Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

उपभाेक्ता

पेट्रोलियम पाइपलाइन राष्ट्रिय प्राथमिकतायुक्त आयोजना घोषित, पेट्रोलियम पदार्थको भाउ सस्तिने

काठमाडौं, २४ पुस –सरकारले निर्माणधिन नेपाल –भारत पेट्रोलियम पाइपलाइनलाई राष्ट्रिय प्राथमिकतायुक्त आयोजना घोषणा गरेको छ ।

राष्ट्रिय योजना आयोगले यही पुस ६ गते उक्त आयोजनालाई राष्ट्रिय प्राथमिकतायुक्त आयोजनामा समावेश गरिसकेको आयोगका प्रवक्ता खोमराज कोइरालाले लोकान्तरलाई जानकारी दिए ।

आयोजनाको महत्व, आयोजना सम्पन्न गर्न लाग्ने बजेट, आयोजनाको परिणाम लगायतका मूल्याङ्कनका आधारमा आयोजनालाई राष्ट्रिय प्राथमिकतायुक्त आयोजना घोषित गरिएको आयोगले बताएको छ ।

पेट्रोलियम पदार्थमा परनिर्भर नेपालले आपूर्तिमा अनेकौं असहजता व्यहोर्दै आएको छ । पाइपलाइन बनेपछि पेट्रोलियम पदार्थ आयातमा सहज आउने विश्वास गरिएको छ ।

यो आयोजना अमलेखगञ्जदेखि रक्सौलसम्मको ४१ किलोमिटर लम्बाईमा अहिले पाइपलाइन निर्माणको प्रक्रिया अघि बढेको छ ।

नेपाल र भारतको संयुक्त लगानीमा आयोजना निर्माण प्रक्रिया अघि बढेको छ । पाइपलाइन निर्माणका लागि झण्डै साढे ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पाइपलाइन निर्माणका लागि ३ अर्ब २० करोड रूपैयाँ भारत सरकारले बेहोर्ने छ भने बाँकी १ अर्ब २० करोड रूपैयाँ नेपाल सरकारले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

पाइपलाइन निर्माणका लागि अमलेखगन्ज–रक्सौल पाइपलाइनले ओगट्ने क्षेत्रका करीव २५ हजार रूख काट्नु पर्ने नेपाल आयल निगमले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, पाइपलाइन निर्माणका लागि सडक छेउका करीव ४ हजार घरटहरा भत्काउनुपर्ने प्रतिवेदनमा जनाइएको छ । पाइपलाइन विछ्याउन साढे ३३ हेक्टर जमिन चाहिने प्रतिवेदनले सुझाएको छ ।

राष्ट्रिय प्राथमिकतायुक्त आयोजनामा पर्दा आयोजनाको काम सम्पन्न गर्न सजिलो हुन्छ । यसअघि आपूर्ति मन्त्रालयले पाइपलाइनलाई राष्ट्रिय गौरवको आयोजनामा पार्न सिफारिस गरे पनि आयोगले प्राथमिकतायुक्त आयोजनामा समावेश गरेको हो ।

लामो समयदेखि चर्चामा रहेकोे पाइपलाइन निर्माण गर्न ०७२ भदौ ७ गते नेपाल र भारतबीच औपचारिक सम्झौता भएको थियो ।

पाइपलाइन बनेपछि ढुवानी लागतमा कमी आउने छ भने पेट्रोलियम पदार्थको गुणस्तर कायम हुनेछ । पाइपलाइन बनेपछि पेट्रोलियम पदार्थको भाउ पनि हालको भन्दा सस्तिने छ ।

आयोगका अनुसार मुलुकभर ४ सय ८४ आयोजनालाई राष्ट्रिय प्राथमिकतायुक्त आयोजना घोषणा गरिएको छ ।
जसमध्ये कार्यक्रम १ मा ३ सय ५३ आयोजना, कार्यक्रम २ मा १ सय १३ र कार्यक्रम ३ मा १८ आयोजना छन् । पाइपलाइन पहिलो कार्यक्रममा पर्ने आयोगले बताएको छ । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell