Nerolac and Nepal life

टिप्पणी

रामदेवको शिविरमा विशिष्टहरुको लर्कोः अर्को लम्पसारवाद होइन ?

सुशील पन्त

-समाचार टिप्पणी - कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने नेपाली उक्तिलाई नेपालका नेताहरुले फेरि एकपटक पुष्टि गरेका छन्, रामदेवको योग शिविरको शोभा बढाएर । संविधान संशोधनको मुख्य विषय थाती राखेर प्रभावशाली नेताहरु रामदेवको अगाडि घुँडा (योग) टेक्न वीरगञ्ज पुगे । उसो त नेपालमा हैसियत विनाको दक्षिणी पात्र आउदा पनि नेपालका नेताहरु तँछाड–मछाड गर्दै दर्शन भेटको लागि मरिहत्ते गरेको यो पहिलो घटना भने होइन ।

baba-ramdev
स्केच स्रोत :ब्लगब्रसअपार्ट डटकम

योग शिविर उद्घाटन गर्न राष्ट्रपति वीरगञ्ज जानु पर्दथ्र्यो, पर्दैनथ्र्यो त्यो वेग्लै बहसको विषय हो, यसअघिका राष्ट्रपति डा रामबरण यादवले नजीर बसालेकोले आलंकारिक राष्ट्रपति योग उद्घाटनमा गइन् । यस विषयलाई अरु नतन्काऔं । त्यत्तिसम्म ठीकै थियो, कार्यकारी प्रमुख लगायतका अरु नेताहरु हुल बाँधेर रामदेवको शिविरमा पुग्नुपर्ने कारण चाँहि बुझेर नसकिने भएको छ ।

संविधान संशोधनको काम थाती राखेर प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् बैठक छोट्याएर भारतीय योगगुरुको शिविरमा जानुपर्ने हतारो के आइलाग्यो ? आश्चर्यको विषय बनेको छ । अढाइ महिना अगाडि राजकीय भ्रमणको समयमा प्रम प्रचण्ड रामदेवको आश्रम हरिद्वारमा गएर उनलाई महत्व दिएकै थिए । संविधान संशोधन जस्तो देशको यतिवेलाको सर्वाधिक महत्वको काम छाडेर रामदेवको शिविरमा जानुपर्ने हतारो के थियो होला ?

रामदेवप्रति प्रचण्डको यो भक्ति देख्दा सात बर्ष पहिले वानेश्वर चोकमा भारतीय विस्तारवाद बिरुद्ध बारुद ओकल्ने आफ्ना अध्यक्षको समर्थनमा ताली बजाउने माओवादीका ‘होलटाइमर’ कार्यकर्ताले अहिले खाडीका मुलुकबाट के भनिरहेका होलान् ?

prachanda_ramdev

भारतीय नाकाबन्दीको पीडा सर्बसाधारणले अझै भुल्न सकिरहेका छैनन्, र भुल्नेपनि छैनन् । नाकाबन्दी लगाउने भाजपा सरकारसँग निकट मानिएका रामदेवले नाकाबन्दी बिरुद्ध ‘चुँ’ बोलेनन्, अहिले आएर नेपाललाई सीताको पवित्रभूमि भनेर साइनो गाँस्नुको अर्थ के ? तीनै भारतीय जोगी नेपालमा आउँदा हाम्रा नेताहरु भाग्यविधाता नै आएजस्तो गरी लर्को लाग्नु शोभनीय होला ?

भारतीय राष्ट्रपति नेपाल आउँदा सरकारले सार्वजनिक विदा समेत दिएर अति भक्तिभाव दर्शाएको भन्दै सामाजिक सञ्जालमा ‘लम्पसारवाद’ भन्ने एउटा टे«ण्डिङ बन्यो । प्रणव मुखर्जी त राष्ट्रपति थिए, त्यो पनि १८ बर्षपछि नेपाल आउदै गरेका । तसर्थ त्यस सम्मानलाई एकहदसम्म जायज भन्न सकिन्थो, तैपनि जनताले पचाएनन् ।

तर एकजना जोगीलाई भेटन् देशका सबैजसो विशिष्टहरुको वीरगञ्ज यात्रा कदापि औचित्यपूर्ण देखिँदैन । रामदेव नेपालीको भलो चिताएर योगशिविर सञ्चालन गर्न आएका देख्नु बालसुलभ कल्पना हुनसक्छ । उनको निहित उदेश्य नेपालमा आफ्नो ब्राण्ड र प्रभाव विस्तार नै हो । बहुराष्ट्रिय कम्पनीको बिरोध गर्ने रामदेव नेपालमा पतञ्जली नामक अर्को ‘अघोषित बहुराष्ट्रिय कम्पनी’ बनाउन खोज्दैछन । अन्य नेताहरुको भक्तिभावप्रति कटाक्षगर्दै पूर्व प्रधानमन्त्री डा बावुराम भट्टराइले त सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेका छन, ‘यो शुद्ध विज्ञानलाई धर्म, राजनीति र व्यापारको मिश्रण बनाउनु कति उपयुक्त हो ?’

रामदेवको कार्यक्रममा प्रचण्ड मात्र पुगेनन्, सभामुख ओनसरी घर्ती, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नेता झलनाथ खनालसम्म वीरगञ्ज पुग्न छुटाएनन् । कतिपयले टाइ–सुट लगाएरै रामदेवको योगको भद्दा नक्कल गरे, जुन आफैमा अशोभनीय थियो । राष्ट्रपति, प्रधानमन्त्री र सभामुख जस्ता ‘सम्माननीय’को भ्रमणमा राज्यकोषको लाखौ रुपैया खर्च हुन्छ र उनीहरुको सुरक्षा प्रवन्धका लागि सुरक्षाकर्मीको तैनाथी बढाउँदा राज्यकोषमा भार बढ्छ । यसबाट विना विज्ञापन रामदेवको प्रचार भयो ।

नेपालमा रामदेवको व्यापार बढ्नुको स्वभाविक अर्थ सिंहदरवार वैद्यखाना लगायत नेपालका आयुर्वेद औषधी उद्योगको व्यापार व्यबसाय चौपट पार्नु हो । नेपालमा स्वाधीन अर्थतन्त्रको कुरा गरेर नथाक्ने माओवादीहरुले नेपालको वैद्यखानालाई सुकाएर रामदेवको पतञ्जली विस्तार गर्ने काम किन गर्दैछन, जानेर वा नजानिकन ? रामदेवका अवैतनिक दूत बनेर उनको उत्पादनको प्रचारमा प्रयोग भरिया झै प्रयोग भएर हिडेका नेताहरुले कहिल्यै सिंहदरवार वैद्यखानाको उत्पादन प्रयोग गर्ने र प्रबद्धन गर्ने गरेका छन् ? के उनीहरु वैद्यखानाको शिलाजीत दक्षिण एसियाकै उत्कृष्ट औषधी हो भनेर अन्तराष्ट्रिय मञ्चहरुमा वा रामदेवको मञ्चमा उभिएर भन्न सक्छन् ?

योग सिकाउने नाममा रामदेवको पतञ्जलीले नेपालको बजार हिस्सा ओगटदैछ, आयुर्वेदिक औषधीमा मात्र नभएर अन्य सामग्रीमा समेत । तर उसले कर तिरेको छैन, राज्यका निकायवाट अनुमति लिएको छैन भनेर अखवारमा समाचार आइरहेका छन् । के अनुमतिबिना सञ्चालित उद्योगका सामान प्रबद्र्धन गर्ने काममा प्रयोग भइयो भनेर संकोच मान्नु पर्दैन ? भोलिका दिनमा रामदेव भन्दा सिपालु योग गुरु आएर रसुवामा शिविर सञ्चालन गरेर अभ्यास गराउन थालेभने यहाँका नेता लस्कर लागेर जालान् त ? या नेपालका कुनै योगगुरु भारतमा जाँदा भारतीय विशिष्टहरु यसैगरी लर्को लागेर आउलान् ? कदापि आउने छैनन् । बुझ्नेहरुका लागि यो एउटा अर्थपूर्ण कुटनीतिक मर्यादाको प्रश्न हो ।

देशका सबै काम छाडेर एउटा सन्यायी जोगीको शिविरमा प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्री र भावी प्रधामनन्त्रीका दावेदारको लर्को लाग्नुलाई लम्पसारवाद नभने के भन्ने ? भारतीयलाई रिझाउने यो हर्कत महालम्पसारवाद होइन ? इतिहासले समीक्षा गर्ला नै ।

बिहिवार, मंसिर २३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell