको स्थिति सृजना भयो । २०७२ साल वैशाख १२ मा भूकम्प आएपछि दलहरूबीचको दूरी घट्यो र संविधान निर्माण र जारी गर्न सम्भव भयो ।

‘माघ ५’ को झण्डै दुईवर्षपछि संविधानसभाको रूपान्तरित स्वरूप संसदमा त्यस्तै घटनाको खतरा बढेको छ । जसरी पनि संसदमा संविधान संशोधन विधेयक टेबल गर्ने सरकारको तयारी तथा जसरी पनि रोक्ने विपक्षी दलको तयारीका कारण संसदमा झडपको सम्भावना देखिएको हो ।

संसदमा भिडन्त हुने चेतावनी

एमाले उपाध्यक्ष वामदेव गौतमले पुस ३ गते राजधानीमा आयोजित कार्यक्रममा संसदमा भिडन्त हुने चेतावनी दिए । तर त्यसपछिका बैठक लगातार सूचना टाँसेर स्थगित गरिएका कारण संसदमा भिडन्तको अप्रिय अवस्था आएन । यसबीचमा दलहरूबीच सहमतिका लागि भएका प्रयास सफल बन्न नसकेपछि सभामुख ओनसरी घर्तीले सहमतिका लागि तीन दिनको अल्टिमेटम दिएकी थिइन् ।

सभामुखले दिएको समयमा समेत सहमति नभएपछि संसदको बैठक भिडन्तउन्मुख देखिएको छ । सोमवार दिउँसो बस्ने संसद्को बैठकमा सरकारले संशोधन विधेयक टेबल गर्ने तयारी गरेको छ । त्यसको पूर्वसन्ध्यामा एमाले महासचिव ईश्वर पोखरेलले सरकारलाई संसदमा संशोधन विधेयक टेबल गरेर मात्र देखाउन आइतवार चुनौती दिएका छन् ।

निर्वाचन कानून र संविधान संशोधन विधेयक टेबल गर्ने संसद्को सोमवारको सम्भावित कार्यसूची छ । नेकपा एमाले, नेकपा माले, नेमकिपा र राष्ट्रिय जनमोर्चा लगायत विपक्षी दलको विरोधका कारण मंसिर १३ गते संसद सचिवालयमा दर्ता गरिएको संविधान संशोधन विधेयक संसदमा टेबल हुन सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि शनिवार बाग्लुङमा पुगेर कुनै पनि हालतमा संशोधन विधेयक पारित गर्ने बताएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार मधेसी मोर्चाका नेताहरूसँगको भेटमा विपक्षी दलको विरोधका बाबजुद सोमवार सरकारले संविधान संशोधन विधेयक टेबल गर्ने आश्वासन दिएका थिए । नेकपा एमालेले भने सरकारले विधेयक टेबल गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने बताएको छ ।

रक्तपात होइन, रक्तसञ्चार भइरहन्छ

‘संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षलाई अवरोध गरेर यस्तो असंवैधानिक विधेयक कसरी दर्ता होला र ?’ एमाले संसदीय दलका मुख्य सचेतक भानुभक्त ढकालले भने, ‘सरकारका योजनाका काल्पनिक कुरामा हामी लागेका छैनौं ।’

आइतवार नै एमाले अध्यक्ष केपी ओलीले एक अपील प्रकाशित गरी असंवैधानिक संशोधन विधेयक फिर्ता गर्न माग गरेका छन् । सरकारले जबर्जस्ती गरे संसदमा भिडन्त र रक्तपात हुनसक्छ भनेर एमालेकै कतिपय जिम्मेवार नेताले भनेका थिए नि भन्ने प्रश्नमा सचेतक ढकालले भने, ‘रक्तपात त होइन, रक्तसञ्चार चाहिँ राम्रै हुन्छ ।’

सहमतिका लागि तीनदिनको अल्टिमेटम दिएको सभामुख घर्ती भने सोमवार बस्ने संसदको कार्यव्यवस्था बैठकको निर्णयको आधारमा अगाडि बढ्ने तयारीमा रहेको उनका सल्लाहकारहरूले बताएका छन् । सरकार विधेयक टेबल गर्ने तयारीमा लागेको प्रधानमन्त्रीनिकटस्थ स्रोतहरू बताउँछन् ।

‘सहमतिका लागि दिएको समय सकिएको छ, सहमति भयो भने कार्यसूची अगाडि बढ्छ । सहमति भएन भने सभामुखले अवरोधका बाबजुद प्रक्रिया अगाडि बढाउने कि के गर्ने भन्ने विषयमा निर्णय लिनुहोला,’ घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले लोकान्तरसँग भने ।

संसदमा भिडन्तको अप्रिय अवस्था आउने अवस्थामा सभामुख घर्तीले विधेयक टेबल गर्ने प्रक्रिया अगाडि नबढाउने सत्तारूढ दलकै नेताहरूको विश्वास छ । ‘संविधान कार्यान्वयनका लागि दलहरूबीच सहमति कायम गर्नुपर्ने समयमा संसदमा भिडन्तको अवस्था आउने काम सभामुखज्यूले गर्नु हँुदैन होला,’ सत्तारूढ दलका एक प्रभावशाली नेताले भने ।

प्रमुख तीन दलबीच संशोधन स्थगन गरेर स्थानीय निकायको निर्वाचन गर्ने सहमति भइसकेपनि सरकारका लागि संशोधन विधेयक टेबल गर्नु प्रतिष्ठाको विषय बनेको छ । संसदमा ‘रचनात्मक प्रतिपक्ष’को भूमिका निर्वाह गर्ने बताउँदै आएको नेकपा एमालेलाई पनि आफैंले ‘राष्ट्रघाती र असंवैधानिक’ भनेर आरोप लगाएको विधेयक टेबल हुनबाट रोक्नु प्रतिष्ठाको विषय बनेको छ ।

सरकार र प्रतिपक्षको यही प्रतिष्ठाको लडाईंका कारण संसदमा भिडन्तको स्थिति आउनसक्ने आँकलन गरिएको छ ।
फोटो श्रोतः डाउन डटकम आइतवार, पौष १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam