Nic Asia
cocacola

उपभाेक्ता

१५ वर्षमा साढे ७ सय प्रतिशतले बढ्यो खाना पकाउने ग्यासको माग

काठमाडौं, २८ पुस – नेपालमा खाना पकाउने एलपी ग्यासको खपत बर्सेनि अत्यधिक दरमा बढ्दै गएको देखिएको छ । नेपाल आयलका अनुसार विगत १५ वर्षको अवधिमा ग्यासको खपत झण्डै साढे ७ सय प्रतिशतले वृद्धि भएको छ ।

निगमका अनुसार आर्थिक वर्ष २०५६/५७ मा नेपालले ३० हजार ६ सय २७ मेट्रिक टन एलपी ग्यास आयात गरेको थियो । तर १५ वर्षको अवधिमा ग्यासको उक्त आयात ७ सय ४३ प्रतिशतले वृद्धि भएको निगमको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७१/७२ मा नेपालले कुल २ लाख ५८ हजार २ सय ९९ मेट्रिक टन ग्यास आयात गरेको थियो ।

भारतीय नाकाबन्दीका कारण भने गत वर्षको ग्यास आयातमा कमी आएको थियो । गत आवमा नेपालमा २ लाख १४ हजार २ सय ६३ मेट्रिक टन ग्यास आयात भएको निगम बताउँछ ।

निगमका अनुसार हाल एलपी ग्यासको माग मासिक झण्डै २८ हजार मेट्रिक टन छ । निगमका अनुसार विगत १५ वर्षमा ग्यासको वार्षिक खपत औषतमा २५ प्रतिशतले वृद्धि भइरहेको छ ।

बढ्दो शहरीकरण, खपतमुखी अर्थतन्त्र, इन्धनका लागि भरपर्दो विकल्प, कम प्रदुषण हुने लगायतका कारण ग्यासको खपत बढेको निगमको ठहर छ । विगतमा ग्यासको खपत र मागलाई आधारमा मान्दा आगामी १५ वर्षमा ग्यासको खपत अझै उच्च गतिमा बढ्दै जाने निगमको प्रक्षेपण छ ।

आगामी २०८६÷८७ सम्ममा ग्यासको खपत वार्षिक झण्डै १५ लाख मेट्रिक टन पुग्ने निगमको प्रक्षेपण छ । जसअनुसार आगामी डेढ दशकमा ग्यासको खपत मासिक झण्डै सबा लाख पुग्नेछ । त्यस्तै, आगामी ५ वर्षमै ग्यासको माग मासिक झण्डै ४० हजार मेट्रिक टन पुग्ने निगमको अनुमान छ ।

नेपालीहरूको जीवनशैलीमा आएको परिवर्तन र विलासी बानीले गर्दा खाना पकाउने ग्यासको आयात बढेको अनुमान गरिएको छ । पछिल्ला वर्षहरूमा गाउँमा पनि दाउराको सट्टा ग्यासमा खाना पकाउने प्रचलन बढेको छ । ग्यासको बढ्दो खपतले इन्धनको परनिर्भरता झन् बढाएको छ ।

पेट्रोल, डिजेल र हवाई इन्धनको खपत पनि उस्तै

निगमका अनुसार सोही अवधिमा पेट्रोल, डिजेल र हवाई इन्धनको माग पनि उच्चदरले बढेको छ । निगमका अनुसार विगत १५ वर्षमा पेट्रोलको खपत ४ सय १७ किलोलिटर, डिजेलको खपत १ सय ८२ किलोलिटर र हवाई इन्धनको खपत १ सय ३९ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०५६÷५७ मा ५५ हजार ५ सय किलोलिटर पेट्रोल, २ लाख २७ हजार ४ सय २७ किलोलिटर डिजेल र ६५ हजार ६ सय २० किलोलिटर हवाई इन्धन आयात भएको थियो ।

निगमका आर्थिक वर्ष २०७१÷७२ मा पेट्रोल, डिजेल र हवाई इन्धनको आयात क्रमशः २ लाख ८७ हजार ४ सय ७३ किलोलिटर, ९ लाख २१ हजार ४ सय १४ किलोलिटर र १ लाख ४१ हजार ४ सय १४ किलोलिटर थियो । गत आवमा नेपालले २ लाख ६९ हजार ६ सय ७० किलोलिटर पेट्रोल, ७ लाख ८५ हजार ७ सय ५१ किलोलिटर डिजेल र ८३ हजार ८ सय १९ किलोलिटर हवाई इन्धन आयात गरेको थियो ।

आगामी १५ वर्षमा पेट्रोल, डिजेल र हवाई इन्धनको खपत क्रमशः १५ लाख ८७ हजार ३ सय ३४ किलोलिटर, ३३ लाख ५१ हजार ८४ किलोलिटर र ६ लाख ७४ हजार ६ सय २७ किलोलिटर पुग्ने निगमको प्रक्षेपण छ । आगामी डेढ दशकमा पेट्रोलको वार्षिक औसत माग १२ प्रतिशत र डिजेलको औसत ९ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

पेट्रोलियम पदार्थको बढ्दो खपतलाई मद्देनजर गरेर हाल निगमले पेट्रोलियम तथा ग्यास पाइपलाइन र भण्डारण क्षमता वृद्धिका प्रक्रिया अघि बढाइरहेको छ । निगमसँग हाल करीब एक सातालाई मात्र धान्न सक्ने पेट्रोलियम भण्डारण क्षमता छ । एलपी ग्यासको खुद्रा बिक्री गरिरहेको निजी क्षेत्रसँग मुश्किलले १५ दिनसम्मको पनि मौज्दात राख्ने क्षमता छैन ।

हाल निगमले करीब तीन महिनाको मागलाई धान्न सक्नेगरी पेट्रोलियम तथा ग्यास भण्डारण क्षमता विस्तारमा लागेको छ । बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti