उपभाेक्ता

ग्यास डिलरलाई शतप्रतिशत मुनाफा चाहियो !, माग पूरा नभए आन्दोलन गछौं : महासंघ

लोकान्तर संवाददाता

काठमाडौं, १२ पुुस –खाना पकाउने एलपी ग्यासको विक्री वितरण गर्दै आएका डिलरहरूले शतप्रतिशत मुनाफाको माग गरेका छन् । ग्यास कारोबारमा नाफा कम भएको भन्दै व्यवसायीले माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै ग्यास विक्रेता महासंघले ग्यास कारोबारमा हाल कायम रहेको मुनाफाले व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै त्यसमा शतप्रतिशत वृद्वि गर्न माग गरेको हो ।

महासंघका अनुसार हाल प्रतिसिलिण्डर ग्यास विक्री गर्दा डिलरको मुनाफा ३२ रुपैयाँमात्र छ । विगत ५ वर्षयता उक्त मुनाफा रकममा हेरफेर नभएको महासंघ बताउँछ ।

हाल कायम रहेको मुनाफालाई ६० देखि ६५ रुपैयाँसम्म पु-याउनुपर्ने महासंघको माग छ ।

‘मूल्य अभिवृद्वि कर कटाउँदा एउटा सिलिण्डर विक्री गरेबापत डिलरले जम्मा २८ रुपैयाँमात्रै मुनाफा पाउँछन्,’ महासंघका महासचिव चन्द्र थापाले लोकान्तरसँग भने, ‘यो मुनाफाले डिलर सञ्चालनको न्यूनतम आवश्यकता पनि धान्दैन् ।’

हाल खाना पकाउने ग्यासको प्रतिसिलिण्डर मूल्य १३ सय २५ रुपैयाँ छ । महासंघले प्रतिसिलिण्र मूल्यको ५ प्रतिशत मुनाफा माग गरेको हो ।

माग पूरा नभए आगामी माघदेखि चरणवद्व रुपमा आन्दोलन गर्ने व्यवसायीको चेतावनी छ ।

त्यस्तै, महासंघले ग्यास विक्री गर्दा लाग्ने मूल्य अभिवृद्वि कर र डिलर र कर्मचारीको बीमा ग्यारेन्टीको पनि माग गरेको छ । तत्काल डिलर प्रमाणीकरण प्रक्रिया अघि बढाइनुपर्ने, व्यवसायीहरूलाई लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, मुलुकभर ग्यास प्रयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका माग राखेको छ ।
पुस १२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस