shivam
Nerolac and Nepal life

टिप्पणी

भारत र चीनको तनावमा नेपालको ‘पोजिसन’ के हो ?

काठमाडौं, २४ साउन — भारत र चीनका बीच जारी विवाद कति दिनसम्म चल्छ र यसको अन्त्य कसरी हुन्छ कसैले भन्न सक्दैन । आइतवार भारतीय सञ्चारमाध्यममा लेखिएअनुसार चीनले नेपाललाई सम्पर्क गरेर यस विवादका बारेमा बताउनेछ ।


दुई ठूला छिमेकीबीचको गतिरोधमा नेपाल कहाँ उभिएको छ त ? नेपालका लागि कुनै पनि देशको पक्ष लिनु कत्तिको सजिलो छ ? सन् १९६२ मा भारत र चीनका बीच युद्ध हुँदा नेपालको स्थिति के थियो ? ६५ वर्षपछि पनि त्यही स्थिति रहन्छ त ?

यस्ता कैयौं प्रश्नहरू बीबीसी संवाददाता रजनीश कुमारले नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरे र जवाहरलाल नेहरु विश्वविद्यालयमा दक्षिण एसिया अध्ययन केन्द्रकी प्राध्यापक सविता पाण्डेसमक्ष राखे । उनीहरूको जवाफ तल प्रस्तुत छ : 

युवराज घिमिरे
भारतसँग विवाद चलिरहँदा चीनले नेपाललाई सम्पर्क गरेको विषयमा औपचारिक रूपमा केही थाहा पाइएको छैन । नेपालका पूर्वप्रधानमन्त्री केपी ओली चीनको निमन्त्रणामा ल्हासा गएको चाहिँ खुलेको छ ।

अनुमान के गरिँदैछ भने चीनले ओलीलाई भारतसँगको तनावका बारेमा बताएको छ । तर यो अनधिकारिक तवरमा भनिँदैछ किनकि नेपालका तर्फबाट कुनै पनि कुराको पुष्टि गरिएको छैन । नेपाल आफ्ना छिमेकीहरूका बीच जारी तनावमा गलत नबुझियोस् भन्ने चाहन्छ ।

भारत र चीनको तनावका विषयमा नेपालले औपचारिक रूपमा केही पनि भनेको छैन । नेपालले पहिलेपनि र अहिलेपनि दुई छिमेकीबीच मधुर सम्बन्ध हुँदा नै आफूलाई फाइदा हुने कुरा बताउँदै आएको छ । तनाव बढ्दा नेपालमा आवश्यक चीजहरूको आपूर्तिमा समस्या आउनसक्छ ।


सन् १९६२ मा भारत र चीनका बीच युद्ध हुँदा नेपाल पूरै तटस्थ बसेको थियो । उसले कसैको पनि पक्ष लिएको छैन । नेपालका गोर्खा सैनिकले भारतका तर्फबाट चीनविरुद्ध युद्ध लडिरहँदा नेपाल सरकार भने पूरै तटस्थ थियो ।

त्यतिखेर भारतले नेपाललाई प्रयोग पनि गरेको होइन । सन् १९६२ पछि दार्चुलानजिक कालापानी नामक स्थानका लागि नेपाल र भारतबीच विवाद भएको थियो । नेपाल यस क्षेत्रलाई आफ्नो भूभाग मान्छ र यहाँ भारतीय सैनिकहरू उपस्थित छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा २३ अगस्टमा दिल्ली पुग्दैछन् । देउवाले कालापानीका विषयमा छिट्टो समस्या समाधान गर्न दिल्लीलाई आग्रह गर्नेछन् । यस विषयमा नेपालका राजनीतिक दलहरूले देउवामाथि दबाब दिएका छन् ।

नेपालमा भारतविरोधी भावना बढेको विषयमा कुनै शंका छैन र त्यतिखेरै यहाँ चीनको उपस्थिति बढेको छ । सन् २००५ र २००६ पछि नेपालमा भएको राजनीतिक परिवर्तनका कारण –याडिकल एजेन्डा अघि बढिरहेको छ । नेपाल संक्रमणकालबाट गुज्रिँदै गर्दा भारतले गल्ती ग–यो र नराम्रो रूपमा एक्स्पोज भयो ।

नेपालमा राजतन्त्र अन्त्य भएपछि एकखाले राजनीतिक शून्यता आएको छ । त्यो शून्यता र संक्रमणकाल लम्बिँदा चीन एक ठूलो खेलाडीका रूपमा देखापरेको छ ।

यसअघि चीनले नेपालमा खासै मतलब गर्दैनथियो । तिब्बतसँग नेपालको सीमा जोडिएको भएर सामान्य सम्पर्क हुन्थ्यो । तर अहिले नेपालमा चीनको प्रभाव ह्वात्तै बढेर गएको छ ।


नेपालमा लामो समयसम्म अस्थिरता रहिरह्यो भने चीनलाई अप्ठ्यारो पर्ने उसको मान्यता छ ।

नेपालमा पहिले चीन काहीँ थिएन तर अहिले जताततै छ । पहिला हरेक मामिलामा नेपाल भारतमाथि निर्भर थियो ।

तर सन् २००६ पछि यसमा ठूलो परिवर्तन आएको छ । माओवादीहरूलाई भारतले आतंकवादी भनेको थियो । पछि भारतले तिनै माओवादीहरूलाई समर्थन ग–यो र उनीहरूलाई मूलधारमा ल्याउन मध्यस्थता ग–यो ।

नेपालले नयाँ संविधान बनायो, लोकतन्त्र ल्यायो, धर्मनिरपेक्ष राज्य बन्यो, गणतन्त्र आयो तर नेपाली जनता यसमा पूर्ण रूपमा संलग्न रहेनन् । भारतले यस कुराको विचारै गरेन ।

सन् २०१५ मा नेपालले संविधान जारी गर्न खोज्दा जुन पार्टीले भारतको सहयोगबाट नेपालको सत्ता हात पारेको हो उसैले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको बताएको थियो । एक तरिकाले त्यसले भारतविरोधी रवैयाको परिचय दियो ।

नेपाल भूकम्पबाट बौरिरहँदा भारतले नाकाबन्दी लगाइदियो र स्थिति झन् बिग्रियो । नाकाबन्दीका कारण आमजनताले भारतलाई सन्देहको दृष्टिले हेर्न थाले । अहिले नेपालमा चीनको सक्रियता बढेको छ ।

उसले नेपालमा ठूलो लगानी समेत गरेको छ । चीन नेपालसँग नजिकिँदै गर्दा नेपालको सम्प्रभुताको आदर गर्ने बताउँछ । त्यसैले नेपालको आमजनतामा चीनप्रति सहानुभूति छ ।

यसका बाबजुद नेपाल सरकारले वास्तवित नीति अपनाउनेछ र दुई छिमेकीको तनावमा तटस्थता नै कायम गर्नेछ ।

सन् १९६२ को युद्धमा नेपाली जनता र सरकारको सहानुभूति भारतप्रति थियो जुन अहिले पटक्कै छैन ।

त्यतिखेर भारत र नेपाल नजिक थिए र चीनका लागि कुनै स्थान थिएन ।

सविता पाण्डे
भारत र चीनबीचको गतिरोध वा युद्धको स्थितिमा नेपालले कसको पक्ष लिन्छ भन्न अत्यन्त गाह्रो छ । नेपाल आफैं राजनीतिक अस्थिरता झेलिरहेको छ ।

यो भारत र चीनको विषय मात्र होइन । यसमा भुटान पनि जोडिन्छ । त्यसैले नेपाल अहिले भारत र भुटानलाई झन् नजिक बनाउने काम गर्दैन । नेपालले भारत र चीनको मामिलामा आफूलाई भिन्न नै राख्नेछ ।

नेपालको भुटानसँग राम्रो सम्बन्ध छैन । नेपाल र भुटानबीच शरणार्थी समस्या छ जसमा भारतले दुवै देशसँग सामान्य दूरी बनाएको छ ।


भुटानका साथ नेपालको आफ्नै समस्या छ । उसले नेपाली मूलका मानिसहरूलाई देशबाट निकालेको छ । त्यसैले ऊ भारत र भुटानको सम्बन्ध राम्रो होस् भन्ने चाहँदैन ।

ऐतिहासिक तथ्य यो पनि हो कि असंलग्न राष्ट्रहरूले कहिल्यै पनि भारतलाई साथ दिँदैनन् । सन् १९६२ मा असंलग्न राष्ट्रहरूको सम्मेलन भएको थियो र भारत–चीन युद्धमाथि नै कुरा भएको थियो र उनीहरूले कुनै पनि देशको पक्ष लिएनन् ।

उक्त सम्मेलनमा चीन अत्यन्तै आक्रामक थियो तर कुनै स्ट्यान्ड थिएन । मलाई लाग्छ, अहिले चीनको त्रास फैलाइएको छ ।

भारतसँग सीमा जोडिएका सबै छिमेकीहरू न्यूनतम आवश्यकताका लागि भारतप्रति निर्भर छन् । यी आवश्यकतालाई अरू कुनै देशले पूरा गर्न सक्दैन ।

त्यसैले भारतले गर्न सक्ने काम चीनले कहिल्यै गर्न सक्दैन । यसमा भुटान, नेपाल, बंगलादेश र श्रीलंकाका लागि भारतको विकल्पमा अन्य कुनै देश छैन । त्यसैले उनीहरू आफ्नो आवश्यकतामाथि विचार गर्दै भारतविरोधी कुनै पनि काम गर्दैनन् ।


सन् १९६२ मा नेपालको स्थिति पूरै फरक थियो । त्यतिखेर नेपालका लागि चीन ठूलो फ्याक्टर थिएन । नेपाललाई भारत र चीनमध्ये एक छान्नुप–यो भने कसैलाई पनि छान्दैन ।

सन् १९६२ मा नेपालले असंलग्न राष्ट्रहरूलाई नै साथ दिएको थियो । उसले कुनै स्ट्यान्ड लिएको थिएन । त्यतिखेर कोलम्बोमा सम्मेलन भएको थियो र सम्मेलन भारतको पक्षमा थिएन ।

बीबीसी हिन्दीबाट

मंगलवार, श्रावण २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota