जब नायिका सहित राजेश हमाललाई खोलाले बगायो ...

पुस २६, २०७५

काठमाडौं – वि.सं. २०२० को दशकको शुरूबाटै रंगमञ्चमा रमाउन थालेका थिए, वसन्त श्रेष्ठ । नेपाल प्रज्ञा प्रतिष्ठानमा नृत्य सिके, नाचे, सिकाए अनि कोरियोग्राफी गर्न थाले । 

‘२०२५/२६ सालताका माइतीघर चलचित्रमा कोरसको भूमिकामा अवसर पाएँ,’ लोकान्तरसँगको कुराकानीमा वसन्तले ५ दशक पहिलाको स्मरण गरे, ‘त्यसयता लाग्न थाल्यो चलचित्रमा कोरियोग्राफी गर्न पाए त !’ 


ADVERTISEMENT

उनी रंगमञ्चमा रमाउँदै गए । रंगमञ्चमा नृत्य गर्दै गर्दा एकदिन उनलाई चलचित्रमा कोरियोग्राफीका लागि अफर आयो । उनमा खुशीको सीमा रहेन् । केही नसोची काम गर्न राजी भए । कोरियोग्राफीका लागि अफर गरिएको पहिलो

चलचित्र थियो, ‘सिन्दुर’ । जसका निर्देशक थिए, प्रकाश थापा । तारादेवीको स्वरमा ‘आहा बनमा फुल्यो फूलैफूल’ गीतमा नायिका मिनाक्षी आनन्द र नायक विश्व बस्नेतको अभिनय थियो । 

‘२०३५ सालताका होला पाल्पा तानसेनमाथि डाँडाको जंगलमा सो गीत खिचिएको थियो,’ उनले स्मरण गरे ।

रंगमञ्चमा रमाउँदै गरेका वसन्तलाई चलचित्रका बारेमा केही थाहा थिएन । पहिलोपटक चलचित्रमा कोरियोग्राफी गर्दैगर्दा उनी जति उत्साहित थिए, मनमा डर पनि उत्तिकै थियो । ‘पहिलो चलचित्रबाट धेरै कुरा सिक्ने अवसर पाएँ,’ उनी भन्छन्, ‘मेहेनतका साथ काम गरेको हुनाले सबैले मेरो काम रुचाउनु पनि भयो ।’

त्यसयता उनी प्रकाश थापाकै चलचित्र ‘जीवनरेखा’मा कोरियोग्राफीमा दोहोरिए । रंगमञ्चसँगै उनको व्यस्तता चलचित्रमा पनि बढ्दै गयो । बीचमा केही चलचित्रमा कोरियोग्राफी गरिसकेपछि वि.सं २०३९/४० सालताका वसन्त कोरियोग्राफी सिक्न एकवर्ष इटाली बसे । त्यहाँबाट फर्केपछि उनी निरन्तर चलचित्र कोरियोग्राफीमा व्यस्त बन्न थाले । 

चलचित्र कोरियोग्राफीमा व्यस्त बन्दै गर्दा उनी प्रज्ञा प्रतिष्ठानमा पनि आवद्ध थिए । वसन्त २०५२ सालसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा आबद्ध रहे । त्यहाँ रहँदा उनले थुप्रै गिती नाटक, नृत्य नाटीकाहरूमा नृत्य गरे, कोरियोग्राफी गरे । 
रंगमञ्चबाटैै उनी देश–विदेश पुगे । प्रख्यात गिती नाटक ‘मालती मंगले’ वसन्तकै निर्देशन थियो । सो गिती नाटक राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेका थिए । संगीत अमर गुरुङले दिएका थिए भने स्वर नारायण गोपाल, तारादेवी लगायतको थियो ।

२०५२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठान छाडिसकेपछि भने वसन्त चलचित्र क्षेत्रमै बढी ब्यस्त बने । 

‘चौकादाउ’सम्म आइपुग्दा वसन्तले २ सयभन्दा बढी चलचित्रमा कोरियोग्राफी गरिसकेका छन् । राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, करिष्मा मानन्धर, निरुता सिंहदेखि अहिलेका नयाँ कलाकारसम्मलाई उनले नचाएका छन् । 

कोरियोग्राफी यात्राका ती अविस्मरणीय घटना

चलचित्र कोरियोग्राफीको चार दशकको यात्रामा उनीसँग केही यस्ता स्मरण छन्, जुन हमेसा मानसपटलमा घुमिरहन्छन् ।

ठ्याक्कै साल त याद छैन उनलाई । झण्डै तीन दशकअघि बिर्तामोडमा माई नदी किनारमा उनको कोरियोग्राफीमा चलचित्र ‘आफ्नो बिरानो’को एक गीतको छायांकन हुँदै थियो । गीतमा नृत्य गर्दै थिए– महानायक राजेश हमाल र किरण डिसी । 

गीतको भावअनुसार खोलामा पानीबाट नायक राजेश हमालले नायिका किरण डिसीलाई बोकेर उचाल्नुपर्ने थियो ।

छायांकनअघि उनले चलचित्र यूनिटका एक व्यक्तिलाई खोलाको गहिराई कति छ भनेर हेर्न पठाए । घुडासम्म मात्र पानी आउँथ्यो । राजेश पानीमा गए । राजेशले पानीमा सुटिङ हुने भनेर चप्पल लगाएर गएका थिए । ‘ पानीमा गएर हिरोइनलाई बोकेर उचाल्दै गर्दा राजेशजी चिप्लिएर लड्नुभयो र दुवै जना केही तलसम्म पुग्नुभयो,’ वसन्त त्यो घटना सम्झन्छन्, ‘अगाडिभन्दा पछाडि गहिरो थियो । अनि दुवै जनालाई खोलाले बगायो ।’ राजेश र किरण खोलामा बग्दै केही केही तलसम्म पुगे । 

‘क्यामेरा त्यत्तिकै अन नै छ । सबैजना चिच्याउन थाले । सुटिङ हेर्न आएका पनि चिच्याउन थाले । मेरो त होसहवास् नै उडयो,’ वसन्त स्मरण गर्छन् । वसन्तका अनुसार द्वन्द्व निर्देशक दौडेर गएर उनीहरूको खुट्टा समाते । राजेशले किरणको हात समातेका थिए । छाँगो नजिकै पुग्दा एकअर्काको मद्दतमा उनीहरू बाहिर निस्कन सफल भए ।

वसन्तले थपे, ‘मेरो त आँखाबाट आँसु नै आएको थियो, धन्न केही हुन पाएन ।’ राजेशको एउटा बानीबारे वसन्तले त्यसअघि सम्झाएका थिए, ‘राजेशजी कट भन्नेवित्तिकै हात छोड्ने तपाईंको बानी छ, त्यसो नगर्नुहोला ।’ 
‘खोलाको सुटिङमा राजेशजीले हात छाडेको भए ठूलै घटना घट्थ्यो, धन्न उहाँले हात छोडनुभएन र दुवैलाई उद्धार गर्न सकियो,’ वसन्त भन्छन् । 

कुराकानीकै क्रममा उनले यस्तै अर्को घटना सम्झिए । ‘आफ्नो बिरानो’ चलचित्र छायांकनको केही वर्षपछि चलचित्र ‘उपकार’मा कोरियोग्राफीको अवसर पाए वसन्तले । जुन चलचित्रको ‘जब चल्छ तिम्रो रूपको हावा’बोलको गीतको सुटिङ नारायणगढस्थित नारायणी नदी किनारमा हुँदैथियो । नदीमा मोटरबोटमा बसेर सुटिङ गर्नुपर्ने थियो । 

चलचित्रका नायक–नायिका थिए, स्वर्गीय श्रीकृष्ण श्रेष्ठ र निरुता सिंह । एउटा मोटरबोटमा श्रीकृष्ण र निरुता थिए । अर्कोमा क्यामेरामेन दीर्घ गुरुङसहित चालक र एक व्यक्ति थिए ।

‘मैले म्यामेरामेन दीर्घजीलाई भनेको पनि थिएँ, हामीहरू बाहिरबाटै खिचौं, तर उहाँले मोटरबोटमै गएर अलि नजिकबाट खिचौं भन्नुभयो,’ उनले सम्झिए ।

क्यामेरामेन बोटमा उल्टो बसेका थिए । छायांकन हुँदै गर्दा दुईवटै मोटरबोट नारायणी नदीमा धेरै पर पुगे । मोटरबोट ‘टर्न’ गर्ने क्रममा म्यामेरामेन बसेको डुंगा पल्टियो । सबैजना चिच्याउन थाले । तीन जनाले नै लाइफज्याकेट लगाएका थिए । चालक केही समयमै बाहिर निस्किन सफल भए । तर अरु दुईजना नदीमा तलमाथि गरिरहे । सबैजना आत्तिएका थिए । ‘सबै आत्तिरहेका थियौं, तर श्रीकृष्णले नआत्तिन भनिरहेका थिए, वसन्त सम्झन्छन्, ‘उनीहरू बगिरहेको तिर श्रीकृष्णले मोटरबोट राखे । अन्नतः उनीहरु त्यही मोटरबोटलाई समातेर माथि उक्लिए,’ यी घटनालाई आफूले चाहेर पनि बिर्सिन नसक्ने उनको भनाइ छ ।

मरण पनि यही क्षेत्रमा होस्

पहिले र अहिले चलचित्र कोरियोग्राफीको क्षेत्रमा धेरै परिवर्तन आएको वसन्त बताउँछन् । मुख्य कुरा त टेक्नोलोजीको विकास भएको छ । ‘तर पहिले गीतको मर्मअनुसार भिडियो बन्थ्यो, अहिले कताकता भिडियोले गीतको मर्म मारेको भान हुन्छ,’ वसन्त भन्छन् । पहिले गीतको भिडियोमा लोकेसनमा निरन्तरता हुन्थ्यो, अहिले त्यो छैन ।

‘रोडमा अभिनय गरिरहेका एकैछिनमा छानोमा पुग्छन्,’ उनी भन्छन्, ‘पहिलेको गीतमा धेरै सर्टहरू हुँदैनथ्यो । मुस्किकले २५/३० सर्ट हुन्थ्यो । अहिले एउटै गीतमा डेढ/दुई सय सट हुन्छ ।’ टेक्नोलोजीको विकासले यी कुराहरू सम्भव भएको वसन्त बताउँछन् ।

उनी कामलाई नै भगवान मान्छन्, पूजा गर्छन् । ‘आज जे छु यही क्षेत्रबाटै भएको हो । मलाई यही क्षेत्रले चिनाएको हो । त्यसैले म यो क्षेत्रलाई आफ्नो भगवान सम्झन्छु,’ उनको कामना छ, ‘मेरो मरण पनि यही क्षेत्रमा काम गर्दागर्दै होस् ।’

पुस २६, २०७५ मा प्रकाशित

सुशील नेपाल

नेपाल कला, साहित्य र मनोरञ्जनमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस