Nic Asia
cocacola

उपभाेक्ता

लाइसेन्स लिन रातभर लाइन बस्नुनपर्ने, अनलाइनबाट फारम भर्न सकिने

काठमाडौं, ८ पुस – गत मंसिर १४ गते यातायात व्यवस्था कार्यालय अनुगमन गर्दै भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले निर्देशन दिएका थिए – आउँदो १० दिनभित्र अनलाइन प्रणालीबाट सवारी लाइसेन्सको फारम भर्ने व्यवस्था मिलाउनू ।

चिसो मौसममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फारम भर्न रातभर लाइनमा बस्न बाध्य सेवाग्राहीको सहजताका लागि अनलाइनमार्फत फारम भर्ने व्यवस्था मिलाउनका लागि मन्त्रीले निर्देशन दिएका थिए ।

मन्त्री लेखकले निर्देशन दिएको झण्डै १ महिनापछि बल्ल यातायात व्यवस्था विभागले अनलाइन प्रणालीबाट सवारी लाइसेन्सको फारम भर्ने व्यवस्था कार्यान्वयन गर्न लागेको छ । विभागले यसको तयारी धेरै समय अघिदेखि गर्दै आएपनि कार्यान्वयनमा आउन सकेको थिएन ।

‘अनलाइनबाट सवारी लाइसेन्सको फारम भर्ने व्यवस्था कार्यान्वयनका लागि तीव्र गतिमा काम भइरहेको छ,’ यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले लोकान्तरसँग भने, ‘सेवाग्राहीले आगामी सोमवारदेखि अनलाइनमार्फत फारम भर्न सक्नेछन् ।’

अनलाइनबाटै लाइसेन्स भर्न मिल्नेगरी प्राविधिक काम अघि बढिरहेको विभागको भनाइ छ । ‘उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले आवश्यक सर्भर लिइसकेको छ,’ प्रवक्ता पाण्डेले भने ।

‘अब लाइन लाग्नुपर्दैन’
अनलाइनबाटै सवारी लाइसेन्सका लागि फारम भर्ने व्यवस्था कार्यान्वयनपछि अब उपभोक्ताले धेरै सास्ती कम हुने विभाग बताउँछ । ‘अब सेवाग्राहीले सवारी लाइसेन्सका लागि रातभर लाइन बस्नुपर्ने बाध्यता हट्न लागेको छ,’ प्रवक्ता पाण्डेले थपे ।

बायोमेट्रिक र पैसा तिर्न भने विभागै धाउनुपर्ने 
लाइसेन्स फारमका लागि अनलाइन प्रणाली कार्यान्वयन गर्न लागिएपनि लाइसेन्सको बाँकी प्रक्रियाका लागि भने सेवाग्राही सम्बन्धित यातायात कार्यालय नै पुग्नुपर्ने हुन्छ । लाइसेन्सका लागि आवश्यक पर्ने बायोमेट्रिक, रकम भुक्तानी लगायतका प्रक्रियाका लागि भने सेवाग्राही यातायात कार्यालय नै पुग्नुपर्नेछ ।

‘मुख्य समस्या फारम भर्नमा रहेकोले सेवाग्राहीले सेवाप्रवाहमा पहिलेभन्दा धेरै सहजता महसूस गर्नेछन्,’ पाण्डेले भने ।  

तर हाललाई वाग्मतीमा मात्रै 

अनलाइन प्रणालीबाट फारम भर्ने व्यवस्था हाललाई वाग्मती अञ्चलमा मात्र कार्यान्वयनमा ल्याउन लागिएको विभागले स्पष्ट पारेको छ । ‘वाग्मतीमा यसको प्रभावकारिता हेरेर बाँकी अञ्चलमा पनि क्रमशः सेवा विस्तार गर्दै लाने योजना छ,’ प्रवक्ता पाण्डेले भने ।  

सजिलो छ फारम भर्न
विभागले अनलाइनबाट लाइसेन्स फारम भर्न कुनै झन्झट नहुने बताएको छ । यातायात व्यवस्था विभागको आधिकारिक वेबसाइटमा ‘भिजिट’ गरेर सेवाग्राहीले ‘अनलाइन सवारी चालक अनुमतिपत्र’ मा क्लिक गर्दा लाइसेन्स फारम पाउनेछन् । सेवाग्राहीले सोही फारममा उल्लेखित विवरण भरे पुग्छ । शुक्रवार, पौष ८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti