ntc

टिप्पणी

भारतले नेपालसितको यातायात सम्पर्कको विरोध गर्नु ‘अन्त्यहीन समस्या’ निम्त्याउनु हो: चीन

भनाभनको थालनी गरायो ‘द टाइम्स अफ इन्डिया’ ले । निहुँ बन्यो चीनले नेपाललाई लत्ताकपडा, घरेलु औजार, इलेक्ट्रोनिक्स र निर्माण सामग्रीहरूको एउटा ठूलै खेप उपलब्ध गराउन लागेको प्रसंग ।

लगभग २८ लाख अमेरिकी डलर (सटही दर हाल १०९ रुपैयाँ) बराबरका ती दैनिक उपयोगका सरसामान ग्वाङडोङसम्म रेलबाट ल्याएर त्यहाँबाट ट्रकहरूमा हाली नेपाली सीमाक्षेत्र केरुङतिर चलान गरेको खबरलाई भारत सरकारनिकटको मानिने द टाइम्स अफ इन्डियाले निकै महत्व दिएर मंसिर २६ गते (११ डिसेम्बरमा) छाप्यो । शीर्षक यस्तो छ:
भारतसित प्रतिस्पर्धा गर्न चीनले मालतालको ठूलो खेप नेपाल पठाउँदै

समाचारको पेटबोलीमा उल्लेख गरियो: ‘यस्तो कदमले भारतको व्यापारलाई नराम्रो असर पर्छ किनभने यतिञ्जेल नेपालको बजारमा भारतको बेरोकटोक पहुँच रहिआएको थियो ।’ द टाइम्स अफ इन्डियाको यही कथनलाई चीन सरकारको सोचलाई प्रतिध्वनित गर्ने अखबार ‘ग्लोबल टाइम्स’ ले भोलिपल्ट टिपेर टिप्पणी ग—यो भने चीन—नेपाल यातायात सम्पर्क विस्तारलाई भारतले विरोध गर्छ भने त्यसबाट भविष्यमा ‘अन्त्यहीन समस्या’ आइपर्नेछ ।

चेतावनीको भाषामा आएको यस टिप्पणीका लेखक हुन् ‘ग्लोबल टाइम्स’ कै संवाददाता हु ओइजा । चीनका उद्योगबाट उत्पादन भएका केही मालताल नेपाल पुग्नुलाई भारतीय मालवस्तुको बजार नेपालबाट विस्थापित हुनै लागेको ठान्नु गलत हो । ढुवानीको बाटो खुल्दा नेपालले पनि आफ्ना उत्पादन चीनतर्फ निकासी गर्न पाउँछ ।

त्यत्ति मात्र होइन, भारतीय उत्पादन पनि नेपालको बाटो चीन पुग्न सक्छन् किनभने नेपालले ‘पुल’ को सुविधा दुवै देशलाई दिने वचनबद्धता पटक—पटक प्रकट गर्दैआएको छ । त्यसैले चीनले नेपालसितको सडक सम्पर्क विस्तार गर्दा भारत ‘चाहिनेभन्दा बढी संवेदनशील’ हुनुको कुनै तुक छैन । चीनको सडक विस्तारको ‘बेल्ट एन्ड रोड’ कार्यक्रमले दक्षिण एसियालाई सडक सञ्जालमा जोड्न खोजेको तथ्य जगजाहेर छ ।

चिनियाँ टिप्पणीकार हु थप्छन् — समुद्री मार्गको साटो सडक मार्गको उपयोग गरे मालवस्तु ढुवानीको समय बचत हुन्छ भनेर चीनले गएको जेठ महिनातिरै यस कार्यको थालनी गरेको हो । चीनले अर्को देशसित सहयोग विस्तार गरेकोमा भारत झस्किनु हुँदैन र भारतले गरेकोमा चीन पनि आशंकित हुनुपर्ने होइन । ‘रणनीतिक शंका’ प्रकट भइदिँदा एकथरी मानिसलाई वस्तुस्थितिको गलत अर्थ गर्ने (अपव्याख्याको) मौका प्राप्त भएको छ । यसबाट जोगिनुपर्छ ।

नेपालतर्फ मालवस्तुको नयाँ खेप चलान भएको समाचार भारतको समाचार संस्था पीटीआई र चीनको संस्था सिन्ह्वा दुवैले प्रमुखताका साथ सम्प्रेषण गरेको देखिन्छ । यी समाचार सामग्री भारत र चीन दुवै देशका छापा र तिनका इन्टरनेट संस्करणमा प्रकाशित भएका छन् ।

दिल्लीको केन्द्रीय सरकार झस्किएको झलक दिने गरी द टाइम्स अफ इन्डियामा यसबारे प्रकाशित समाचारमा तिब्बती सीमा बन्दरगाह गैरोङबाट काठमाडौं ८६० किलोमिटर टाढा पर्ने कुरा उल्लेख छ । ग्वाङडोङ प्रान्तबाट सिगात्सेसम्मको रेलसेवाले मालतालको खेपलाई ल्याउँदा ५,२०० (पाँच हजार दुई सय) किलोमिटर दूरी तय गरेको छ अर्थात् यसले ढुवानी खर्च बढाउँछ भन्ने भारतीय छापाको तर्क छ । तर चीन सरकार त्यसमा अनुदान (सब्सिडी) दिएर नेपाल पुगेका उत्पादन सस्तो राख्न प्रयत्नशील छ, यो ‘पर्यवेक्षकहरू’को धारणा हो भन्ने द टाइम्स अफ इन्डियाको दाबी छ ।

चीन नेपाललाई भारतप्रतिको निर्भरता घटाउन प्रोत्साहित गर्दैछ भन्ने देखाउन भारतीय अखबारले नेपाल दूरसञ्चारले चिनियाँ उपकरण र सुविधा उपयोग गर्ने सम्बन्धमा गरेको सम्झौताको पनि चर्चा गरेको छ ।

प्रधानमन्त्री भएका बखत चीन—भ्रमण गर्दा केपी शर्मा ओलीले चीनसित गरेको पारवहन सम्बन्धी सम्झौताबाट नरेन्द्र मोदीको सरकार आत्तिएको र पछि ओली सत्ताबाट हटेपछि केही राहत भएको झलक द टाइम्स अफ इन्डियाको चर्चित समाचार आलेखमा भेटिन्छ । आइतवार, पौष ३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam