जनकपुरधाम १४ भदौ– धनुषाका डा.लक्ष्मीनारायण झाको अवस्था विगत ३२ बर्षदेखि अज्ञात रहेको छ । राज्यले पक्राउ गरी बेपता बनाइएका डा.झाको अवस्था हालसम्म सार्वजनिक हुन सकेको छैन । नेपाली कांग्रेसले पञ्चायती व्यवस्था विरुद्ध सत्याग्रहको तयारी गरिरहेकै बेला डा.झा बेपत्ता पारिएका थिए ।
विक्रम संवत २०४२ अषाढ १२ गते नारायणहिटी दरबारको मुख्यद्धार र राष्ट्रिय पञ्चायतको बैठक कक्ष नजिक बम विष्फोटन भएको घटनापछि डा. झा बेपत्ता बनाइए । उक्त बम विष्फोटनको जिम्मेवारी भारतको पटनामा भूमिगत रहेका नवजनवादी मोर्चाका संयोजक रामराजा प्रसाद सिंहले लिएका थिए । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति पदको उम्मेदवार बनेका सिंहको केही वर्ष अघि निधन भइसकेको छ ।
घटना पश्चात देशका विभिन्न ठाउँबाट सयौँ मानिसहरुलाई गिरफ्तार गरिएको थियो । कतिपय छुटे तर धुनषाका डा. लक्ष्मीनारायण झा, पदम बहादुर मोक्तान, इश्वरचन्द्र लामा, सत्यनारायण साह, सूर्यनाथ राय यादव, सप्तरीका साकेत चन्द्र मिश्र, दिलिप चौधरी, सँखुवासभाका महेश्वर चौलागाइ हालसम्म बेपत्ता नै छन् ।
पञ्चायतकालबाट मुलुकमा प्रजातन्त्र हुँँदै गणतन्त्र समेत आइसक्यो तर पनि तिनीहरुको अवस्थाबारे राज्यले औपचारिक रुपमा केही पनि बोलेको छैन् ।
राज्यद्वारा पक्राउ गरी बेपत्ता पारिएका डा.लक्ष्मीनारायण झाको अवस्था सार्वजनिक गर्न उनका भाई अशोक कुमार झाले नेपाल सरकारसँग आग्रह गरेका छन् । राज्यले गिरफ्तार गरेको हुनाले उनको अवस्थाबारे सत्य तथ्य पनि जानकारी गराउनु राज्यको नै दायित्व रहेकाले राज्यले प्रष्ट रुपमा भन्नु पर्ने परिवारको माग छ ।
‘मेरो दाई डा. लक्ष्मिनारायण झाको अवस्थाबारे बताईदिनु पर्यो । उहाँलाई कुन जेलमा राखिएको छ वा राज्यले हत्या नै गरिदिएको हो भने त्यो रहस्य पनि सार्वजनिक गर्नु पर्यो । मेरो दाइको कि त लाश दिनु पर्यो कि त श्वास दिनुपर्यो’ डा झाका भाइ अशोक कुमार झा भन्छन ।
उनले आफ्ना दाइ कुनै देशद्रोही व्यक्ति नभएपनि राज्यले पक्राउ गरेर बेपत्ता बनाएको बताए । ‘दाइको अवस्थाबारे हामी अझसम्म अनभिज्ञ छौँ । हामीले उनको सदगत समेत गरेका छैनौँ किनभने हामीलाई अझसम्म पनि के आशा र भरोसा छ भने उनी जिवितै छन्’ भाइ अशोकले भावुक हुँदै भने ।
‘यदि राज्यले उनको हत्या नै गरिदिएको हो भने उनको लाश हामीलाई दिनसक्नु पर्यो । त्यसपछि हामी उनको सँस्कार गर्ने छौँ’ उनले भने ।
को हुन डा. लक्ष्मीनारायण झा ?
धनुषाको देवडिहा ८ का पिता नागेश्वर झा र आमा अन्नपूर्ण देवी झाको कोखबाट २००६ साल माघ महिनामा जेठो छोराका रुपमा जन्मिएका लक्ष्मीनारायण झा नगराईन स्थित राजेश्वर निधि माध्यमिक विद्यालयबाट एस.एल.सी परीक्षा उतीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौँ गएका थिए ।
काठमाण्डौमा अमृत साइन्स क्याम्पसबाट उनी आइएससी प्रथम श्रेणीमा उतिर्ण भएका थिए । चिकित्सा सँकायमा अध्ययनका लागि झा भारतको मुम्बई प्रस्थान गरे । दश वर्ष पछि एम.बि.बि.एस., एम.एस. गरि गाऊँ फर्केका डा. एल .एन झाले २०३८ सालमा गाऊँँमै बजरँग मेडिकल आश्रम सञ्चालन गरि रोगीहरुको निशुल्क उपचार गर्न थाले ।
‘आँखाको उपचार बाहेक उनी सबै रोगको जाँच गर्दथे । यहाँसम्म कि कसैको अपरेशन गर्नु पर्दा बिना एनेस्थेसियाकै पनि सफल शल्यक्रिया गर्नु हुन्थ्यो’ झाका प्रथम कम्पाउन्डर डेवडिहा ७ कै सत्यनारायण झा सम्झन्छन् ।
‘गाउँमा सडकको अभाव थियो । त्यसपछि उनी आफै सडकमा माटो पुरेर सडक बनाउन जुटिहाल्थे । सिँचाईको लागि नहर तथा पैनी खन्थे । यसरी सडक निर्माण शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गाउँमै विकासका लागि योगदान पुरयाउने डा. झाले खिरखिरीयामा पोष्ट ओफिस हुदाँ हुदैँ पनि आफ्नो गाउँका मानिसको सञ्चारका लागि १५ नम्बरको छुटै पोष्ट ओफिस बक्स लिएका थिए’ सत्यनारायणले भने ।
त्यसै वर्ष सुधारिएको पञ्चायती व्यवस्थाको नारा दिएर गराईएको गाविस चुनावमा उनले आफ्ना गाउँका वडा नम्बर ७ र ८ का तर्फबाट चुनाव वहिष्कार नै गराए । त्यसैबेला सुधारिएको पञ्चायती व्यवस्थाको सन्दर्भमा के हामी मधेसी नेपाली हाँै ? सरकारी निकायको हरेक तह तप्कामा जनसँख्याको अनुपातमा हामी मधेसीको समानुपातिक सहभागिता छ लगायतका करिब ४० वटा प्रश्नहरुको प्रश्नावली बनाएर चुनाव बहिष्कार गरेका थिए ।
जनकपुरस्थित संकटमोचन विद्यालयमा पढाउने शिक्षकहरु जयकृष्ण मिश्र, वैद्यनाथ मिश्र, मिथलेश मिश्र, रामेश्वर झा, महिमाचन्द्र ठाकुर लगायतका सहयोगमा उक्त प्रश्नावली तयार गरिएको थियो । हरिदेव मंडल, एलएन झा र उनका कम्पाउन्डर लगायतले दुई पृष्ठको उत्तर समेत तयार पारे ।
उत्तर लिएर सिरहा गएका सिरहाका एक जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरर्यो । पक्राउ परेका उक्त विद्यार्थीले एल.एन झाले उत्तर लेखेको बताएपछि झालाई भानु चौकको अन्नपुर्ण क्लिनिकबाट विहान ७ बजेतिर पक्राउ गरि सिरहा लगियो ।
त्यतिबेला गाउँबाट उनी जनकपुर आएर क्लिनिक सँचालन गर्न थालेका थिए । उक्त घटना २०३९ साल भदौ तिरको हो । उनलाई पक्राउ गरेर लगेपछि बयानका क्रममा झाले राजतन्त्रको विरुद्धमा कुरा गरेपछि बयान लेख्ने कुरै आएन ।
त्यसपछि उनलाई सेनाको मेजर कहाँ लगियो तर पनि उनको बयान फेरिएन । पक्राउ परेको करिब ९ महिना पछि उनी जेलबाट रिहा भए । रिहा भएर जनकपुरमा २०४० देखि २०४२ साल सम्म आमा अन्नपूर्णको नाउँमा विद्यापति चौकमा अन्नपूर्ण आश्रमको नामले उनले क्लिनिक सञ्चालन गर्न थालेका थिए ।
यता राजा विरोधी भनेर डा. झाको लोकप्रियता गाउँ समाजमा बढदै गएको थियो । त्यही चर्चा सुनेर भारतमा भूमिगत भई सशस्त्र सँघर्षको तयारी गरिरहेका नवजनवादी मोर्चाका संयोजक रामराजा प्रसाद सिँहले उनलाई भेट गर्नका लागि बोलाए ।
सिँहलाई भेट्न केही साथीहरु सहित डा.झा भारतको सितामढी गए । त्यहाँ राजाको विरुद्ध लडाई लड्न सिंहले आफूसँगै हतियार उठाउन झालाई उत्प्रेरित गरे ।
‘म अहिले पनि राइफल लिएर १० किलोमिटर सम्म दौड्न सक्छु, आउ म सँगै मिलेर सँघर्ष गरौं भनेर सिंहले डा. झा सामु प्रस्ताव राखेका डा झालाई नजिकबाट चिनेकाहरु बताउछन् । डा झाको भनाइ चाही ‘हेर्नुस त्यो फलामको चक्कुमा मलाई विश्वास छैन । म आध्यात्मीक मान्छे, बरु तपाई पनि आफ्नो कार्यकर्ताहरुलाई हनुमान चालिसा पढ्न लगाउनुस, नैतिकवान बन्नुस् र बनाउनुस् । हिँसाको कुनै आवश्यकता नै छैन । शान्तिपुर्ण मार्गबाट नै सबै कुरा सम्भव छ ।’
झा शान्तिपूर्ण सँघर्ष चाहन्थे । त्यसकारण रामराजा प्रसाद सिंहको प्रस्तावलाई अस्विकार गर्दै उनी त्यहाँ बाट फर्किए । त्यसपछि सेना र प्रहरीले पनि सिँहसँग भेटेर आएको खबर थाहा पाएपछि झा माथि निगरानी बढाए ।
त्यसैबेला २०४२ साल अषाढ १२ गते दरबारमा बम काण्ड भयो । घटनाको जिम्मेवारी रामराजा प्रसाद सिंहले लिए । सोही घटनामा सँलग्न भएको हुन सक्ने आरोपमा क्लिनिकबाटै झालाई पक्राउ गरियो । बम काण्ड भएपछि विहानै देखि पुलिसले उनको आश्रमलाई घेरा हालेको थियो ।
तत्कालिन एसपी नारायण सिंह गुरुङ्गले प्रहरीको टोली पठाई छापामारी गर्न समेत लगाएका थिए । उनको घरमा हतियार तथा बम बारुद हुन सक्ने भन्दै प्रहरी टोली छापामारी गरेको थियो । तर, उनको घरबाट अर्थात आश्रमबाट मात्र हिन्दु धर्म ग्रन्थका पुस्तकहरु बरामद भएको थियो ।
दुईवटा धार्मिक ग्रन्थको किताव लिएर पुलिसले उनलाई पक्राउ गरी धनुषाको एसपी आफिसमा राख्यो । उनका भाई अशोक झाका अनुसार करिब १०÷१५ दिनसम्म उहाँलाई धनुषाको एसपी आफिसमा राखिएको थियो । ‘हामी त्यहाँ भेट्न जान्थ्यौँ र त्यहाँ हिरासतमा उनी रहेको बेला मैले कतिपय प्यासेन्टहरुलाई पनि चेक जाँच गर्न लगाएका थियौं । जनकपुरमा उनलाई धेरै असुविधा वा कुनै किसिमको यातना प्रशासनले दिएको थिएन । तर, उनलाई रिहा गराउन जनदवाव सिर्जनागर्न गाउँबाट हजारौं मानिसहरु जनकपुर आउन लागेको थाहा पाएपछि प्रशासनले उनलाई काठमाण्डौको हनुमान ढोका पठाईदियो’ भाइ अशोकले लोकान्तरसँग भने ।
अशोक झाका अनुसार त्यहाँ काठमाण्डौमा एक अर्को दाइले खाना लिएर भेट्न जाँदा उनलाई भेट्न दिइँदैनथ्यो, खानेकुरा लिएर पठाइदिन्थ्यो । छतबाट उनको अनुहार देखाउन लगाइन्थ्यो । पछि त्यो पनि बन्द भयो ।
झाका बुवा नागेश्वर झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा चलाएपनि सरकारले समातेकै छैन भनेर जवाफ दिएको थियो । झाका बुवा नागेश्वर टँक प्रसाद आचार्यको सरकारमा वन सहायक मन्त्री पनि भएका थिए ।
२०४६ सालको आन्दोलन पछि देशमा बहुदल घोषणा भयो । त्यसै क्रममा धनुषाका तत्कालिन एसपी नारायण सिँह गुरुङ्गलाई धनुषा जिल्ला अदालतमा स्थानीयवासीले घेराउ पनि गरे । स्थानीयबासीले घेराउ गर्दा झा अहिले कहाँ छन भन्ने कुरा आफूलाई कुनै जानकारी नरहेको तत्कालिन एसपी गुरुङ्गले जवाफ फर्काएका थिए ।
झा पक्राउ परेका बेला प्रधानमन्त्री रहेका लोकेन्द्रबहादुर चन्द जनकपुर आएका थिए । जनकपुरवासीले तत्कालिन प्रधानमन्त्री चन्दलाई पनि सोही प्रश्न गर्दा उनले पनि अनभिज्ञता प्रकट गरे ।
बहुदल आएपछि कृष्णप्रसाद भटराईको नेतृत्वमा सरकार बन्यो । कांग्रेसले गरेको सत्याग्रहको क्रममा समेत बेपत्ता भएकाहरु सम्बन्धि जाँच गर्न गठित जनार्दन मल्लिकको आयोगले बुझाएको प्रतिवेदनमा महाराजगञ्ज प्रहरीले डा. झालाई रिहा गरिसकेको उल्लेख गर्यो ।
पछि ३१ जुलाई १९९० मा सूर्यबहादुर शाक्य सँयोजक, वरिष्ठ अधिवत्ता वासुदेव ढुङ्गाना, डा. सच्चे कुमार पहाडी र प्रकाश काफ्लेसहित सदस्य रहेको समितिले २१ अप्रिल १९९३ मा प्रधानमन्त्री कृष्णप्रसाद भटराईलाई बुझाएको प्रतिवेदनमा सन् १९६० यता २७ जना बेपत्ता भएको र बम काण्डमा पक्राउ परेका सात जना मध्ये पाँच जनाको मृत्यु भईसकेको उल्लेख भएको प्रतिवेदन बुझाएको थियो ।
बेपत्ता भएकालाई पनि शहीद सरह भट्टराई सरकारले प्रति व्यक्ति एक एक लाख रुपैँया क्षतिपूर्ति स्वरुप राहत दिने घोषणा गरेपछि झाका बुवाले पनि उक्त रकम बुझिलिए भनेर पनि भन्ने गरिन्छ । उनका भाइ अशोक झाका अनुसार एक लाख रुपैयाँ त्यतिबेला सरकारले दिएको त हो, तर सहिद भनेर दिएको होइन । राहत स्वरुप दिएको हो ।
झाका भाइ अशोक कुमार झालाई अहिले पनि दाइ जिवितै रहेको आशा छ । झाका कम्पाउन्डर सत्यनारायण झालाई पनि उनी जिवितै रहेको विश्वास छ । तर जनकपुरबासीले देवताको अवतार मान्ने डा लक्ष्मिनारायणको अबस्था अझै सार्वजानिक नहुदा परिवार ३२ बर्षदेखि पीडामा छन् ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...