Ruslan
Tata /sipradi
Nic Asia

उपभाेक्ता

चिनीको भाउ एक महिनामै प्रतिकिलो १० रुपैयाँले बढ्यो

लोकान्तर संवाददाता

काठमाडौं, २४ मंसिर – ठीक एक महिना अघिसम्म प्रतिकिलो ८० रुपैयाँमा चिनी खरिद गरेका उपभोक्ताले अहिले ९० रुपैयाँ तिरिरहेका छन् । छठअघिसम्म चिनीको मूल्य प्रतिकिलो ८० देखि ८५ रुपैयाँको बीचमा थियो । तर एकै महिनाको अवधिमा चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको छ ।  
सरकारले प्रभावकारी हस्तक्षेप र अनुगमन नगर्दा र बजारले आफूखुशी मूल्य कायम गर्दा आम उपभोक्ता मारमा परेका छन् । चिनीको मूल्य बढ्नुमा सरोकारवाला निकायले एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।

मूल्य बढ्नु अस्वाभाविक

चिनीको बिक्री गर्ने साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले मूल्य बढ्नु अस्वाभाविक भएको बताएको छ । लिमिटेडका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले व्यापारीले अस्वाभाविक रूपमा चिनीको मूल्य बढाएको बताए ।  ‘अहिले चिनीको मूल्य प्रतिकिलो ८० देखि ८५ रुपैयाँको बीचमा हुनुपर्छ,’ राजभण्डारीले लोकान्तरसँग भने । सोही अनुसारको मूल्य कायम गर्नेगरी लिमिटेडले व्यापारीलाई चिनी बेचिरहेको उनले बताए ।

भण्डारीले लिमिटेडसँग चिनीको पर्याप्त भण्डारण रहेको बताए । तर पर्याप्त भण्डारण भएपनि चिनीको मूल्य बजारमा एक महिनाकै अवधिमा १० रुपैयाँ बढ्दा कुनै पनि हस्तक्षेप हुन सकेको छैन । नून, चिनी लगायतका अत्यावश्यकीय वस्तुको स्वाभाविक बजारमूल्य कायम राख्ने काम सरकार माताहतको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गर्दै आएको छ । बजारमा यी वस्तुको मूल्य अस्वाभाविक भए लिमिटेडले आफ्नो भण्डारणमार्फत बजार हस्तक्षेप गर्छ ।

साल्ट ट्रेडिङले बढाएकाले हामीले पनि बढाएका हौं : व्यवसायी

यता व्यवसायीले भने साल्ट ट्रेडिङले मूल्य बढाएका कारण आफूहरूले पनि मूल्य बढाएको बताएका छन् । ‘प्रतिकिलो ८० देखि ८५ रुपैयाँमा बेच्न त हामीलाई पनि लिमिटेडले सोही अनुसार चिनी बेच्न सक्नुप—यो नि !’ नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले भने । उनका अनुसार लिमिटेडले हाल प्रतिकिलो करीब ८४ रुपैयाँमा चिनी व्यापारीलाई बेचिरहेको छ ।
‘लिमिटेडले सस्तोमा दिए हामी पनि मूल्य घटाउँछौं,’ उनले थपे । मूल्य बढ्नुमा मुख्य दोषी लिमिटेड नै रहेको उनले दाबी गरे ।

तराई क्षेत्रमा उखु भित्र्याउने सिजन पनि शुरू भइसकेकाले उत्पादन बढ्नासाथ चिनीको मूल्य घट्नुपर्ने उनले बताए । उता किसानहरूले भने गएको वर्ष बेचेको उखुको मूल्य अहिलेसम्म नपाएको बताएका छन् । शुक्रवार, मंसिर २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon