काठमाडौं, १६ माघ-सुटिङको तयारीमा रहेको चलचित्र ‘धनपति’की नायिका सुरक्षा पन्त सरल व्यवहार, दृढ आत्मविश्वास र फराकिला सपनाहरूको आभामा छरिएकी झैं लाग्छिन् ।
टेलिभिजन प्रस्तोता, कवि, स्केच कलाकार र अभिनेत्रीका दायरामा उनले आफूलाई फिँजारेकी छिन् । झट्ट हेर्दा उनी व्यावसायिक अभिनेत्री हुन् भन्ने पनि लाग्दैन । तर उनका ओजिला कुराहरूले उनको सुन्दर सोच झल्काउँछ ।
उनलाई इन्जिनियर पनि बन्नु छ अनि कलाकार पनि ।
दुई वर्षअघि आलोक नेम्वाङको चलचित्र ‘अझै पनि’ मा अभिनय गरेपछि उनलाई केही चलचित्रबाट अभिनयका लागि प्रस्ताव आयो । तर उनलाई चलचित्रमा अभिनय गर्ने रुचि खासै लागेन ।
विद्यालय तहमा पढाइमा अब्बल पन्त बुटवलको न्यु होराइजन स्कूलमा पढ्दा प्रायः प्रथम हुन्थिन् । पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि उनी सधैं अगाडि हुन्थिन् । स्कूलमा कार्यक्रम सञ्चालन गर्नु, गेम खेल्नु, स्केच गर्नु उनका लागि रुचिका विषय थिए ।
‘शायद मैले विद्यालयमा सिकेका सीपले अहिलेको सिकाइलाई सहज बनाइरहेका छन्,’ आँखा छोप्नै लागेको कपाल कानपछाडि घुसार्दै सुरक्षा भन्छिन्, ‘परिवारले मलाई डाक्टर या इन्जिनियर बनाउन चाहन्थ्यो । तर मेरो मनले सधै मिडिया क्षेत्र रोज्नका लागि कर गरिरहेको हुन्थ्यो ।’
तर मन मारेर भएपनि उनलाई परिवारको चाहना पूरा गर्नु थियो । त्यसैले उनले इन्जिनियरिङ पढ्न थालिन् । ‘डाक्टरी पढ्नुभन्दा बरू इन्जिनियरिङ पढ्यो भने आफ्नो सृजनशील खुबीलाई कतै अभिव्यक्त गर्न सकिन्छ कि भन्ने लागेर इन्जिनियरिङ पढें,’ उनी बताउँछिन् ।
जे पढेपनि उनको मनमा मिडियाप्रतिको लगाव तीव्र थियो । त्यसैले उनी मिडियामा आउन ठूलो रहर गर्थिन् । काठमाडौं टेकेपछि होस्टेलमा बसेर इन्जिनियरिङ पढ्ने ध्याउन्नमा लागिन् । तर उनको रहर र पढाइको यात्रा कतै नमिलेको हो कि भन्ने उनलाई लाग्न थाल्यो ।
सुरक्षालाई कविता फुराउन, स्केच बनाउन, फिल्म हेर्न र अभिनेताको नक्कल गर्नमा रुचि थियो । ‘इन्जिनियरिङ पढ्ने हो । सधै उही कुरा रट्ने बाहेक केही नयाँपन छैन । अनुभव नभए पढेको आधारमा मात्र फिल्डमा गएर जागिर गर्न पनि सकिन्न,’ स्नातक तह सिध्याइसकेकी सुरक्षा पढाइप्रति रोष प्रकट गर्दै थप्छिन्, ‘कुनै दिन म इन्जिनियरिङ छोड्न पनि सक्छु ।’
काठमाडौंको होस्टेलको बसाइँ । इन्जिनियरिङको पढाइ । छरिएका सपनाहरूलाई जम्मा गर्दागर्दै उनको समय बितिरहेको हुन्थ्यो । एसएलसीको रिजल्टमा विद्यालयमा छात्रातर्फ प्रथम बनेकी पन्तको प्लस दुईको मार्कशीट पनि राम्रा अंकहरूले भरिए । त्यसै आधारमा हेर्दा चाहिँ स्नातकको मार्कशीटमा उनले आफूलाई ‘टप’ भित्र राख्न सकिनन् । मध्यममा पो झरिन् । ‘पढाइमा भन्दा पनि म मिडियामा आकर्षित भएँ । त्यसबेलामा मलाई लभ लाइफ, परिवार तथा करिअरलाई लिएर अलिक बढी नै चिन्ता भएको थियो,’ उनी मुस्कुराउँदै भन्छिन् ।
बर्सेनि इमेज च्यानलले ‘इमेज भिजे हण्ट’ प्रतिस्पर्धाका आधारमा टिभीको कार्यक्रम प्रस्तोता (भिजे) चयन गर्थ्यो । उनले पनि आफ्नो सपना पूरा गर्ने उद्देश्यले प्रतियोगितामा भाग लिइन् किनकि उनलाई आफूसँग कला छ भन्ने कुरामा विश्वास बढिसकेको थियो ।
‘इमेज भिजे हण्ट’ को शीर्ष तीनमा पुगेपछि उनी बाहिरिइन् । आफूले शो छोड्नुको कारण स्पष्ट पार्दै उनी भन्छिन्, ‘टप तीन मा पुगेपछि उहाँहरूले मसँग फुल टाइम माग्नुभयो । तर त्यतिखेर मेरो इन्जिनियरिङको पढाइ चलिरहेको थियो । समय मिलाउन गाह्रो भयो ।’
लगत्तै उनलाई सगरमाथा टेलिभिजनले कार्यक्रम सञ्चालनको प्रस्ताव ग–यो । केही वर्ष त्यही च्यानलमा रहेर कार्यक्रम चलाइन् । ‘फोन इन कार्यक्रम थियो । ती कार्यक्रमले नै मेरो व्यक्तित्व विकास गर्न सहज बनायो,’ उनी थप्छिन्, ‘पछि मैले ‘इमेज भिजे हन्ट’ चलाउँदा आलोक नेम्वाङ दाइले चलचित्र ‘अझै पनि’का लागि अफर गर्नुभयो । रहरले नै मैले पहिलो चलचित्रमा अभिनय गरें ।’
आलोक नेम्वाङले उनलाई भनेका रहेछन्, ‘सधैं नेपाली चलचित्र राम्रा बनेनन् भनेर विरोध मात्र गर्छौ । एकपटक चलचित्रमा काम गरिहेर न, कस्तो हुने रहेछ ?’
आफूले चलचित्रका लागि ब्रेक पाएको महसूस भयो उनलाई । चलचित्रमा क्षेत्रमा त आइन्, तर उनलाई चलचित्र दुनियाँ आफ्ना लागि सुहाउँदो क्षेत्र लागेन ।
‘म अभिनयका लागि आउँदा जुन जोश थियो, त्यो एक्कासि सेलायो । केही पैसा लगानी गर्दैमा राम्रो कलाकार भइन्छ भन्ने सोच भएका कलाकारको बिगबिगी रहेछ । अफवाह धेरै फैलिने रहेछ,’ चिसो हुनै लागेको चिया सुरुप्प पार्दै उनले सुनाइन् ।
काठमाडौंले उनलाई अझ जिम्मेवार बनाइदियो । उता घरबाट बिहेको दबाब जोडतोडका साथ आउन थालेको थियो । त्यस अवस्थालाई स्मृतिको कुनाबाट झिकेर जस्ताको तस्तै पस्कँदै उनी भन्छिन्, ‘एकातिर आफ्ना सपना छन्, अर्कोतिर घरबाट बिहेको दबाब छ । परिवार छोड्ने कि करिअर छोड्ने भन्ने स्थिति नै आयो भन्या ।’ उनले विवाहबारे भनिन्, 'मैले हुन्छ मात्र भन्नुपर्छ केटा त लाइन लागेर अाउँछन् ।'
अन्ततः उनले आफ्नो युवाहठलाई छोडिनन् । ‘समाजले डाक्टर र इन्जिनियर पढ्न नसकेका मानिस मिडियामा आउँछन् भन्ने सोच्छ । तर मिडियामा आउन नसक्ने डाक्टर इन्जिनियर बन्छन् झैं लाग्छ मलाई त,’ उनी थप्छिन्, ‘हाम्रो समाजको डिजाइन नै गलत छ के । कलाकारिता त्यति सहज छैन नि ।’
आफ्नो पढाइ र कलाकारितालाई सँगसँगै लैजाने ध्याउन्न छ उनको । कहिलेकाहीँ आफूले लेखेका कविताको भावमा हराउने पन्त चलचित्र ‘अझै पनि’ पछि आफूलाई चित्त नबुझेर नै फिल्ममा नआएको बताउँछिन् । यद्यपि ‘धनपति’ उनको दोस्रो चलचित्र भने होइन ।
पन्तको दोस्रो चलचित्र ‘सुस्केरा’ को भर्खरै छायांकन सकिएको छ । नेपाली चलचित्रको धारभन्दा भिन्दै रहेको चलचित्रमा आफूले काम गरेको उनी बताउँछिन् । ‘धनपति’बाट जस्तै ‘सुस्केरा’बाट पनि म साँच्चिकै आशावादी छु । चलचित्र कलात्मक बनेको छ । प्रेमलाई पृथक् रूपमा प्रस्तुत गरिएको छ ।’
नेपाली चलचित्रको माहोल अझै राम्रो बनिसकेको छ भन्ने उनलाई लाग्दैन । पृथक् खालका चलचित्र नेपाली दर्शकले नरुचाएपनि यस्ता चलचित्र बन्नुपर्छ भन्ने लाग्छ सुरक्षालाई । ‘नेपाली दर्शक आर्ट फिल्मभन्दा मसालेदार फिल्ममा आर्कषित हुनुहुन्छ । तर आर्ट फिल्म बन्नुपर्छ अनि हेरिनुपर्छ,’ उनी भन्छिन् ।
युवावस्थामा उनीसँग के गर्ने भन्ने कुनै योजना थिएन । इन्जिनियरिङ त पढ्दै थिइन्, तर उनी आफंैले पढेको विषयमा खुशी थिइनन् । परिवारको खुशीका लागि पढेको विषयले उनलाई त्यति धेरै खुशी दिन सक्ने कुरा पनि भएन ।
अहिले भने उनले आफ्नो जिन्दगीको यात्राको सुन्दर स्केच बनाएकी छिन् । अहिले परिवारको पनि साथ पाएकी छिन् । अलमलमा अल्झिने उमेर पनि बिस्तारै पार हुँदै गयो । उनी भन्छिन्, ‘अहिले जिन्दगीको आफ्नै योजना बनेको छ । इन्जिनियरिङमा मास्टर्स गर्छु । त्यसपछि इन्जिनियर नै बन्छु भन्ने छैन । फरकखालको कुनै प्रोजेक्ट गर्छु । अभिनयलाई त जिन्दगीभर छोड्दिनँ ।’
तस्वीरः अशोक महर्जन
Advertisment
Advertisment