Ruslan
Tata /sipradi
Nic Asia

उपभाेक्ता

३४ हजार नेपाली भोकै ! तत्काल मानवीय सहायता आवश्यक

सुवास भट्ट

काठमाडौं, ५ मंसिर – चौतीस हजार नेपाली उच्चतम खाद्य असुरक्षित अवस्थामा पाइएको छ । कृषि विकास मन्त्रालय, विश्व खाद्य कार्यक्रम, नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली र युकेड (बेलायत सरकार)को सहयोगमा गरिएको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।


प्रतिवेदनका अनुसार मुलुकभरका ३१ गाविसहरू उच्चतम खाद्य असुरक्षित अवस्थामा छन् ।

उच्चतम खाद्य असुरक्षित ती गाविसका घरधुरीहरू खाद्य उपभोग अभावको उच्चतम अवस्थामा वा जीविकोपार्जनका साधनहरूको घट्दो परिस्थितिबाट मात्र न्यूनस्तरको खाद्य आवश्यकता पूरा गर्न सक्ने अवस्थामा रहेको प्रतिवेदनले औंल्याएको छ ।

७४ जिल्लाका जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले चालू आर्थिक वर्ष (आव) को प्रथम चौमासिक अवधिमा मुलुकको समग्र खाद्य अवस्थितिको अध्ययन गरेका थिए ।

प्रतिवेदनका अनुसार मुलुकभरका १ सय ७५ वटा गाविसहरू मध्यमस्तरीय खाद्य असुरक्षित अवस्थाको चरणमा रहेका छन् । यस अवस्थामा घरधुरीहरूले परम्परागत निर्वाह पद्धति अपनाएर न्यूनतम खाद्य आवश्यकताहरू परिपूर्ति गर्न सक्षम हुन्छन् ।

तर यस चरणमा केही अत्यावश्यक गैरखाद्य आवश्यकताका लागि भने पछि परिपूर्ति गर्न नसकिने खालका निर्वाहपद्धतिहरू नअपनाई उक्त आवश्यकता पूरा गर्न सक्दैनन् ।

त्यस्तै, मुलुकभरका ३ हजार १ सय ५९ गाविस तथा नगरपालिका न्यूनतम खाद्य असुरक्षित अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ । न्यूनतम खाद्य असुरक्षित अन्तर्गत जीविकोपार्जनका पद्धतिहरू परिवर्तन नगरिकन खाद्य तथा गैरखाद्य आवश्यकता पूरा गरिरहेका घरधुरी पर्छन् ।

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले खाद्य सुरक्षाको अवस्थालाई एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणको विधिमा आधारित रही हरेक गाविस र नगरपालिकाहरूलाई न्यूनतम खाद्य असुरक्षित अवस्था, मध्यमस्तरीय खाद्य असुरक्षित अवस्था, उच्चतम खाद्य असुरक्षित अवस्था, गम्भीर खाद्य असुरक्षित अवस्था र मानवीय आपतकालीन अवस्थामा विभाजन गरेको थियो ।

प्रतिवेदनले २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट प्रभावित गोरखा, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकका केही गाविसहरूलाई उच्चतम खाद्य असुरक्षित अवस्थामा रहेको औंल्याएको छ ।

भूकम्पपछिको पुनर्निर्माणको कार्य ढिलो हुनु, हिउँदे बालीमा ह्रास आउनु, सरसफाइ र स्वास्थ्यको अवस्था नराम्रो हुनु, बाढी पहिरोको कारण सडक र बाटोघाटोहरू बन्द हुँदा यस्तो अवस्था खेप्नुपरेको जनाएको छ । तर पछिल्लो समय यसमा क्रमिक सुधार आइरहेको प्रतिवेदनमा उल्लेख छ ।

मध्य तथा सुदूर पश्चिमका धेरै जिल्लामा कार्तिक २०७२ देखि असार २०७३ सम्म खाद्य सुरक्षा अवस्था खस्केको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले हुम्ला, डोल्पा, जुम्ला र दार्चुलामा विभिन्न बालीको उत्पादनका कारण खाद्य अवस्थामा सुधार आएको देखाएको छ । तर डोल्पा, हुम्ला, मुगु, बाजुरा र कालिकोट जिल्लाका धेरै गाविस भने मध्यमस्तरीय खाद्य असुरक्षित अवस्थाको चरणमा रहेका छन् ।


गोरखा सबैभन्दा असुरक्षित

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले ४ जिल्लाका ३१ गाविसहरूमध्ये गोरखाका ११ गाविस, नुवाकोटका ९, धादिङका ५, र सिन्धुपाल्चोकका ६ गाविस उच्चतम खाद्य असुरक्षित रहेको प्रतिवेदनमा जनाइएको छ ।

उच्चतम खाद्य असुरक्षित मानिसहरूलाई मानवीय सहायता आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

गम्भीर खाद्य असुरक्षित अवस्था आउने चेतावनी
प्रतिवेदनले आगामी दिनमा खाद्य असुरक्षाको अवस्था थप गम्भीर बन्नसक्ने चेतावनी दिएको छ । समग्रमा जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले मंसिरदेखि फाल्गुन २०७३ सम्मको अवधिमा खाद्य सुरक्षाको अवस्था खस्कन गई गम्भीर खाद्य असुरक्षा आउन सक्ने बताएको प्रतिवेदनमा जनाइएको छ । मंगलवार, पौष ५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon