ntc

उपभाेक्ता

विदेशीले भन्दा तीन गुणा धेरै आयोडिन भएको नुन खान्छन् नेपाली, कारण यस्तो

सुवास भट्ट

काठमाडौं, २० पुस –नेपालीको आयोडिन उपभोग अन्य मुलुकका तुलनामा उच्च देखिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका अनुसार नेपालमा आयोडिनको उपभोग विश्वका अन्य मुलुकको औषत उपभोगभन्दा बढी छ ।

लिमिटेडका अनुसार नेपालीले उपभोग गर्ने नुनमा आयोडिनको मात्रा प्रतिशत ५० पीपीएम (पार्ट पर मिलियन) छ । यो विश्वका अन्य मुलुकको औषत आयोडिन उपभोगभन्दा बढी हो ।

छिमेकी मुलुक भारतमा हाल आयोडिनको उपभोग करीव १५ पीपीएममात्र छ । ट्रेडिङका अनुसार विश्वमा हाल औषत आयोडिन उपभोग ३० पीपीएम छ । नेपालीले सन् १९९८ देखि ५० पीपीएम आयोडिन उपभोग गर्दै आएका छन् ।

लिमिटेडका अनुसार नेपालमा उत्पादन हुने खाद्य वस्तुमा आयोडिनको मात्रा कम हुने भएकाले सोको पूर्ति नुनमार्फत गरिन्छ । खाद्यान्नमा आयोडिनको मात्रा कम र खाना पकाउने तरिका लगायतका कारण आयोडिनको मात्रा बढाउनुपरेको लिमिटेड बताउँछ ।

आयोडिनको कमीले गलगाँड लगायतका शारीरिक तथा मानसिक समस्या देखिन थालेपछि सरकारले सन् १९७३ देखि नुनमा १५ पीपीएम आयोडिन मिसाउन थालेको थियो । उक्त मात्रा पनि कम भएको भन्दै १९९० मा ३० प्रतिशत पु¥याइएको थियो ।

सन् १९९८ देखि पुनः नुनमा आयोडिनको मात्रा वृद्वि गरी ५० पीपीएम पु-याएको थियो । आयोडिन जमिनको माथिल्लो तहमा पाइन्छ । नेपालको अधिकांश भूभाग पहाडी र भिरालो रहेकाले उक्त तह पानीले बगाएर लग्ने भएकाले यहाँ उत्पादित खाद्य वस्तुमा आयोडिन कम हुन्छ ।

सामुन्द्रिक वस्तुमा पनि आयोडिनको मात्रा झण्डै पर्याप्त हुन्छ । तर, नेपाल सामुन्द्रिक पहुँचमा नरहेकाले पनि नुनमा आयोडिनको मात्रा बढाउनुपरेको लिमिटेड बताउँछ ।

नुनमा आयोडिनको मात्रा बढी भए पनि यसको नकारात्मक शारीरिक असर भने केही पनि नहुने लिमिटेडको भनाइ छ ।

नेपालीले दैनिक ६ ग्राम नुन खान्छन्

लिमिटेडका अनुसार नेपालीको दैनिक नुन उपभोग औषत ६ ग्राम छ । दैनिक ६ ग्राम नुन खाँदा करीव ३ सय माइक्रोग्राम आयोडिन उपभोग गरिने सम्भावना हुन्छ । लिमिटेडका अनुसार हाल ९० प्रतिशत नेपालीमा आयोडिनयुक्त नुन उपभोग गर्छन । आयोडिनयुक्त नुनको पहुँचका हिसावले नेपाल दक्षिण एसियामै पहिलो हो ।

१ लाख ८२ हजार मेट्रिक टन नुन आयात
लिमिटेडका अनुसार गत आर्थिक वर्ष (आव) २०७/७३ मा करीव १ लाख ८४ हजार मेट्रिक टन नुन आयात भएको छ । आव २०७१/७२ मा १ लाख ८२ हजार मेट्रिक टन नुन आयात भएको थियो ।

प्रतिकिलो नुनमा ६ रुपैयाँ घाटा

लिमिटेडका अनुसार प्रतिकिलो नुन कारोबारमा लिमिटेडलाई ६ रुपैयाँ घाटा छ । लिमिटेडका विभागीय प्रवन्धक ब्रजेशकुमार झाका अनुसार एक किलो नुनमा लिमिटेडको झण्डै २२ रुपैयाँ लगानी पर्छ । समयसापेक्ष नुनको मूल्यमा समायोजन गर्नुपर्ने लिमिटेड बताउँछ । बिहिवार, पौष २१, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam