Nic Asia
cocacola

टिप्पणी

दुई नम्बरको चुनाव : माओवादीले कोर्स करेक्सन गरेकै हो त ?

अजय अनुरागी


जनकपुरधाम, २४ साउन – २०५२ फागुनबाट सुरु भएको माओवादी सशस्त्र विद्रोहका क्रममा पहिचान जनित मुद्दाले प्राथमिकता पाउन थाले । रुसी क्रान्तिका सन्दर्भमा लेनिनले प्रतिपादन गरेको जातीयता ‘नेश्नलिटी’ को अवधारणा तथा आत्म निर्णयको अधिकारलाई मुख्य सुत्रको रुपमा प्रस्तुत गर्दै माओवादीले प्रचार गरेको जातीय
पहिचान र जातीय स्वशासनको नाराले नेपालको पहिचान आन्दोलन प्रभावित भयो ।

जनयुद्ध कालमा समग्र मधेस एक स्वायत्त प्रदेश, आत्म निर्णयको अधिकार तथा पुर्ण समानुपातिक समावेशी राज्य लगायत अग्रगामी एजेण्डा माओवादीले उठाएको भएपनि शान्ति प्रक्रियामा आई अन्तरिम सरकारमा सहभागी भएका माओवादीले समेत संघीयताको एजेण्डालाई रहस्यमय ढंगले छोडेका थिए ।

अन्तरिम संविधान जारी गर्दा संघीयता समावेश नगरिएपछि मधेसी जनअधिकार फोरमले काठमाण्डौको माईतीघर मंडेलामा अन्तरिम संविधान जलाई विरोध गर्दा फोरमका तत्कालिन अध्यक्ष उपेन्द्र यादव लगायत दर्जनौं फोरमका नेताहरु पक्राउ परे । हुन त माओवादी जनयूद्ध कालिन दस्तावेजमा संघीयताको उल्लेख छैन ।

बरु उनीहरुले चिनिया शैलीमा स्वायत्त क्षेत्रको अवधारणाको अभ्यास र प्रयोग विद्रोह कालमै प्रारम्भ गरेका थिए । मधेसमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा माओवादीले सोही अवधारणा अनुरुप भुमिगत कालमा माओवादी अध्यक्ष प्रचण्डले गठन गरी जनकपुरमा उद्घाटन गरेका थिए ।

अन्तरिम संविधानको विरोधमा आन्दोलन उठेकै बेला ५ माघ २०६३ मा सिरहाको लहानमा माओवादी नेता राम कार्की चढेको गाडीमा ढुङ्गामुढा गरेपछि माओवादी कार्यकर्ता सियाराम ठाकुरले चलाएको गोली लागी रमेश महतोको मृत्यु भयो ।

घटनालाई दवाउन तथा साम्य पार्न माओवादी नेता मात्रिका प्रसाद यादवले प्रयास गरेपनि आन्दोलन चर्कियो । त्यहाँबाट सुरु भएको अनिश्चित कालिन मधेस बन्द हडतालको क्रममा माओवादीको सबैभन्दा वढी विरोध भएको थियो ।

जनयूद्ध कालमा मधेसको पक्षमा एजेण्डा माओवादीले उठाएको भएपनि माओवादीले गर्ने आन्दोलन फोरमको अगुवाईमा भयो । माओवादीका पुर्व नेता उपेन्द्र यादव अचानक आन्दोलनबाट चम्किए ।

सामान्य नेताबाट मधेसको मसिहामा रुपान्तरण भए । पहिचान सहितको संघीयता मुल उद्देश्य सहित उक्त आन्दोलनले राज्यका निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको मुद्दालाई बल दिएको थियो । यी सबै मुद्दाहरु माओवादीको भएपनि माओवादीका कारण नभएर मधेसी जनअधिकार फोरमको अगुवाईमा भएको मधेस आन्दोलनबाट स्थापित भएको थियो ।

तत्कालिन सरकारका शान्ति मन्त्री रामचन्द्र पौडेल र फोरमका संयोजक उपेन्द्र यादव बीच २२ बुँदे सम्झौता भएपनि माओवादी र फोरम बीचको तिक्तता झन् बढ्दै गयो । आन्दोलनताका सरकारको नेतृत्व नेपाली कांग्रेसका गिरिजा प्रसाद कोइरालाले गरेपनि आन्दोलनको टार्गेट प्रचण्ड भए ।

फोरम र माओवादीका पुर्व नेता रामकुमार शर्माका अनुसार अन्तरिम संविधान जारी गर्दाको समयमा माओवादी अध्यक्ष प्रचण्ड देश भित्र र देश बाहिरका शक्तिहरुको षड्यन्त्रमा फसे । गिरिजा प्रसाद कोइरालाको शव्दजालमा उनी फसे ।

यथास्थितिबादी शक्तिहरुको घेराबन्दीमा परेर प्रचण्ड फसे र संघीयता विनाकै अन्तरिम संविधान जारी भएका कारण मधेस आन्दोलन भयो । शर्मा भन्छन,“ जनयूद्ध कालमा मधेसमा क्रान्तिकारी बारुद माओवादीले भरेको थियो । तर, विभिन्न शक्तिको घेराबन्दी र षड्यन्त्रको शिकार भएका प्रचण्डको अपरिपक्वताका कारण अन्तरिम संविधानमा संघीयता लेखिएन ।” परिणाम स्वरुप मधेस विद्रोह सफल भयो ।

त्यसैपनि जनयूद्धका समयमा माओवादी नेताहरु भारतमा पक्राउ पर्दा उपेन्द्र यादवको हात रहेको शंकाका कारण माओवादीबाट अलग्गिएका उपेन्द्र यादव फेरी मधेस आन्दोलनताका माओवादीकै आमने सामने भएपछि उपेन्द्र यादव र माओवादीको सम्बन्ध झन् विग्रदै गयो । र, गौर हत्या काण्डको रुपमा नराम्रो परिणाम समेत देखा पर्यो ।

गौर हत्या काण्ड

७ चैत्र २०६३ मा रौतहटको गौर स्थित राईस मिलमा मधेसी जनअधिकार फोरम र नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभागर्न लाग्दा दुई पक्ष बीच झड्प हुँदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एक जना माओवादीको उपचारको क्रममा मृत्यु भएको थियो ।

गौर हत्या काण्ड भनेर चिनिने उक्त झड्पमा परेर कैयौं कार्यकर्ताहरु घाईते भएका थिए । पर्सा, बारा र रौतहटमा र्याली आयोजना गर्न मधेसी जनअधिकार फोरमको योजना अनुरुप रौतहट जिल्ला समितिले ७ चैत्रमा गौरको धान मिल क्षेत्रमा र्यालीको सार्वजनिक घोषणा तथा व्यवस्थित गर्न अग्रिम तयारी थालेको थियो । फोरमको उक्त निर्णयको एक हप्ता पछि माओवादीले पनि सोही ठाउँमा कार्यक्रम आयोजन गर्ने निर्णय गरेको थियो ।

र्यालीको २ दिन अघि देखि नै तनावको सिर्जना हुन सक्ने अनुमान गरिएको थियो । झण्डै १५ सय देखि ४ हजारको संख्यामा फोरमका समर्थकहरु ७ चैत्र २०६३ का दिन विहान देखि नै लाठी र भाटा सहित जुलुस र र्यालीको लागि गौर आईपुगेका थिए । फोरमका कार्यकर्ताहरु नेकपा माओवादीका समर्थकसँग भिड्ने तथा आक्रमण गर्ने तयारी साथ नै उपस्थित भएका थिए । उता माओवादी कार्यकर्ता पनि बन्दुक, सकेट बम, अन्य विस्फोटक उपकरण सहित उपस्थित भएका थिए । र, दुवै पक्ष बीच रक्तपातपुर्ण भिड्न्त भएको थियो ।

गौर हत्या काण्ड किन भयो भन्ने विश्लेषण गर्दा माओवादीको मधेसमा संगठन विस्तार नहोस भन्ने उद्देश्यले फोरमलाई अगाडी सारेपनि पर्दा पछाडीबाट नेपाली कांग्रेस र नेकपा एमालेले भुमिका खेलेको तत्कालिन फोरमका महासचिव तथा पुर्व माओवादी नेता रामकुमार शर्मा बताउँछन् । खास गरेर बाहय शक्ति पनि माओवादीको मधेसमा प्रभाव विस्तार नहोस चाहेकै कारण देशका शक्तिहरुलाई प्रयोग गरेर फोरमलाई मोहरा बनाई गौर काण्ड गराउन सफल भएको शर्माको विश्लेषण छ ।

संविधान सभाको प्रथम चुनावमा माओवादीले प्रत्यक्षमा १ सय २० सिट सहित २ सय २६ सिटका साथ ठुलो शक्तिको रुपमा उभ्रेर आयो । उपेन्द्र यादवको नेतृत्वमा रहेको फोरम चौथो शक्तिको रुपमा स्थापित भयो । मधेसबाट प्रतिनिधित्व गर्ने फोरम, तमलोपा र सदभावना गरी करिब १ सय सिट मधेस केन्द्रित दलका हातमा आए ।

‘परिवर्तनकारी शक्तिलाई जनताले मत दिएपनि मधेस केन्द्रित दलहरु र माओवादीको अहंकार, उन्माद वा अपरिपक्वताका कारण जनताको पक्षमा अग्रगामी संविधान जारी हुन सकेन, ।’ शर्मा भन्छन,“ माओवादी र मधेसवादी गोलचक्करमा फसे र चुके । आज त्यसकै परिणाम हो दोस्रो संविधान सभाबाट मधेसी जनताको पक्षमा संविधान जारी हुन सकेन ।”

दोस्रो संविधानसभाको चुनावबाट परिवर्तनकारी शक्ति पराजित भए । परम्परागत शक्ति कांग्रेस र एमाले ठुलो दलको रुपमा स्थापित भए । त्यसपछि कांग्रेस र एमालेले सत्ता संचालन गरिरहँदा तेस्रो द लबनेको माओवादी प्रतिपक्षमा बसेर पहिचान सहितको आन्दोलनलाई बल दिन मधेसी मोर्चा र आदिवासी जनजाती आन्दोलनकारी शक्तिहरुसँग गठनबन्धन गर्दै३१ दलको गठबन्धनका संयोजक भई आन्दोेलनको नेतृत्व गरेका थिए ।

तर, अचानक मधेसी मोर्चा र संघीय गठबन्धनलाई छोडर प्रचण्ड नेपाली कांग्रेस, नेकपा एमाले र फोरम लोकतान्त्रिकसँग मिलेर १६ बुँदे सहमतिमा हस्ताक्षर गरे । उक्त १६ बुँदे सहमतिको अवधारणा अनुरुप संविधान जारी गरिरहँदा माओवादी अध्यक्ष प्रचण्डको मधेसमा ठुलो विरोध भएको थियो ।

यहाँसम्म कि उनकै पार्टीमा मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान, रामरिझन यादव लगायतले विद्रोह गरी बाबुराम भट्टराईको संयोजकत्वमा नयाँ शक्ति पार्टी नै गठन गरे ।
संविधान जारी गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुँदासम्म मधेसका एजेण्डा प्रति प्रचण्डको खासै ध्यान थिएन । तर, जब ओलीको गठबन्धनलाई तोडेर उनी आफ्नै नेतृत्वमा कांग्रेस र मधेसी मोर्चाको समर्थनमा सरकार बनाए, तब देखि मधेसमा प्रचण्डलाई हेर्ने दृष्टिकोणमा भने केही सकारात्मक फरक अवश्य देखिएको छ ।

त्यसमा पनि प्रधानमन्त्रीको रुपमा रहँदा मधेसका समस्या समाधान गर्नका लागि उनले गरेको इमान्दारपुर्ण प्रयासलाई मधेसमा सकारात्मक लिइएपनि संविधान संशोधन गराउन नसकेपछि उनको आलोचना भने भएकै हो । प्रथम चरण र दोस्रो चरणको स्थानीय तहको निर्वाचन पश्चात माओवादी केन्द्र तेस्रो स्थानमा धेरै फरक मतले झरेपछि अब अध्यक्ष प्रचण्डको ध्यान भने प्रदेश नम्बर २ तर्फ केन्द्रित भएको छ ।

नेकपा माओवादी केन्द्रले असोज २ गते हुने भनिएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि जनकपुरलाई केन्द्र विन्दु बनाएर आफ्नो प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । १६ साउनमा माओवादीको हाईकमाण्ड सहितको हेडक्वार्टर जनकपुरमा पुगेर प्रदेश नम्बर २ का ८ वटै जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई आगामी चुनावका लागि भन्दै विशेष प्रशिक्षण दिनुका साथसाथै रणनीतिहरु समेत तयार गरेको छ ।

पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले शिर्ष नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, स्वास्थ्य मन्त्री गिरिराज मणि पोखरेल, सहरी विकास मन्त्री प्रभु साह, नेता विश्वनाथ साह, उर्मिला अर्याल लगायतको उपस्थितिमा १७ साउनमा जनकपुरमा पत्रकार सम्मेलन आयोजन गरी चुनावी प्रतिवद्धताहरु सार्वजनिक गरेका थिए ।

५२ कुट्टी तथा ७२ कुण्ड सहितको नामले चिनिने मिथिलाको आत्मा रहेको जनकपुर सहरको समग्र विकासका लागि माओवादी केन्द्रको केन्द्रिय कार्यालयको सचिवालयले जनकपुरमा बसेर निर्णयहरु गरेका थिए ।

जनकपुर एउटा सांस्कृतिक तथा धार्मिक केन्द्र स्थल भएकाले जनकपुर उपमहानगरपालिकालाई
महानगरपालिकाको रुपमा घोषणा गरेर जानुपर्ने भएकाले महानगरपालिकाको अवधारणा अन्तरगत रहेर जनकपुरको समग्र विकासका लागि जनकपुरलाई महानगरपालिकाको रुपमा स्तरोन्नती गरिनुपर्ने पार्टीले निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष दाहालले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए ।

आफु प्रधान मन्त्री रहेका बेला तराई मधेसको दुईवटा सहरहरु विराटनगर र विरगञ्जलाई महानगरपालिकाको रुपमा घोषणा गर्न सफल भएपनि जनकपुरका लागि छलफल भएपनि राजनीतिक रुपमा सहमति हुन नसकेकाले जनकपुरलाई महानगरपालिकाको रुपमा घोषणा गर्न नसकिएको दाहालले बताएका थिए ।

भविष्यमा नेपालकै पर्यटकिय स्थलको रुपमा जनकपुरलाई विकास गर्नका लागि जनकपुरधाममा रहेको मणिमण्डपलाई ३ बर्षे विस्तृत गुरु योजना अन्तरगत विकास गर्नका लागि दरबार, बेदी मण्डप र धर्मशाला निर्माण गरिने दाहालले योजना सुनाएका थिए ।

सहरी विकास मन्त्रालय आफ्नै पार्टीका नेता प्रभु साहले पाएकाले पनि जनकपुरको विकासका लागि मणिमण्डपको आफ्नो मौलिक स्वरुपलाई कायम राख्दै पुननिर्माण गरी मणिमण्डपलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने पार्टीको धारणा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताएका थिए ।

जनकपुरधामको आर्थिक रुपमा समेत समृद्ध बनाउनका निम्ति धनुषाको धनुषाधाम, जनकपुरधाम र महोत्तरीको जलेश्वरलाई सडक सञ्जालले जोडेर जनकपुरलाई पर्यटकिय हवको रुपमा विकास गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उनले बताएका थिए । जनकपुरका मठ मन्दिर, पोखरी तथा कुट्टीहरुलाई समेत एकिकृत सहरी विकास परियोजना अन्तरगत त्यसको सौन्दर्यीकरण गर्दै त्यसको संरक्षण गर्नुका साथै खुल्ला क्षेत्रहरुलाई सुन्दर बगैंचा तथा पार्कको रुपमा विकास गरिने आफ्नो पार्टीको योजना रहेको अध्यक्ष दाहालले बताएका थिए ।

जनकपुर सहरलाई महानगरपालिकाको रुपमा स्तरोन्नती गर्न सकिए ५० बर्ष पछिको जनकपुर सहरलाई सुविधा सम्पन्न सहर बनाउनुका साथसाथै जनकपुरलाई केन्द्र मानि जनकपुर वरपरको सहरहरुलाई स्याटेलाईट सिटीको रुपमा विकास गर्ने भिजन समेत आफ्नो पार्टीले राखेको उनले महत्वकांक्षी योजनाहरु सुनाएका थिए ।

जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको रुपमा विकास गर्नका निम्ति प्रधानमन्त्री सँग छलफल समेत गरिसकेकाले जनकपुरलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकिय सहरको रुपमा विकास गर्नका लागि आवश्यक पर्ने पुर्वाधार निर्माणका साथसाथै जनशक्ति उत्पादन र नीजि क्षेत्र तथा पर्यटन क्षेत्रलाई समेत जोड्ने आफुहरुको रणनीति रहेको उनले बताए ।

१३ सय मधेसीको बलिदान

पहिचान र अधिकारका लागि सबैभन्दा पहिले आफुले नै मधेसी राष्ट्रिय मुक्ति मोर्चा भुमिगत कालमा गठन गरी आफुले नै जनकपुरमा उदघाटन गरेका कारण नै आज मधेसमा पहिचान र अधिकार स्थापित भएको उनले बताए । देशमा भएको परिवर्तनमा मधेसी समुदायको धेरै ठुलो योगदान रहेको तथा जनयूद्धमा समेत १३ सय जना मधेसी सपुतले बलिदानी दिएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको दाहालले बताए ।

मधेसमा माओवादीको संगठन धेरै बलियो नभएका कारण स्थानीय तहमा एक्लै जानु भन्दा पनि तालमेल गरेर जाने पार्टीको दृष्टिकोण रहेको उनले बताएका थिए । संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता लगायतको परिवर्तनकारी एजेण्डा रहेका शक्तिहरुसँग तालमेल गरी अगाडी वढ्ने शंकेत दिईरहँदा उनले नामै किटेर राजपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम लगायत मधेस केन्द्रित दलहरुसँग मात्र सहकार्य हुन सक्ने प्रस्ट्याए ।

प्रदेश नम्बर २ को आठ वटै जिल्लाको रिपोटिङ्गबाट आफ्नो पार्टी प्रदेश नम्बर २ मा ठुलो शक्तिको रुपमा पहिलो पार्टी हुने दावी माओवादी अध्यक्ष प्रचण्डले गरेपनि उनको दावी पुरा होला नहोला हेर्न बाँकी छ ।

मंगलवार, श्रावण २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti