सुदूरको साहित्यका धरोहर ‘यात्री’ : लेखन नशामा न थर जोगाए, न सरकारी जागिर !

पुस २८, २०७५

धनगढी – नाम पछाडिको ‘जोशी’ थर हटाएको २४ वर्ष बढी भयो, साहित्यकार यज्ञराज यात्रीले । अनि जोशीको ठाउँमा नयाँ थर ‘यात्री’ जोडे । बने यज्ञराज यात्री ।

धनगढी उपमहानगरपालिका–७ देवहरियाका उनले ‘यात्री’ भने आफैं थपेका पक्कै होइनन् । उनको साहित्यिक कर्म अनुसार समाज र साथीहरूले थपी दिएको उपमा नै हाल उनको थर बन्न पुगेको हो ।


ADVERTISEMENT

‘साहित्य मेरो प्राण हो । साहित्य सिर्जनाकै क्रममा घरपरिवार र सरकारी जागिर छोडेर देश घुम्ने यात्रामा निस्के । पछि त्यही १२ वर्षे देश दौडाहा यात्राले मलाई यात्री बनायो । यज्ञराज जोशी भनेर कसले चिन्छ र मलाई ?’ गल्ल हाँस्दै उनले भने ।

२०२० सालमा डोटीको गड्सेराबाट बसाई सरेर धनगढी आएको थियो यात्रीको परिवार । शिक्षणसँगै साहित्य सिर्जनामा क्रियाशील यात्री २०३० सालमा तत्कालीन देवहरिया गाविसको सचिव भए । जतिबेला मासिक १ सय रुपैयाँ तलब पाउने गरेको उनी सुनाउँछन् । 

करीब ३ वर्षपछि सचिवको काम छोडेर उनी २०३५ सालमा धनगढीस्थित त्रिनगर माविमा शिक्षण पेशामा संलग्न भएको बताउँछन् । उनले अगाडि थपे, ‘उतिबेला १ सय रुपैयाँ तलब भनेको धेरै हो । खर्च गर्नै सकिन्नथ्यो । घर चलाउन सबथोक पुग्थ्यो मलाई ।’ त्यसताका शिक्षण पेशामा कार्यरत यात्रीको मनमा १ दिन नेपाल दर्शन गर्ने र सबै ठाउँबारे साहित्य लेखनी गर्ने जोश चल्यो ।

२०४१ सालमा तत्कालीन जिल्ला शिक्षा अधिकारीसँग १ वर्षको बेतलबी बिदा स्वीकृत गराएर उनी नेपाल दर्शनमा निस्किए । तर बिदा लिएको १ वर्षमा उनको देशदर्शन यात्रा टुंगिएन । उनले बिदा थपिदिन शिक्षा कार्यालयलाई गरेको आग्रह पनि स्वीकृत भएन ।

‘तत्कालीन शिक्षा अधिकारीले या त पढाउने काम गर्नुस्, या त घुम्ने काम मात्रै गर्नुस् भन्नुभयो । त्यसपछि मैले सरकारी जागिर छोडेर भएपनि आफ्नोे अभियान अगाडि बढाए,’ यात्रीले भने ।

विराटनगरमा गिरिजालाई भेटे

यात्रा अनुभव सुनाउँदै यात्रीले भने, ‘एउटा झोला, लाठी बोकेर पैदलै यात्रामा निस्किए । जहाँ रात, त्यहीँ बास हुन्थ्यो । पूजापाठमा विशेष ध्यान दिने र शिक्षक भएकोले प्रायः मठ, मन्दिर र शिक्षककै घरमा बस्थे । नेपालको सबै जिल्ला पदलै घुमेको छु ।’

बीपी कोइरालाको साहित्य कलाप्रति निकै प्रभावित रहेको बताउने उनी यात्राकै क्रममा विराटनगरमा बीपी कोइरालाको सम्मानको लागि भएपनि उनको घरमा गएर उनका भाई गिरिजाप्रसाद कोइरालासँग भेटघाट गरेको सुनाउँछन् ।

‘बीपीको सम्मान गर्न उहाँको घरमा गए । टिनले छाएको घर थियो । बादल गोरगोर गरिरहेको थियो । घर पुगेको एकछिनमै पानी पर्न थाल्यो । त्यहाँ गिरिजाबाबु चिया खाँदै हुनुहुन्थ्यो । भेटेर मैले उहाँलाई म साहित्यिक मान्छे हुँ । ऐतिहासिक, धार्मिक र साहित्यिक स्थानको अवलोकन र लेखनमा रुची राख्छु भने । उहाँले मलाई धेरै माया गर्नुभयो,’ गिरिजा कोइरालासँगको भेटलाई स्मरण गर्दै यात्रीले भने, ‘कुराकानी हुँदै गर्दा मैले भने, म प्रजातान्त्रिक मान्छे हुँ । तर कुनै पार्टीको झोला बोक्दैन । लेखक जहिले पनि स्वतन्त्रता चाहन्छ भनेपछि उहाँले मलाई सम्मान व्यक्त गर्नुभएको थियो । पछि उहाँले मलाई मरवाडी सदनमा बस्ने वातावरण मिलाउनुभयो । म आज पनि गिरिजा बाबुप्रति ऋणी छु ।’ साहित्यकार यात्री १२ वर्ष लगाएर नेपालभर घुमेको अनुभव सुनाउँछन् ।

बीपी कोइरालाको आफू भक्त रहेको बताउने उनी धनगढीमा बीपी कोइराला आएको बेला कविता समेत वाचन गरेको बताउँछन् । कविताको वाक्याशः सुनाउँदै उनले भने –

कसले छुन सक्छ मेरो देशको माटो
कसले मेट्न सक्छ नाउ वीरताको

बुढो पनि होइन, गरीब पनि होइन

समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका यात्री हाल ६५ वर्ष पूरा गरेका छन् । तर जोशजाँगर युवाझैै छ । तर कहिलेकाहीँ कसैले आफूलाई बुढो भनेपछि आफ्नो कन्सिरी तातेर आउने उनी बताउँछन् । उनी त्यसको जवाफ साहित्यमै फर्काउँदै आएको बताउँछन् –

बुढो भएँ त के भए 
जाँगर छ देहभित्र
फाटो लुगा छ तनमा
हो भावना पवित्र

जो काम गर्न सक्दैन

उनको भनाईमा बुढो त्यो मान्छे हो, जसले काम नगरी खान्छ, पुर्खाका सम्पत्ति सिध्याएर हिँड्छ । उही मान्छे नै गरीब र बुढो हो । ‘न म बुढो हुँ, न त गरीब नै,’ धनगढीका ठूला–ठूला भवन देखाउँदै उनले भने, ‘यी भवनमा बस्नेलाई कस्ले चिन्छ र ? आर्थिक रुपमा म गरीब हुँला । तर मन मेरो पवित्र छ । यात्री बस्ने झुपडी सबैले चिन्छन् ।’

प्रायः धनगढीमा खरानी रंगको दौरा सुरुवालमा कालो रंगको ज्याकेट, त्यसमाथि कालै झोला भिडेर थोत्रो साइकल चलाउँदै हरेक दिन डुलिरहने उनीझैं साहित्य साधनामा जवान रहेको बताउँछन् ।

१२ वर्षदेखि एउटै साइकल चलाउँदै आएका उनी साइकलमै धनगढीमा बोलाइएका सबै साहित्यिक कार्यक्रममा उपस्थित हुन्छन् र सुनाउँछन् आफ्ना गहकिला कविताहरू । उनको कविता सुनेर हलमा तालीको गड्गडाहट मच्चिन्छ । यति भएपछि यात्रीलाई अरु के चाहियो ? उनको मन प्रफुल्ल हुन्छ ।

सम्मानपत्र बाकसमा लुकाउँछन्

झनै आयोजकले खादा ओढाएर सम्मानपत्र हस्तान्तरण गर्दा यात्रीको खुशीको सीमा नै रहन्न । सम्मानित हुँदाका बखत जीवनमा सबैभन्दा बढी खुशी हुने यात्री खुशी आफ्नो पत्नी र छोराछोरीसँग भने खुलेर बाँड्न सक्दैनन् ।

हालसम्म सामाजिक संघ संस्थाबाट ५० भन्दा बढी सम्मानपत्र पाइसकेका यात्री घर जाँदा आफूलाई ओढाइएको खादा र सम्मानपत्र भने लुकाएर मात्रै भित्र पस्छन् । मानिसहरू यसरी पाउने सम्मानपत्र कोठाको भित्तामा झुण्डाउँछन् । तर यात्रीले पोको पारेर बाकसमा लुकाएर राखेका छन् ।

‘घर परिवारले साहित्यलाई बुझ्न सक्दैनन्, सम्मानित भएर घर जाँदा पत्नीले त्यही सम्मानले खान लाउन पुगिहाल्छ अरु के चाहियो र भन्दै झटारो हान्दा मुटु बेस्सरी दुख्छ । त्यसैले खादा र सम्मानपत्र लुकाएर मात्रै घर जाने गरेको छु,’ यात्री बहकिँदै भन्छन्, ‘साहित्य साधना भनेको फलामको चिउरा चपाएजस्तै रहेछ सबै मानिसले यसलाई बुझ्न सक्दैनन् ।’

पत्नीसहित छोराछोरी आफूसँग रिसाउनुको कारण पनि यात्रीलाई राम्रोसँग थाहा छ । ‘म घरको अभिभावक हो । श्रीमतीको गुनासो जो–जससँग सम्बन्ध राख्दछ भनेर पनि चित्त बुझाउँछु । साहित्य साधनाका लागि मैले खाईपाई आएको सरकारी जागिर छोडेदेखि परिवार खुशी छैनन् । तर साहित्यमा लागेको म आफू भने खुशी छु,’ उनी भन्छन् । तथापी आजभोलि घरपरिवारले आजभोलि आफूलाई स्वतन्त्र छोडेको उनी बताउँछन् ।

‘साहित्यको सागरमा तैरिरहन पाउँदा अत्यन्तै खुशी लाग्छ, परिवारका सदस्यको रहर पूरा गर्न नसकेपनि आवश्यकता पूरा गरेको छु,’ उनी भन्छन् ।

५१ वटा कृति प्रकाशित गर्ने लक्ष्य

सर्वप्रथम २०३० सालमा शारदी पुष्प (सरस्वती बन्दना) प्रकाशित गरेका साहित्यकार यज्ञराज यात्रीका हालसम्म ३२ वटा कृति प्रकाशित भएका छन् भने १२ वटा प्रकाशोन्मुख छन् । अझैपनि लेखनलाई निरन्तरता दिँदै आएको बताउने उनी ५१ वटा कृषि प्रकाशित गर्ने लक्ष्य रहेको बताउँछन् । तर कहिलेकाहीँ बिरामी हुँदा आफूलाई निकै चिन्तित तुल्याउने गरेको उनको भनाई छ । लक्ष्य पूरा नहुँदै मर्छु कि भनेर आफूलाई चिन्ताले सताउने गरेको यात्री बताउँछन् ।

उनको विभिन्न संघसंस्थाबाट प्राप्त गरेका सम्मान पत्रहरू एउटा अलग्गै कोठामा सजाउने सपना रहेको छ । भएको घरमा सबै सम्मानपत्र सजाउन नपाएको बताउने उनी अलग्गै कोठा बनाएर सम्मान पत्रले सजाउने सपना रहेको बताएका ह्ुन् । तर ‘धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन हुँदैन’ भनेर आफै चित्त समेत बुझाउँछन् ।

कहिलेकाहीँ लाज लाग्छ

सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीका संस्थापक अध्यक्ष रहेका यात्री हालसम्म दर्जनौंभन्दा बढी संघसंस्थाका आजीवन सदस्य रहेका छन् भने ३० भन्दा बढी संघसंस्थासँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध छन् । तर आफूसँग गतिलो आर्थिक स्रोत नहुँदा कहिलेकाहीँ खिन्नता पैदा हुने उनी सुनाउँछन् ।

‘हुन त मलाई किताब प्रकाशन गर्न के चिन्ता ? तपाईको किताब प्रकाशित गरिदिन्छौ भन्ने धेरै छन् । तर कहिलेसम्म स्थानीय मित्रहरूबाट मात्रै कति गरु लाग्छ ? त्यही भएर कहिलेकाहीँ लाज पनि लाग्छ,’ लामो सास तान्दै यात्रीले भने । 

२ प्रकारका साहित्यकार

यात्री आफूलाई प्राकृतिक र स्वछन्दवादी साहित्यकार भन्न रुचाउँछन् । उनको नजरमा प्राकृतिक र कृत्रिम गरी साहित्यकार २ किसिमका हुन्छन् ।  

जसले साहित्यमा मन नदिएर खाली समाजमा सस्तो लोकप्रियता  लागि, सम्मान र पुरस्कारको लागि मात्रै लेख्छ । त्यो कृत्रिम साहित्यकार रहेको उनको ठहर छ । तर जसले सम्मान र धनको मोह नगरी समाजको लागि लेख्छ, उही प्राकृतिक साहित्यकार रहेको यात्रीको विश्लेषण छ ।

उनी भन्छन्, ‘साहित्यकारको सपना धनी बन्ने होइन । सेवा गर्ने हो । गर्दै जाउँ, जे होला होला । दिएको सम्मान स्वीकार गर्नुपर्छ । तर पुरस्कारको लागि आवेदन दिनु उचित होइन । मलाई धेरैले मदन पुरस्कारको लागि आवेदन दिन हौस्याउँछन् । तर म अस्वीकार गर्छु । सम्मान त स्वस्फूर्त रुपमा पाउने कुरा होइन र ?’

पुस २८, २०७५ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस