उपभाेक्ता

'पिउन जानेदेखि मदिराले दिने आनन्द जडीबुटीयुक्त चियाले नै दिन्छ'

काठमाडौं, १९ पुस  —तपाईं चियाको पारखी हुनुहुन्छ ? हो भने, एउटा खुशीको समाचार छ । काठमाडौंको बालुवाटारमा चियापान घर खुलेको छ ।  बालुवाटारस्थित राष्ट्र बैंकबाट अलिकति अगाडि बढेपछि प्रधानमन्त्रीको सरकारी निवासको तीन नं गेटको पारीपट्टि ओरालोमा चियापारखीका लागि एउटा चिया घर शुरु भएको छ ।


चियादानीबाट बाफ उड्दै गरेको चिह्नका साथ ‘चियापान घर’ लेखिएको उक्त घरभित्र पस्ना साथ चियाको मगमग बास्ना आउन थाल्छ ।

फराकिलो चियापान घरमा शयभन्दा बढी विभिन्न थरीका चिया पाइन्छन् । विशुद्ध गुणस्तरीय चिया पिउँदै अध्ययन, विमर्श तथा सोच्नका लागि प्रशस्त ‘स्पेस’ यहाँ उपलब्ध छ ।

यही चियापान घरमा भेटिए चिरन दाहाल । चियाखेतीको लागि प्रसिद्ध स्थान इलामका चिरन हुन त पत्रकारिताका विद्यार्थी हुन् । पत्रकारिता छोडेर आईटीमा लागेका चिरनको मन त्यहाँ पनि त्यति जम्न सकेन ।

इलामको माटोसँग जोडिएका चिरनले आफ्नो जन्मभूमिलाई प्रवर्धन गर्नका लागि उपायहरू सोच्न थाले । ‘इलामको केनथोकलाई प्रवर्धन गर्नका लागि अनि किसानको हितका लागि म के गर्न सक्छु भन्ने लागेर चिया व्यवसायमा लागें,’ लोकान्तरसँगको कुराकानीमा उनले यो नयाँ पेशामा आउनुको कारण खोले ।

विगत ६ वर्षदेखि चिया व्यवसायमा लागेका चिरनले चर्चित पत्रकार अश्विनी कोइराला लगायत पाँचजना साथीसँग मिलेर चियापान घर शुरु गरेका हुन् । केही समय रुसमा बसेका कोइरालाले चिया संस्कृतिको बारेमा अध्ययन समेत गरेका थिए ।

व्यवसाय शुरू गर्नुअघि पसल पसलमा गएर चिया चाखे चिरनले । यसरी चिया चाख्दै हिँड्दा उनलाई लाग्यो, यसमा ‘स्कोप’ छ । त्यसपछि उनले चियालाई नै व्यवसाय बनाउने मनसुबा बनाए ।

ठमेल र झम्सीखेलमा चियापसल खोलेका चिरनको चियापान घर भने ‘जोइन्ट भेन्चर’ हो ।

‘यसबीचमा मैले भारत गएर चिया रसास्वादनका विषयमा पढें र चिया विषयका विज्ञहरूसँग सम्पर्कमा रहें,’ उनले लोकान्तरसँग भने, ‘विशेषगरी दक्षिण कोरिया, जापान र चीनका ‘टी मास्टर’ हरूसँग संगत गरेपछि यसमा केही गर्न सकिन्छ भन्ने लाग्यो ।’

हाम्रो देशमा चिया उत्पादन हुने भएपनि नेपालीले चिया बुझेकै छैनौं भन्छन् चिरन । ‘एक पात र दुई सुईरो मात्रै हैन चिया, यो त आफैंमा ठूलो विज्ञान हो,’ उनी भन्छन्, ‘यसैलाई खेलाउन सकियो भने यहाँ प्रशस्त भेराइटीहरू भेटिन्छन् ।

नेपालमा चियापानको इतिहास डेढसय वर्षभन्दा बढी भएको चिरन बताउँछन् । तर गुणस्तर र संख्या दुवैको हिसाबमा हामी आधारभूत तहमै छौं भन्ने उनको टिप्पणी छ ।

नेपालमै चियाको खपत बढाउनका लागि लागिपर्ने उनको निश्चय छ । ‘स्वस्थकर चियालाई नेपालमा चिनाउने र यसमा बानी बसाउने हाम्रो हाम्रो लक्ष्य हो,’ उनी भन्छन्, ‘धेरैजनाको हामीलाई प्रत्यक्ष र अप्रत्यक्ष सहयोग छ ।’

यो समूहले इलामको जसबिरे र माईपोखरीमा रहेको चिया बगानबाट चिया ल्याएर प्रशोधन गर्छ अनि बजारमा पु-याउँछ ।

अहिले बजारमा उपलब्ध सबै चिया स्वस्थकर भन्न नसकिने उनी बताउँछन् । विशेषगरी बजारमा उपलब्ध सिटिसी चिया थोकमा एकैचोटि उत्पादन हुन्छ र नेपालको चिया संस्कार पनि यसले नै बसाएको हो । दूधको चिया पिउने भनेकै सिटिसी चिया हो, उनी जानकारी दिन्छन् ।

यसको इतिहास केलाउँदै चिरन भन्छन्, ‘बेलायती साम्राज्यवादी शासकहरूले चियाका भाँचिएका टुक्राहरू आफूले पिउने चियामा उपयोग नगर्ने भएकाले थोकमा सिटिसी बनाएर बेच्न थाले अनि दक्षिण एसियालीहरूलाई यसको बानी बसाइदिए ।’

तर वास्तविक चिया संस्कृति र चीन, जापान र कोरियामा पाइन्छ भन्छन् चिरन । चियाको धेरै लामो अनुभव उनीहरूसँग मात्रै छ । ‘हामी पनि उनीहरूले जस्तै उच्च गुणस्तरको चिया सेवनमा लाग्न सक्छौं र आफ्नै स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न सक्छौं ।’


सर्वसाधारणलाई स्वस्थकर चियामा बानी लगाउन सकिए यसले मदिरालाई समेत विस्थापित गर्न सक्ने चिरनको भनाई छ । ‘मदिराले दिने आनन्द जडीबुटीयुक्त चियाले नै दिन्छ भने वार्षिक रूपमा किन अर्बौंको मदिरा आयात गर्नुप-यो र ?’ उनी प्रश्न गर्छन् ।

नेपालको कृषि उत्पादनमा सबभन्दा बढी पैसा भित्र्याउने वस्तु चिया भएको जानकारी दिँदै चिरन भन्छन्, ‘हामीले नेपाली चियाको गुणस्तरीयता विश्व बजारमा स्थापना गर्न सकियो मात्र भनेपनि देशलाई ठूलो फाइदा पु-याउन सक्छौं ।’

चियाबगानमै हुर्केका चिरनलाई चिया उत्पादन, गुणस्तरीयता निर्धारण र बजार व्यवस्थापनको पनि अनुभव हुनाले नेपालीहरूलाई राम्रो चियाको बानी बसाउन आफू सफल हुने विश्वास छ ।

चियापान घरमा एक कपको न्यूनतम ४० रुपैयाँदेखि १२ सय रुपैयाँसम्मको चिया पाइन्छ । साथै चियापत्ती पनि यहाँ किन्न पाइन्छ ।

चियापान घरले ‘अन्त्यहीन चियापान’ को अफर समेत ल्याएको सञ्चालकहरू बताउँछन् । महिनाको हजार रुपैयाँमा जति मन लाग्यो त्यत्ति चिया पिउन पाइने उनीहरू बताउँछन् ।

२१ कार्तिकमा पहिलोचोटि प्रकाशित 

पुस १९, २०७३ मा प्रकाशित

विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस