Ruslan
Tata /sipradi
Nic Asia

उपभाेक्ता

गुणस्तरहीन मल र बीउ नेपाल पठाउँदै भारत

सुवास भट्ट

काठमाडौं, १३ पुस –भारतबाट नेपाल आउने बीउविजन र रसायनिक मलको गुणस्तरमा समस्या देखिएको छ । नेपालले भारतबाट वर्षेनी आयात गर्ने करोडौं रुपैयाँ मूल्य बराबरको बीउविजन र रसायनिक मल कम गुणस्तरीय पाइएको हो ।

व्यवस्थापिका संसद अन्तर्गतको कृषि तथा जलस्रोत समितिको बुधवारको बैठकमा बोल्ने सांसदले पनि भारतीय वीउविजन र रसायनिक मलमा समस्या देखिएको गुनासो गरेका थिए ।

‘अहिले सीमाक्षेत्रबाट नक्कली तथा कम गुणस्तरका रसायनिक मल आयात भएको भन्दै जनताले व्यापक गुनासो गरेका छन्,’ समितिको बैठकमा बोल्दै सांसद कमल पंगेनीले भने ।

बैठकमा बोल्दै अर्का सांसद सुधिर सिवाकोटीले भारतबाट आयात हुने रसायनिक मलको गुणस्तर नै नभएको बताए । ‘भारतबाट आएको रसायनिक मलका कारण माटो नै विग्रेको छ,’ उनले भने ।

बैठकमा समितिका सभापति मोहन बरालले पनि भारतबाट आयात गरिएका बीउ र रसायनिक मलमा गुणस्तरको समस्या अत्यधिक भएकाले सोको अनुमगन गर्न कृषि विकास मन्त्रालयलाई निर्देशन नै दिएका छन् ।

नेपाल बीउविजन कम्पनी लिमिटेडका अनुसार भारतले राम्रो बीउविजन आफूले प्रयोग गर्ने र कम गुणस्तरका बीउविजन नेपाल निर्यात गर्छ । ‘तेस्रो मुलुकबाट आयात गर्ने बीउविजनको तुलनामा भारतबाट आयात गर्ने बीउविजनको गुणस्तरमा बढी समस्या देखिएको छ,’ कम्पनीका प्रवन्ध सञ्चालक धर्मराज अधिकारीले लोकान्तरसँग भने ।

‘नेपालीहरू वस्तुको गुणस्तरमा भन्दा मूल्यमा बढी चासो राख्ने भएकाले पनि यो समस्या देखिएको हो,’ अधिकारीले भने । राम्रो बीउ भारत स्वयंले प्रयोग गर्ने तथा कम गुणस्तरीय बीउ नेपाल निर्यात गर्ने लिमिटेडका अधिकारीहरू बताउँछन् ।

कृषि विभाग, क्षेत्रीय निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय लगायतले बीउको गुणस्तर परिक्षण गर्ने भए पनि खुला सिमानाका कारण अनौपचारिक रूपमा ठूलो मात्रामा कम गुणस्तरका बीउविजन नेपाल भित्रिएको लिमिटेडको ठहर छ ।

मूख्यगरी हाइब्रीड (वर्णशंकर)मकै, धान तरकारी लगायतका खाद्य वस्तुका कम गुणस्तरीय बीउ नेपाल भित्रिएको लिमिटेड बताउँछ ।

बीउविजन आयात गर्दै आएको नेपाल बीउ व्यवसायी संघले भने यस सम्बन्धमा प्रतिक्रिया दिन इन्कार गरेको छ । ‘मलाई थाहा छैन,’ संघका अध्यक्ष लक्ष्मीकान्त ढकालले भने, ‘यसबारे बुझौंला ।’

लिमिटेडका अनुसार नेपालमा बीउको वार्षिक कारोबारमा समावेश गरिएका बालीका विभिन्न जातका बीउको कुल माग परिमाण करीव १ लाख ९३ हजार मेट्रिक टन छ । बीउको कुल मागमध्ये करीव ३० प्रतिशत विदेशबाटै आयात हुुने लिमिटेड बताउँछ । नेपाले मूलतः भारतबाट बीउविजन आयात गर्छ ।

त्यस्तै, नेपालमा वर्षेनी झण्डै ३ लाख मेट्रिक टन बराबरको रसायनिक मल आयात हुन्छ । बुधवार, पौष १३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam