Ruslan
Tata /sipradi
Nic Asia

उपभाेक्ता

सस्तिँदै पहेंलो धातु, किन घट्यो सुनको भाउ ?

सुवास भट्ट

काठमाडौं, २६ मंसिर – विवाहको मुख्य सिजन मंसिरमा सुनको भाउ लगातार ओरालो लागिरहेको छ । मंसिर महिनाभरि सुनको भाउ घट्दो क्रममा रह्यो । मंसिर १ गते प्रतितोला ५५ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आइतवारसम्म आइपुग्दा ३ हजार रुपैयाँले घटेर ५२ हजार ६ सय रुपैयाँमा झरेको छ ।


कात्तिक महिनाको मध्यतिर प्रतितोला झण्डै ५८ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ मंसिर महिना लागेयता लगातार घटेको हो ।

नेपालमा मुख्य वैवाहिक सिजनमा महंगिनुपर्ने सुनको भाउ घट्दा यसपाली अधिकांश विवाहित जोडीले सुन खरिदमा सहुलियत पाएको महसूस गरे ।

अझै घट्न सक्छ सुनको भाउ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउमा अझै गिरावट आउन सक्छ । ‘अझै केही समय सुनको भाउ घट्ने सम्भावना देखिन्छ,’ महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले लोकान्तरसँग भने । बढी कारोबार हुने मुख्य सिजनमै भाउ ओरालो लाग्नु र सुन महंगिनुको अन्तर्राष्ट्रिय कारणमा खासै बदलाव नदेखिने स्थितिका कारण भाउ अझै घट्न सक्ने महासंघको दाबी छ ।

किन घट्यो सुनको भाउ ?
  • अन्तर्राष्ट्रिय कारण
नेपाली सुन बजार अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष प्रभावित छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि बढ्ने र घट्दा यहाँ पनि घट्ने हुन्छ ।

खासगरी अमेरिकी अर्थतन्त्र सुध्रिँदै जानु, रोजगारीका अवसर फैलिनु लगायतका कारण सुनको भाउ घटेको महासंघको दाबी छ । अमेरिकी अर्थतन्त्र मजबुत हुँदा डलर थप बलियो बन्दा सुनको भाउ ओरालो लागेको हो । डलर र सुनको भाउबीच विपरीत सम्बन्ध हुन्छ ।

‘अमेरिकामा लगानीका अन्य क्षेत्रमा सुधार आएपछि सुनमा लगानी घट्यो’ महासंघका निवर्तमान अध्यक्ष शाक्यले थपे, ‘यसले भाउ घटाउनमा सहयोग मिलेको देखिन्छ ।’
अमेरिका विश्वमै सबैभन्दा बढी सुन भण्डारण भएको मुलुक हो ।

  • अमेरिकामा ट्रम्पको उदय
महासंघका अनुसार अमेरिकाको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको उदयसँगै सुनको भाउ लगातार ओरालो लाग्न थालेको हो । ‘ट्रम्पका आर्थिक नीतिले सुनको भाउ ओरालो लाग्न मद्दत गरेको देखिन्छ,’ महासंघका निवर्तमान अध्यक्ष शाक्यले भने । विश्व अर्थतन्त्रमा ट्रम्पको सकारात्मक धारणाले भाउ घटाउन मद्दत पुगेको महासंघ बताउँछ ।

त्यस्तै, फेडरल बैंक अफ अमेरिकाको ब्याजदर घटाउने निर्णयले पनि सुन बजारमा प्रभाव पारेको महासंघको दाबी छ ।

  • भारु प्रतिबन्ध
आतंकवाद र कालोधनविरुद्ध लड्न ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाउने भारत सरकारको निर्णयले पनि सुन बजारमा प्रभाव पारेको महासंघ बताउँछ । ती नोटमा प्रतिबन्ध लगाउँदा भारतमा सुनको कारोबारमा अत्यधिक गिरावट आएको छ । यसले पनि भाउ घटाउन सहयोग पु—याएको संघ बताउँछ ।

  • पुरानो सुनको मौज्दात
महासंघका अनुसार व्यवसायीहरूसँग अहिले पनि पुराना सुनको मौज्दात छ । यसले नयाँ सुनको माग घटाएको छ । नयाँ सुनको माग नहुँदा पनि भाउ घट्न सहयोग मिलेको महासंघ बताउँछ ।

सुनको माग घट्यो
यसैगरी महासंघका अनुसार केही दिनयता सुनको मागमा पनि गिरावट आएको छ । मंसिर महिना सकिन लागेकाले सुनको माग घटेको महासंघ बताउँछ ।
केही दिनअघिसम्म दैनिक ३५ किलोसम्म कारोबार भएको सुन हाल २५ किलोमात्र रहेको महासंघले जनाएको छ ।
आइतवार, मंसिर २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam