भुक्तभोगीको बकपत्र : ६० वर्षअघिको नेपालको सटीक वर्णन गर्ने पुस्तक

पुस २१, २०७५

लामो प्रशासनिक अनुभव सँगाल्नुभएका श्रीवत्सराज न्यौपानेको संस्मरण भुक्तभोगीको बकपत्रले २००७ सालको प्रजातन्त्रपछि अनि २०१७ मा त्यसको हरण गरिएको अवधिको केही समयपछिसम्मको नेपाली समाजको चित्र पाठकसामु प्रस्तुत गरेको देखिन्छ ।

लेखक न्यौपानेले २०२२ को प्रशासनिक विभाजनअघि पूर्व २ नम्बर गोश्वाराका रूपमा चिनिने रामेछाप जिल्लामा जन्मेर नेपालको पश्चिमी भागमा रहेका दुर्गम क्षेत्रहरूमा प्रशासनिक सेवा गर्नुभएको कुरा पुस्तकमा उल्लेख गर्नुभएको छ । गौंडा गोश्वारामा सिंहदरबारका स्थायी कर्मचारीलाई बडाहाकिम बनाएर पठाउने चलन रहेकोमा जुम्लाका बडाहाकिमको सहायक भएर न्यौपानेज्यू खटिनुभएको रहेछ ।


ADVERTISEMENT

त्यसरी खटिएका बडाहाकिमले जनतालाई चरम शोषण गरेर उनीहरूलाई अकारण थुन्ने, यातना दिने र ठूलो रकम दिन लगाउने गर्दा रहेछन् । तर धार्मिक तथा नैतिक संस्कारमा हुर्किएर मनमा हरिको वास हुनुभएका न्यौपानेज्यूलाई त्यो असह्य हुन्थ्यो । अनि जुम्लामा खटिएका बडाहाकिम नन्दबहादुर शाह चाहिँ शोषक मात्र नभई परपीडामा रमाउने किसिमका व्यक्ति रहेछन् । उनले अरू फटाहा कर्मचारीसँग मिलेर जुम्लाका सोझासादा जनतालाई चरम अत्याचार गरेको न्यौपानेलाई चित्त बुझ्दैनथियो । सार्वजनिक सम्पत्तिलाई व्यक्तिको नाममा सार्ने नन्दबहादुरको अन्यायी निर्णयलाई उहाँले रायबाझी गराइदिनुहुन्थ्यो ।

यसरी नन्दबहादुरको आँखाको कसिंगर बन्दै जानुभएपछि उनले न्यौपानेको ठाउँमा आफ्नो भाइ पर्ने राजबहादुर शाहलाई ल्याउने निर्णय लिए । तर न्यौपानेज्यूले यसमा विरोध जनाउनुभएपछि नन्दबहादुरले उहाँलाई रातविरात डेराबाट झिकाएर लछारपछार गर्दै थुनामा पठाए । अझ उहाँलाई ६ दिनसम्म अन्नपानी समेत नदिई राखियो । 

लेखकले आफूमाथिको यो अन्यायलाई यथार्थ रूपमा गर्नुभएको प्रस्तुतिले पाठकमा उहाँप्रति सहानुभूति अनि अन्यायी नन्दबहादुरप्रति आक्रोश जन्माउँछ । यस्ता किसिमका अन्यायहरू उक्त समयमा बाक्लै हुने गर्थे त्यसैले पहिलेको युगमा सबै राम्रैराम्रो थियो, रामराज्य थियो भन्ने तर्क गर्ने व्यक्ति सर्वथा गलत ठहर्छ । त्यतिखेर पनि समाजमा असल र खराब दुवैथरी व्यक्ति हुन्थे । अझ अहिलेको जति खुला समाज अनि सञ्चारमाध्यमको बाहुल्य नभएको अवस्थामा अन्यायका खबर पनि आमजनतामा पुग्न पाउँदैनथिए । 

तर दैवी न्याय प्रबल हुन्छ र अन्यायीले आफ्नो अत्याचार सदा सर्वदा गरिरहन पाउँदैन । नन्दबहादुरको अत्याचारको खबर गृह मन्त्रालयसम्म पनि पुग्छ र उताबाट पत्र आएर न्यौपानेज्यूलाई थुनामुक्त गरिन्छ । बडाहाकिमबाट अन्याय सहेका अनि न्यौपानेज्यू चाहिँ आफ्नो सतमा रहेको देखेका जुम्लीहरू उहाँ थुनामुक्त भएपछि खुशी भएर उहाँलाई काँधमा चढाएर बजार घुमेको वर्णनले पाठकलाई खुशी तथा भावुक बनाउँछ । पछि नन्दबहादुरलाई जरिवाना तिराउने गरी कारवाही पनि गरिन्छ ।

संस्मरणको यही घटना वर्णनले पुस्तकको शीर्षक जुराएको देखिन्छ । कुनै पनि गल्ती नगरिकन भोग्नुपरेको भुक्तभोगीले जो यथार्थ छ त्यसको वर्णन गरेर पाठकसामु बकपत्र दिएकाले पुस्तकको शीर्षक भुक्तभोगीको बकपत्र जुर्न गएको देखिन्छ । 

यस संस्मरणमा रहेको अर्को प्रसंगले पंक्तिकारलाई अभिभूत बनायो । जुम्लामा थुनामुक्त भएपछि गृह मन्त्रालयमा हाजिर गर्न बोलाइनुभएका न्यौपाने त्यहाँबाट सुर्खेतका लागि हिँड्नुहुन्छ । उहाँलाई साथ दिन एक सिपाही मानबहादुरलाई पनि खटाइन्छ । दुईजना च्याखुरेको लेकमा आइपुग्दा मुसलधारे पानी पर्छ । मानबहादुर गलेर हिँड्न नसक्ने भएपछि उहाँ उससँग छुटिट्नुहुन्छ । पानीबाट बच्नका लागि अन्धाधुन्ध दौडिँदा उहाँ चिप्लिन पुग्नुहुन्छ । त्यस्तो अवस्थामा असहाय अनुभव गरेपछि उहाँ भगवानलाई पुकार्नुहुन्छ । 

त्यसपछि लगत्तै एकजना मानिस कुकुर लखेट्दै त्यहाँ आइपुग्छन् र उहाँको खोजखबर गर्न थाल्छन् । उनैले लेकको गोठमा वास दिन्छन् अनि भोक मेटाउनका लागि रोटी बनाउन पीठो र अरू सर्दाम पनि दिन्छन् । मानबहादुर पनि त्यहाँ आइपुग्छन् र सबैजना त्यही गोठमा रात कटाउँछन् । भोलिपल्ट ती परोपकारी व्यक्तिले बाटोमा राम्ररी हिँड्न लट्ठी समेत दिन्छन् । अनि उपकारको बदलामा पैसा लिन समेत मान्दैनन् । 

उनीसँग छुट्टिएको निकै बेरपछि गाउँ पुग्दा न्यौपानेज्यू र मानबहादुर एकजना गाउँलेकहाँ पुग्छन् । कहाँबाट आयौ भनी उनले खैखबर गर्दा माथि जंगलमा वास बसेको उनीहरू सुनाउँछन् । तर गाउँलेले माथि बस्न लायक ठाउँ नै छैन, पूरै भिरालो ठाउँ त्यसमाथि पहिरो गएको, त्यहाँ गोठ हुनै सक्दैन भन्छन् । अनि त्यो दिशातिर हेर्दा साँच्चै गोठको नामोनिशानै देखिँदैन ।   

त्यहाँ गोठ उत्पत्ति हुनु, खानेकुराको प्रबन्ध मिल्नु, सुत्नलाई अवसर पाउनु सबै भगवानको लीला हुनुपर्छ भन्ने न्यौपानेज्यूको निष्कर्ष छ । ईश्वरको अस्तित्वलाई अस्वीकार गर्नेहरूले त यसलाई लेखककोे मनोभ्रान्ति मात्र मान्लान् तर आस्तिक हृदय भएका व्यक्तिका लागि यो विश्वसनीय वर्णन हो । संंसारको सृष्टि गर्ने परमात्मालाई भक्तमाथि कृपा गरेर प्राण बचाउने प्रबन्ध मिलाउनु ठूलो कुरा हैन ।

च्याखुरे लेकको यो प्रसंग पढ्दा पाठकलाई रोमाञ्चक अनुभव हुन्छ । लेखकको ध्यान घटनाप्रति एकत्रित हुन पुग्छ र त्यसरी पाठकलाई बाँध्न सक्नु लेखकको कौशल हो । 

पुस्तकमा नेपालको तत्कालीन प्रशासन व्यवस्थापनसम्बन्धी अनेकौं रोचक प्रसंगहरू छन् । जुम्लापछि लेखकलाई दैलेखमा खटाइएकोमा बडाहाकिमको अनुपस्थितिमा कायममुकायम बडाहाकिमको जिम्मेवारी दिइएको रहेछ ।

त्यसैताक राजा महेन्द्रले २०१७ सालको पुस १ गते विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रिमण्डललाई विघटन गरेर आफ्नै अध्यक्षतामा प्रत्यक्ष शासन चलाउने घोषणा गरेका थिए । त्यस कदमपछिको शान्ति सुरक्षा प्रबन्ध मिलाउने जिम्मेवारी तत्तत् स्थानका बडाहाकिमलाई दिइएकोमा दैलेखमा लेखकले राम्रो सुरक्षा व्यवस्था मिलाउनुभएको प्रसंग छ । 

लेखकले सँगाल्नुभएका अन्य उल्लेखनीय अनुभवमा २०१८ सालमा लार्के हिमालको फेदमा सीमा निर्धारण कार्यमा खटिनु पनि रहेको छ । नेपाली र चिनियाँ सर्भेयरहरूले त्यसबेला दुई देशको सीमा निर्धारण गरेका थिए र न्यौपानेज्यूले पनि सीमा निर्धारण तथा व्यवस्थापनको अनुभव लिन पाउनुभयो । 

उत्तरी सीमाका साथै लेखकज्यूले दक्षिणी सीमा प्रबन्धनको अनुभव पनि सँगाल्नुभएको देखिन्छ । चितवनमा सीमा प्रशासन शाखामा सरुवा भएपछि सीमा व्यवस्थापनमा खटिने क्रममा भारतीय पक्षबाट बेइमानीपूर्वक सीमास्तम्भलाई आधी किलोमिटर उत्तरतर्फ सारेको उहाँले जानकारी पाउनुहुन्छ । तत्कालै कर्मचारी र स्थानीयलाई परिचालन गरेर उहाँले निजी खर्चमा साबिककै ठाउँमा सीमास्तम्भ राख्ने प्रबन्ध मिलाउनुहुन्छ । यसबाट उहाँको देशप्रेम मूर्त रूपमा प्रकट भएको छ ।

त्यस्तै सप्तरीदेखि राप्ती र कर्णाली लगायतका विभिन्न ठाउँमा प्रशासन चलाएको अनुभव पुस्तकमा भेटिन्छ । अनि व्यक्तिगत तथा पारिवारिक वर्णनहरू पनि प्रशस्तै भेटिन्छन् । बाल्यकाल तथा किशोरवयमा पढाइ तथा कामको सिलसिलामा सँगालेका प्रसंगहरू पनि छन् । अनि लामो अनुभवले दिएको ज्ञानलाई पनि पुस्तकको अन्त्यतिर लेखकले पाठकका सामु प्रस्तुत गर्नुभएको छ । ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको’ भन्ने नेपाली आहान नै छ र वयोवृद्ध तथा अनुभवी लेखकज्यूका नैतिक सल्लाहहरू मननीय नै छन् ।

पुस्तकको कमजोरीको कुरा गर्दा सम्पादनमा अलि कम ध्यान पुगेको हो कि जस्तो देखिन्छ । प्रसंगहरू सिलसिलेवार छैनन् । एउटा प्रसंग चलिरहेको बेलामा अनायास अर्को प्रसंग पनि आउँछ अनि पछि कतै गएर प्रसंग दोहोरिन्छ । ‘यसको वर्णन माथि नै गरिसकिएको छ’ भन्ने शब्दावली बारम्बार दोहोरिन्छ । अनि प्रसंगहरूमा शीर्षक निर्धारण पनि त्यति मिलेको छैन । साना प्रसंगमा शीर्षक दिइरहनुपर्दैनथियो शायद । अनि मुद्राराक्षस नपरोस् भनी पर्याप्त ध्यान दिइएको पनि देखिँदैन ।

तर यी सानातिना कमजोरीले समग्र पुस्तकको पठनीयतामा बाधा गर्दैनन् । आजभन्दा ६० वर्षअघिको नेपालको सटीक तस्वीर पुस्तकले पाठकलाई देखाउन सफल भएको छ । 

पुस्तक : भुक्तभोगीको बकपत्र
लेखक : श्रीवत्सराज न्यौपाने
प्रकाशिका : धनलक्ष्मी न्यौपाने
पृष्ठसंख्या : १४०
मूल्य : रु. १०५   

      
 

पुस २१, २०७५ मा प्रकाशित

विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस