खोज/विशेष : टिप्पणी

के पश्चिमको पतन हुन थालेको हो ?

अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको विजय र बेलायतले युरोपेली युनियनबाट बाहिरिने निर्णय (ब्रेक्जिट) ले पश्चिमको राजनीतिमा उत्तर-सत्य अर्थात् पोस्ट ट्रुथ राजनीतिको बीजारोपण गरेको मानिएको छ । पोस्ट ट्रुथ राजनीतिमा गरिने बहसमा नीतिहरूभन्दा पनि जनताको भावनालाई सम्बोधन गर्ने कुरामा जोड दिइन्छ । यस्ता बहसमा उठाइने असत्य कुराहरूलाई तथ्यले काटेपनि राजनीतिकर्मीहरूले त्यसलाई वास्ता गर्दैनन् । अक्सफोर्ड डिक्सनरीले यसलाई वर्षशब्द नै घोषणा ग-यो ।

uk_us_france

विशेषगरी विश्वराजनीतिमा परम्परागत धारबाट निराश भएका जनताको भावना बोल्ने पपुलिस्ट (लोकरञ्जनवादी) राजनीतिकर्मीहरूले पोस्ट ट्रुथलाई जोडतोडका साथ प्रयोग गरेको पाइन्छ । यसैलाई प्रवर्द्धन गर्ने गरी सामाजिक सञ्जालको पनि दुरुपयोग भएको दृष्टान्त यसपालिको अमेरिकी चुनावमा देखियो । फेसबूकमार्फत असत्य समाचार (फेक न्युज)हरू भाइरल भएर डोनाल्ड ट्रम्पका पक्षमा जनलहर पैदा भएको समेत विश्लेषण भए । यस्ता असत्य समाचार फेसबूकमा राखेर भाइरल बनाउने युरोपेली मुलुक मेसिडोनियाका इन्टरनेटविज्ञ युवाहरूले पश्चिमी पत्रकारिता र लोकतन्त्रलाई नै चुनौती दिइरहेको आरोप लगाइएको छ ।

अहिले उदारवादका पृष्ठपोषक पश्चिमे मूलधारको पत्रकारिता गर्नेहरूले ‘स्वतन्त्र पत्रकारिता’का लागि पाठकबाट मौद्रिक सहयोग मागिरहेका छन् भने असत्य समाचारको बाढीबाट उनीहरू त्रसित भएको देखिएको छ । वस्तुनिष्ठता र तर्क पश्चिमको आदर्श भएको र अहिले पोस्ट ट्रुथ हाबी भएसँगै यी आदर्शमा आघात पुगेको विश्लेषण गरिँदैछ ।

यस्ता विश्लेषण आफ्ना गल्तीलाई ढाकछोप गर्ने निम्छरा प्रयास जस्ता देखिन्छन् । उदारवाद र विश्वव्यापीकरणलाई पृष्ठपोषण गर्ने मूलधारे मिडिया भ्रममा बाँचेको स्वीकार्न नचाहेकाले यस्तो दाबी गरिरहेका झैं देखिन्छन् । हिलारी क्लिन्टनको पक्षमा एउटा ‘इको च्याम्बर’ मा मूलधारे सञ्चारमाध्यम व्यस्त रहँदै ट्रम्पको पक्षमा सुदृढ धारणा बनाएका ठूलो संख्याका मतदाताका आवाज सुन्नै चाहेनन् (इको च्याम्बर भन्नाले एउटा कोठाभित्रको आवाज कोठाभित्रका मान्छेले मात्र सुन्ने स्थिति हो र मूलधारे मिडियाले एकअर्काको आवाज मात्र सुने अमेरिकी चुनावताका) ।

यसरी हेर्दा आफूलाई वस्तुनिष्ठता र तर्कशीलताको संवाहक मान्ने मूलधारे मिडियाले यिनै आदर्शलाई तिलाञ्जली दिएको पाइयो । अर्को पक्षको आवाज सुन्नै नमान्ने अनि बहुलवादलाई तुच्छ ठान्ने मूलधारे मिडियाले गल्ती ढाकछोप गर्ने एउटा पात्र फेला पारेका हुन् फेक न्युजका नाममा । यसमा पश्चिमी राजनीतिकर्मी पनि स्यालहुँइया लगाइरहेका छन् । सत्य र लोकतन्त्रको खतराका रूपमा फेक न्युज देखापरेको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामा र जर्मन चान्सलर अंगेला मार्केलले अभिव्यक्ति दिए । यस्तो अभिव्यक्तिले सर्वसाधारणलाई दिमाग नभएका अनि जसले जसो भन्यो त्यतै बहकिने भीडका रूपमा बुझ्छ । यो लोकतन्त्रकै अपमान हो किनकि जनताको त्यही समूह नै त लोकतन्त्रको इकाइ हो ।

उदारवादी विचार पोख्ने केही सम्भ्रान्तहरूले जनताद्वारा पहिला ब्रेक्जिट अनि पछि ट्रम्पको विजयमा उनीहरूको ‘महान् सल्लाह’लाई नमानेकोमा ठूलो चोट बेहोरेको देखियो । बरू वामपन्थी दार्शनिक स्लाभोज झिझेकले उदारवादी र वामपन्थीहरूले पहिचानको राजनीतिमा अत्यधिक जोड दिएर तल्लो वर्गका मान्छेको भावना बुझ्न नखोजेकोमा आत्मालोचना गर्नुपर्ने बताए । आखिर पहिलो नारी राष्ट्रपतिको छविमा आफूलाई कैद गर्न खोज्ने हिलारी क्लिन्टनका प्रतिस्पर्धी बर्नी स्यान्डर्सले जित्नसक्ने तल्लो तप्काका जनताको मतलाई नै त ट्रम्पले जातिवादी र घृणावादी राजनीतिका बाबजुद जितेका हुन् । त्यसैगरी भारतीय पत्रकार बर्खा दत्तले ट्रम्पको विजयपश्चात् उदारवादीहरूको कमजोर मुटु उजागर भएको भनी लेखिन् ।

अमेरिकामा उग्रदक्षिणपन्थीहरूको उदय अर्थात् अल्ट राइटले उदारवादलाई ठूलो चुनौती दिएको छ । अल्ट राइटले जातिवादी र गोराहरूको प्रभुत्वको विचार राख्ने व्यक्तिको मात्र प्रतिनिधित्व गर्दैन, बरू विश्वव्यापीकरण र अनियन्त्रित आप्रवासनको प्रभावले देशमा रोजगारी गुमेकोमा चिन्तित वर्गले पनि ट्रम्पलाई नै मत दिए, भलै उनको जातिवादी कुरा उनीहरूलाई मन परेको थिएन । तर हिलारी क्लिन्टन घृणास्पद व्यक्ति (डिप्लोरेबल्स) भनी संज्ञा दिएकोलाई उचाल्दै उदारवादी मिडियाले एउटा ठूलो तप्कालाई चिढ्याउने काम ग—यो जसको बदला उनीहरूले ट्रम्पलाई जिताएर दिए ।

यो कुरा नबुझी विश्लेषकहरू जनतालाई ‘मूर्ख निर्णय लिएकोमा’ गाली गर्नमै व्यस्त छन् । अब सम्भ्रान्त मिडियाले यस्ता निर्णय लिनबाट जनतालाई जोगाउन अनि फेक न्युजको बाढी रोक्न ठूलो भूमिका निर्वाह गर्नुपर्ने बताइरहेका छन् ।

यस्तो दाबीले सत्यलाई सामना गर्न उदारवादीहरूमा हुती नभएको देखाएको छ । पश्चिममा षड्यन्त्र सिद्धान्त, असत्य समाचार र मिथहरू किन यस्तो घनत्वका साथ फैलिँदैछन् त ? पश्चिममा तर्कशीलता भित्रभित्रै सड्दै गएको संकेत हो यो ? खासमा यसले पश्चिमको राजनीतिकर्मी र मिडियाको नैतिक तथा सांस्कृतिक आधिकारिकता नै क्षयोन्मुख रहेको देखिएको छ । आफ्ना जनताको नजरमा पश्चिमले वस्तुनिष्ठता र वैधतालाई गुमाइसकेको संकेत यसले प्रस्ट गरेको छ । पश्चिमको यो संकटरूपी तातो फलाममा घन हान्ने काम मात्र गरेको हो फेक न्युज बनाउने इन्टरनेटविज्ञहरूले अनि पोस्ट ट्रुथ अभ्यास गर्ने राजनीतिकर्मीहरूले ।

फेक न्युजमा विश्वास गर्ने अनपढ गँवार हुन् र उनीहरू तथ्य र आख्यान छुट्याउन सक्दैनन् भनी केही उदारवादी हस्तीहरूका विश्लेषण छापिए मूलधारे मिडियामा । यस्तो सम्भ्रान्त र अपमानजनक धारणा राख्नेहरूले विश्वव्यापीकरण (ग्लोबलाइजेसन) र पहिचानको राजनीतिको गलत अभ्यासका कारण राष्ट्रवादी राजनीतिको उदय हुनलाई मद्दत पुगेको तथ्यलाई स्वीकार्नै सकेका छन् । यसरी सामान्य जनतालाई अपमान गर्नेहरूले आधुनिक राजनीतिलाई डोहो—याउने आदर्शलाई नै अपमान गरिरहेका छन् । जनता तर्कमा विश्वास गर्छन् र आफ्नो भाग्य आफैं कोर्न उनीहरू समर्थ छन् भन्ने कुरालाई उदारवादी सम्भ्रान्तहरूको विचारले महत्व दिँदैन । जनताको विचारलाई सम्पादन गर्नुपर्छ अनि सम्भ्रान्त पत्रकारितालाई स्थापित गर्न ‘गेटकीपर’ राख्नुपर्छ भन्ने धारणा यही सम्भ्रान्त मानसिकताको उपज हो ।

यस्तो अवधारणाले खुल्ला बहसको सम्भावनालाई नकार्छ । मूलधारे मिडियाका सीमित सम्भ्रान्तहरूको विचारलाई नै जनतामाथि थोपर्ने अनि व्यापक बहसलाई निमोठ्ने यस्ता धारणाले पश्चिमको शून्यवाद उजागर गरेको छ । खुल्ला बहसलाई ठाउँ नदिएर सुकरातलाई विषप्याला पिलाउने अनि मध्ययुगमा धर्मका विरुद्ध एक शब्द उच्चारण गर्न नपाइने बाध्यकारी अवस्थालाई यसले सम्झाएको झैं देखिन्छ ।

सम्भ्रान्तहरूले भनेको कुरा चाहिँ सबै सत्य अनि जनताले बहुलवादी अवधारणालाई लेखाजोखा गरेर निर्णय दिनै नपाउने अवस्था आउनु लोकतन्त्रको आदर्शमाथिको कुठाराघात हो । जनताले आफ्नो विवेकको प्रयोग गर्न पाउनुपर्छ र कसैले भनेको आधारमा धारणा बनाउन बाध्य पारिनुुहुँदैन भन्ने नै लोकतन्त्रको आदर्श होइन र ?

उत्तरआधुनिकताले जन्माएको सापेक्षतावादले सत्यलाई नै शून्य बनाइसकेको अनि तथ्यपरकता असम्भव भएको तर्कसँगै पोस्ट ट्रुथ राजनीतिको जन्म अवश्यम्भावी थियो । त्यसैगरी पत्रकारहरूले पनि प्रस्ट रूपमा वस्तुनिष्ठतालाई त्यागेपछि अब उनीहरूको कुरा किन सुन्ने जनताले भन्ने कुरा उठ्नु अस्वाभाविक होइन ।

सत्य सापेक्ष हुन्छ भनेर तथ्यपरकता तथा वस्तुनिष्ठतामा प्रहार गर्ने अनि अहिले आएर तथ्य मरेकोमा बिलौना गर्ने पश्चिमी समाज भित्रैबाट खोक्रो भइसकेको प्रस्ट देखिन्छ । जर्मन दार्शनिक ओस्वाल्ड स्पेन्गलरले बीसौं शताब्दीमा घोषणा गरेको पश्चिमको पतन अहिले आएर प्रमाणित हुन थालेको हो कि भन्ने देखिएको छ । असन्तुष्ट जनताको ठूलो तप्काका चिन्तालाई सम्बोधन गर्ने सटीक उपाय पश्चिमी राजनीतिकर्मीहरूले कार्यान्वयन नगरेसम्म अनुदारवाद र उग्रदक्षिणपन्थको राजनीतिक लहर थामिने लक्षण देखिँदैन ।

एजेन्सीको सहयोगमा

मंसिर २३, २०७३ मा प्रकाशित

विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस