खोज/विशेष : टिप्पणी

राजपा बन्यो चौथो ठूलो पार्टी, कमल थापाको स्थान बोहोराको पछि !


काठमाडौं २३ साउन– पूर्वपञ्चहरुको पार्टी राप्रपाको विभाजनले संसद्को समीकरणमा फेरबदल ल्याएको छ । संसद्को चौथो ठूलो दल राप्रपा विभाजनपछि उसको स्थान मधेस केन्द्रित दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)ले लिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रपछि संसद्मा राप्रपा चौथो ठूलो दल थियो । विभाजन हुनुअघि राप्रपासँग संसद्मा ३७ सिट थिए । विभाजनपछि नवगठित राप्रपा प्रजातान्त्रिकसँग १९ र राप्रपासँग १८ सांसद् हुनेछन् ।

पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले आफूसँग २२ जना सांंसद् रहेको दावी गरेपनि संसद् सचिवालयमा १९ जना सांसदको हस्ताक्षर बुझाइएको सचिवाल स्रोतले बताएको छ ।

राप्रपा विभाजित भएपछि बनेको राप्रपा प्रजातान्त्रिक भन्दा मेधेस केन्द्रित दलहरु मिलेर बनेको राजपासँग धेरै सांसद् छन् । ६ मधेसी दल मिल्दा संसद्मा २४ सांसद् छन् । तत्कालिन तमलोपाका ११, सद्भावनाका ६, तमसपाका ३, रामसपाका ३ तथा फोरम गणतान्त्रिक र संघीय सद्भावनाका एक एक गरी संसदमा २४ सांसद् छन् ।

राप्रपा विभाजनपछि चौथो शक्ति रहेको कमल थापाको दल राप्रपा छैठौं स्थानमा पुगेको छ । संसद्को पाँचौ ठूलो दल भने राप्रपा प्रजातान्त्रिक बनेको छ । उसले दीपक बोहोरालाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ ।

नयाँ समीकरण अनुसार संसद्को सातौं दल विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरम बनेको छ भने आठौंमा उपेन्द्र यादवको संघीय समाजवादी फोरम छ ।

राप्रपा विभाजित भएसँगै संसदमा दलको संख्या बढेकाको छ । दलको संख्या बढेसँगै संसद्र सचिवालयले कार्यालय र कर्मचारीको व्यवस्थापन गर्नुपर्ने हुन्छ जसले गर्दा राज्य कोषलाईसमेत भार पर्छ ।

नव गठित राप्रपा प्रजातान्त्रिकले दलको मान्यता पाएपछि सरकारमा जाने तयारी गरेको छ । साउन २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस