Ruslan
Tata /sipradi
Nic Asia

टिप्पणी

कञ्चन प्रकरण : सत्यको कठघरामा नेपाली पत्रकारिता र समाजसेवा

प्रकाश आस्था

आजकल सामाजिक सञ्जालमा कुन बहानामा को बढी हिट हुने भन्ने होडबाजी चलेको देखिन्छ । मूलधारका मिडिया पनि यसबाट अछुता छैनन् । केही अघि तरकारीवाली हिट भइन् । परित्यक्त जीवन बाँचिरहेकी कञ्चन शर्मा रेग्मी हालै सामाजिक सञ्जालमा व्यापक छाइन् । विश्वकै प्रतिष्ठित सञ्चारमाध्यम बिबिसीबाट सेवानिवृत्त पत्रकार सुमन खरेलले एक निजी टेलिभिजनबाट प्रसारण हुने आफ्नो कार्यक्रम ‘सुमनसंग’ मा कञ्चनसँग लिएको अन्तर्वार्ता विवादमा तानिएको छ । उक्त अन्तर्वार्ताकै आधारमा ‘ब्लग मिडिया’ ले विषयको गम्भीर्य नबुझी शर्माको पूर्वपरिवारको तस्वीरसमेत सार्वजनिक गरिदियो । त्यही आधारमा सामाजिक सञ्जालले एकाएक शर्मालाई ‘ममतामयी पीडित महतारी’ र शर्माका पूर्वपति मोहन रेग्मी र उनका दुई छोरालाई ‘राक्षससरह’ घोषणा गरिदियो ।

आँसु बेच्ने काम

कञ्चन शर्मा उनको पूर्वपरिवारबाट कति पीडित भइन् या उनले नै परिवारलाई पीडा दिइन्, त्यो दुनियाँले बुझ्न चाहेन । हाम्रो देशमात्रै होइन, संसारभर नै आम जनतासँग कहिल्यैपनि कुनै विचार या मन्तव्यको प्रमाणीकरण गर्दै हिँड्ने फुर्सदै हुँदैन । कुनै पनि घटनाको बारेमा पूर्वजानकारी लिने, अध्ययन गर्ने र अध्ययनपछिको निचोड राख्ने मञ्च नै मिडिया हो । सत्यतथ्य पस्कने माध्यम नै मिडिया हो । अनि हाम्रोजस्तो कान छाडेर कागको पछाडि कुद्ने समाजमा मिडियामा आएका यस्ता संवेदना र आँसुका कुरा परालमा आगो लागेझैं फैलिहाल्छ, फैलियो ।

kanchan_sharma_suman_kharel

मान्छेले आक्रोशमा एउटा धारणा बनाइहाल्छन् । अझ अहिले त आफ्ना भनाई राख्ने बृहत्तर मञ्च बनेका छन् फेसबुक र ट्विटर जस्ता माध्यम । मान्छेले त्यहाँ तत्कालै कञ्चनका पूर्वपति र छोराहरूका विरुद्ध आगो ओकलिहाले । लेखक मोदनाथ प्रश्रितले एक सन्दर्भमा भनेको कुरा उल्लेख गर्न मन लाग्यो, ‘मान्छेले जब कुनै विषयमा लेख्छन् या बोल्छन्, त्यसबारेमा हत्तपत्त धारणा बदल्न चाहँदैनन् । आफूले भनेको र लेखेको कुराबाट पछि हट्न मान्छेलाई गाह्रो पर्छ ।’ कञ्चनका बारेमा जति समाचार, तस्वीर र टिप्पणी बाहिरिँदै छन्, विषय उति गम्भीर होइन रहेछ भन्ने कुरो बलियो हुँदैछ तर पनि मान्छेहरूले एउटा धारणा बनाइसकेका छन् । कञ्चनका बारेमा समाजमा स्पष्ट रूपमा दुई धार देखिएको छ । गरीब देशका सांसदहरूले आफ्नो तलब र भत्ता बढाइरहेका बेला सामाजिक सञ्जालमा ‘नेग्लिजिबल’ विषयमा आक्रोशपूर्ण टिप्पणी हुने क्रम जारी छ ।

हावादारी मिडिया र प्रचारका भोका समाजसेवी

तर यो घटनाले दुईवटा कुरालाई जबर्जस्ती बाहिर ल्याइदिएको छ, ती हुन् : १. नेपाली पत्रकारितामा खोज र अनुसन्धान हुँदैन २. समाजसेवाका नाममा नेपालमा चर्चा र प्रचारबाजी बढी र काम कम छ । हिज्जे बिग्रेको ‘सुमनसंग’ कार्यक्रम चलाउने सुमनजस्ता पाका पत्रकारले समेत कसैको लहलहैमा लागेर कसैको अन्तर्वार्ता लिन्छन् र उत्तरलाई समेत राम्ररी केलाउन सक्दैनन् भने यो हाम्रो पत्रकारिता क्षेत्रकै लागि दुःखको कुरा हो । त्यसमाथि सामान्यतः कुनै पनि प्रतिष्ठित टिभी शोमा कसैसँग अन्तर्वार्ता लिनुपूर्व उनको या उसका बारेमा पर्याप्त अध्ययन गर्नुसमेत आवश्यक मानिन्छ । कञ्चनलाई सोधियो, ‘तपाईंको माइती कहाँ छन् ?’ उनले मुन्टो हल्लाएर भनिन्, ‘छैनन्’ ।

माइतीको अर्थ त बाआमासमेत हुन् । बाआमैविना कसरी जन्मिन् कञ्चन ? कञ्चन राम्रो कवि पनि भएको भन्दै सुमनले कञ्चनलाई कुनै रचना वाचन गर्न आग्रह गरे । कञ्चनले रवि प्राञ्जलले लेखेको गजललाई आफ्नै कविता भन्दै भट्याइदिइन् । यति सामान्य कुराहरूलाई समेत कहीँ कतै सोधपुछ गर्नु या पुनः प्रमाणीकरण आवश्यक ठानिएन । सम्भवतः नेपाल हो यहाँ यत्तिको चल्छ भन्दै अल्छी पत्रकारिता गर्दिए सुमनले ।

kanchan4-1
तस्वीर स्रोत : सन्सारन्यूज

यता, कञ्चनलाई आफ्नो संस्थामा ल्याएर सेवा सुश्रूसा गर्ने दीक्षा चापागाईंलाई समेत प्रचारको अति आसक्ति रहेको बुझियो । बाहिर आएका तथ्यहरूका अनुसार पशुपतिनाथ मन्दिर परिसरबाट एक महिलाले उद्धार गरेर कञ्चनलाई दीक्षाकोमा पु—याइएको थियो । तर दीक्षाले कञ्चनलाई पुनः फोहरको थुप्रोमा भेटेको भन्दै त्यस्तै झल्को दिने तस्वीर सार्वजनिक गरिन् । आवश्यक थियो त्यसो गर्न ? यसअघि पनि सुन्धारा क्षेत्रमा देखिएकी एक नग्न महिलालाई उद्धार गर्नुप-यो भन्दा दीक्षाले मिडिया ल्याउनुपर्ने शर्त तेर्स्याएको कुरा पत्रकार प्रमोद पोखरेलले उल्लेख गरेका छन् ।

यसबाट के देखिन्छ भने केही व्यक्ति कुनै पीडितलाई संस्थामा ल्याएर प्रचार बटुल्दै त्यसमार्फत बढीसे बढी सहयोग असुल्न पल्केका छन् र त्यस्तो प्रक्रियामा यो वा त्यो बहानामा पत्रकारलाई पनि प्रयोग गर्न पुग्छन् । मानवीय र व्यावसायिक दुवै दृष्टिबाट त्यो गलत कदम हो । दीक्षाको प्रचारको मोह हेर्दा लाग्छ : उनले कञ्चनलाई समेत कतै टिभीमा यसो भन्न र उसो भन्नका लागि प्रशिक्षित त गराएकी थिइनन् ?

रेग्मी परिवारलाई के क्षतिपूर्ति ?

मोहन रेग्मी आजका दिनमा कञ्चन शर्माको लोग्ने होइनन् । मोहनले सार्वजनिक गरेको अदालती फैसलाको कागजले प्रष्ट रूपमा त्यही देखाउँछ । २०६८ सालमै कञ्चनसँग सम्बन्धविच्छेद गरिसकेको मोहनाको दाबी छ । अवश्य पनि लोग्नेस्वास्नीको सम्बन्धविच्छेद हुनुमा कुनै कारण होला । कानूनबाट टुंगिएको यो सम्बन्धलाई पुनःस्थापित गर्न या न्याय पाउनका लागि सम्भवत न्यायालयकै बाटो उचित हुन्थ्यो । रक्सी खाएर सडकमा बस्ने बेवारिसे कञ्चनलाई सम्भवतः त्यो कुरा थाहा भएन होला तर जान्नेबुझ्ने सुमन र दीक्षाहरूले यिनको दुःखलाई टिआरपी बढाउन र चर्चा बटुल्नका लागि प्रयोग गर्नुभन्दा उनलाई न्यायका लागि अघि बढ्न उचित सल्लाह दिन सक्थे ।

विचारणीय कुरो के छ भने कञ्चनका बारेमा अनेक खालका तथ्यहरू बाहिर आउन थालेपछि खरेलले अब अर्को कार्यक्रममा परिवारको समेत कुरा सुन्ने कोशिशमा रहेको भन्दै ‘उहाँहरूलाई कतैबाट पनि गाली, अपशब्द र अपमान नगरीदिनुहुन अनुरोध छ’ भन्ने सन्देश त लेखेका छन् । तर सँगै सुमनले ‘त्यस्ता छोराहरू हुनुभन्दा त गर्भमै मरेको भए हुने’ भन्ने टिप्पणीलाई भने रिट्विट गरेका छन् । कार्यक्रम प्रस्तोताले एउटा परिवारको गम्भीर मानमर्दन गर्न मिल्छ ? कञ्चनलाई अन्याय भएको हो भने त्योबाहिर आउनैपर्छ ।

साथै कञ्चनका पूर्वपतिलाई अन्याय भएको हो वा थियो भने त्यो पनि सँगै बाहिर आउनुपर्थ्यो । पहिला एउटा पक्षको कुरा बाहिर ल्याउने, त्यस आधारमा अर्को पक्षलाई अपूरणीय क्षति पुग्न जाने अनि मात्र दुवै पक्षको कुरा सुनिनेछ भन्नु पत्रकारिताको धर्म हो र ? पीडित पक्षको कुराबाहिर आउनुअघि नै उसलाई अपूरणीय क्षति पुगेको रहेछ भने उसको जति नै कुरा बाहिर आएपनि त्यसको पूर्ति हुन सक्दैन ।

जिम्मेवार बनोस् मिडिया

उसो त यसअघि पनि जिम्मेवार भनिएका मिडियाबाट नै रसेन्द्र भट्टराई प्रकरण, अनुजा बानियाँ प्रकरण, दिलशोभा प्रकरण, डा. मिनासिंह खड्का प्रकरणहरू सतहमा आएका थिए । पत्रकार र सम्पादकले आँखा चिम्लिँदा जनताहरूले झुटलाई सत्य मान्न बाध्य भएका थिए । उसो त मैले यसो भनिरहँदा ‘यो रेडियो नेपाल हो, सुमन खरेलबाट समाचार सुन्नुहोस्’ भन्ने ऊ जमानामा एक पाका पत्रकारप्रति अर्घेलयाईं गरेको पनि ठहर्ला । समाज र जीवनबाट परित्यक्त भएकी एक महिलाको संरक्षणको हकलाई बेवास्ता गरेको आरोप पनि लाग्ला तर मेरो ठहर हो संसारकै प्रतिष्ठित सञ्चारमाध्यममा काम गरेका एक जिम्मेवार सञ्चारकर्मी, पति र बाउ हुनुका नाताले पनि सुमनले सबै विषयलाई सन्तुलित हिसाबले बाहिर ल्याउन सक्नुपर्थ्यो ।

एउटा सडकको मान्छे गैरजिम्मेवार हुनु बेग्लै कुरो, एउटा आममान्छेले हावा कुरा गर्नु अलग कुरो । नाटक र टेलिसिरियलमा काल्पनिक कथा र रोनाधोना बेच्नु बेग्लै कुरो । तर जिम्मेवार मिडिया मञ्चबाट जिम्मेवार पत्रकारले असन्तुलित विषय बाहिर ल्याइदिँदा मिडियाप्रति नै आम जनताले विश्वास गर्ने वातावरण रहँदैन । यसका साथै यो पंक्तिकार यो पनि भन्न चाहन्छ कि आगामी दिनमा कञ्चन र उनका पूर्वपतिका विषयमा को ठीक र को बेठीक वा कसले कसलाई अन्याय गरेको रहेछ भन्ने विषयको गहिराईमा पुग्ने म र म सम्बन्धित मिडियाको थप प्रयास जारी रहनेछ ।

(लेखक आस्था स्नातक तहमा पत्रकारिता अध्यापन गर्छन् ।)

बिहिवार, मंसिर २३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon