पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
दिन त गन्न सकिनँ, तर कम्तिमा पनि एक महिना पुगेको हुनुपर्छ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रविन्द्र अधिकारीको सिहंदरबारस्थित कार्यक्षमा पुगेको । आज रविन्द्र अधिकारीको नामअगाडि स्व. शब्द लेख्नुपर्दा यो मन एकदमै भारी भैरहेको छ । मसँगै लोकान्तर अनलाइनका फोटो पत्रकार गगन अर्याल पनि थिए त्यो दिन ।
हामीले मन्त्री अधिकारीसँग करीब २५ मिनेट बिताएका थियौं । मन्त्री अधिकारी र मैले वान टू वान कुरा गरेका थियौं । वाइडबडीको भाइरल दबाबका कारण मन्त्रीको मुहार विगतमा जस्तो चम्किलो थिएन । मतलब मन्त्रीको मुस्कान त्यो दिन हराएको थियो । आफूलाई सबैले 'अन्टसन्ट' पेलेर गए भन्ने उनको गुनासो थियो । 'नखाएको विष पनि लाग्छ र यार !' उनले भनेका थिए- 'दिलजी, मैले एकसुका तलमाथि गरेको छैन । रेस्पोन्सिबिलिटी लिने काम हो मन्त्रीको, त्यो म लिन्छु ।'
त्यो दिन मन्त्री अधिकारीसँग के-के कुराकानी भयो त्यो मैले लेखिसकेको छु । तर आज त्यो दिनको स्मरण किन गरेको हो भने स्व अधिकारीसँगको मेरो भेट त्यो नै पहिलो र अन्तिम हुन पुग्यो । यो कुराले खासै के अर्थ राख्छ र ? हो राख्दैन । तर यो देशको नागरिक हुनुको नाताले विकासप्रेमी मन्त्री लगायत देशलाई चाहिने व्याक्तित्वहरूको अकास्मत् निधनले पुर्याएको चोटलाई शब्दमा उतार्न त पाइन्छ नै । आज जमदार साहेबको सम्झनाले मन बडो खिन्न भएको छ ।
मन्त्री रविन्द्र अधिकारीसँग महत्त्वपूर्ण विषयमा कुराकानी हुनुअगाडि कम्तिमा ३० मिनेट बाहिर कुर्नुपरेको थियो । भित्र मन्त्रालयकै कर्मचारीसँग छलफलमा थिए, अधिकारी । बाहिर ढोकानजिकै उनका अंगरक्षक उभिएका थिए ।
तिनले हामीलाई बस्नका लागि सोफा देखाइदिए । चिया नास्ता के कसो हो भनेर सोधपुछ पनि गरे । केहीबेरमा एकजना दिदीले मिठो चिया लिएर आउनुभयो । हामीले चिया पियौं । गगन सोफामामै बसे । म भने मन्त्रीका अंगरक्षकसँग कुरा गर्नका लागि सोफाबाट उठेँ ।
मलाई फौजी लुगा एकदमै मन पर्छ । फौजी लुगा लगाएर टक्क उभिएको फौजीको मुहारचित्र पनि मन पर्छ । खै किन-किन यस्तो हुन्छ । बेलायतबाट बाजेले ल्याएको फौजी पाइन्ट काटी छोटो बनाएर मैले १३ वर्षको उमेरमै लगाएको थिएँ । त्यो बेला बाजेको कुटाइ पनि खाएँ ।
कुराकानीका क्रममा थाहा भयो मन्त्रीको ढोका बाहिर उभिएका ती फौजीको नाम अर्जुन घिमिरे रहेछ, जोसँग कुराकानी गर्नका लागि म इच्छुक थिएँ । हँसमुख र एकदमै मिलनसार देखिने घिमिरेले आफू जमदार हुँ भनेका थिए । आज यो विडम्बना उनको नामको अगाडि पनि स्व. नै लेख्नुपर्यो । ती प्रिय फौजी मन्त्री अधिकारीका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) थिए ।
घटनाक्रम त सबैलाई अवगत नै छ । देश नै शोकमा डुबेको छ । सबैलाई पीडाबोध भएको छ । जे भएको छ, एकदमै कहालीलाग्दो भएको छ । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका- १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । तेह्रथुमको चुहानडाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारी सहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा उनीहरू दुर्घटनामा परेका थिए ।
हेलिकप्टर दुर्घटना भएको खबर सुन्नासाथ मलाई नरमाईलो लाग्यो, तर पनि आशा बाँकी नै थियो मानवीय क्षति नभएको होला भन्ने । अन्तिमसम्म सबैको अपेक्षा र प्रार्थना पनि यस्तै किसिमको थियो । तर हेलिकप्टरमा सवार सबैको निधन भएको समचार आयो । हुन त दुर्घटना भन्ने चिज बाजा बजाएर आउँदैन । कतिपय अवस्थमा सावधानीका कुराहरू हुन्छन्, त्यस बारेमा अन्तिममा छोटो चर्चा गरौंला । दुर्घटनाको खबर पुष्टि भैसकेपछि मलाई सबैभन्दा धेरै झझल्को जमदार अर्जुन घिमिरेको नै आयो ।
छोटो समयमै हामीले एकअर्काको घरायासी कुरासम्म शेयर गर्न भ्याइसकेका थियौं । कहिलेकाहीँ अचानक भेटिएका मानिसहरू पनि अचानक निकै धेरै क्लोज हुने गर्छन्, हाम्रो हकमा पनि त्यस्तै भयो । उनले आफ्नो सुखदु:खका धेरै कुरा सुनाउन भ्याए । कामका बारेमा, दामका बारेमा, बालबच्चाका बारेमा, युवा अवस्थाका बारेमा सबै कुराहरू शेयर भयो । हुन त सबैको निजी जीवनका आ-आफ्नै आयामहरू हुन्छन्, त्यो कोट्याउन आवश्यक छैन । तर त्यो दिन उनले आफू जागिर खाएर थकित भैसकेको र अब कहिले पेनसनमा निस्कने होला भन्ने कुरा मनमा लागेको बताएका थिए ।
उनले देशको माहोल राम्रो नभएको, सबै स्वार्थी भएको, आफ्नो मन्त्रीलाई फसाउने र बदनाम गर्ने काम भएको, सेनाको जवानलाई सेवा सुविधा अलिक कम भएको जस्ता गुनासो सुनाएका थिए । 'यस्तो सोझो र सबैलाई माया गर्ने मान्छे त मैले अहिलेसम्म देखेको थिइनँ,' मन्त्री अधिकारीको प्रसंशा गर्दै उनले भनेका थिए- 'जो होचो उसको मुखमा घोचो हुने रहेछ, के गर्ने त यो देश यस्तै रहेछ ।'
उनले सानैदेखि सरकारी जागिर खानुपर्छ भनेर मनमा लिएर सेनामा जागिर खाएको बताएका थिए । सेनामा काम गर्दा सुखदु:ख सबै भोगेको, मान्छे चिनेको र विभिन्न ठाँउको घुमफिर गर्न पाएको बताएका थिए । उनी शान्ति मिसनमा पनि गएका रहेछन् । विदेशका बारेमा पनि थुप्रै अनुभव सुनाए । 'हरेक सिपाहीको मिसनमा जाने सपना हुन्छ त्यो सपना मैले पूरा गरें,' उनले मुस्कुराउँदै भनेका थिए, 'म गाउँको सामान्य परिवारको मान्छे यही खाल्डोमा सानो झुप्रो बनाएको छु, सन्तोषले बालबच्चा पढाएको छु । अब रिटायर्ड भएर घरमै परिवारसँग बस्ने हो।' तर दु:खको कुरा उनले रिटायर्ड जीवन बिताउन पाएनन् । कर्तव्यपालनाको सिलसिलामा उनले आफ्नो ज्यान समर्पण गरे ।
मन्त्री र जमदार घिमिरेसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको इहलीला समाप्त भयो । यस्तो दु:खद् घटनाले उनीहरूको परिवारलाई कस्तो पीडा भयो, त्यो अनुमान गर्न सकिन्छ । यो देशका निम्ति पनि अपुरणीय क्षति भयो ।
सैनिक मुख्यालय जंगी अड्डाको अभिलेखअनुसार अर्जुन घिमिरे २०५८ सालमा नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए । उनी १० भदौदेखि मन्त्री अधिकारीको सुरक्षा कमाण्डर भएर खटिएका थिए । घटना सुनेलगत्तै उनीसँग भर्ना भएका हर्क राईले नम्बरी गुमाउनु पर्दाको पीडामा आँसु बगाए । टुँडिखेलमा अन्तिम श्रद्धाञ्जलि दिनका लागि हातमा फूल समातेर उभिएका राई भन्दै थिए- बडो गजबको मान्छे थियो, एउटै थालमा भात खायौं, आज छाडेर गयो ।'
एक वर्षअघि मात्रै उनको बुवाको निधन भएको रहेछ । ०३९ सालमा जन्मिएका घिमिरेको स्थायी घर रामेछापको साविक गुम्देल गाविस–७, हाल उमाकुण्ठ गाउँपालिका–१ मा हो । सेनाको शान्ति मिसनमा गएर उनले कीर्तिपुरमा घर पनि बनाएका थिए । हाल कीर्तिपुरस्थित घरमा उनकी श्रीमती शैलु घिमिरे र १० वर्षीय छोरा असिम घिमिरे छन् । छोरा स्थानीय विद्यालयमा अध्ययनरत छन् । आमा चाहिँ गाउँमै हुनुहुन्थ्यो ।
श्रीमानको मृत्युपछि छोराको सहारामा बाँचिरहेकी रामेछापको उमाकुण्ड गाउँपालिका गुम्देलकी ६५ वर्षीया मीठू घिमिरेमाथि अहिले अर्को बज्रपात आइलाग्यो । उनलाई छोरा दुर्घटनामा घाइते भएको भनेर भेट्नका लागि आफन्तले काठमाडौं ल्याएका थिए । मृतक घिमिरेको शव चिन्न नसक्नेगरी जलेको थियो । टुँडिखेलमा भावविह्वल आमाले छोराको अनुहार अन्तिम पटक हेर्न पनि पाइनन् । केवल भक्कानिइरहिन् । एउटा आमाले आफ्नो छोरालाई श्रद्धाञ्जलि दिनपर्नु कम्ता पीडादायक विषय पनि होइन ।
स्व. जमदार अर्जुन घिमिरेले देशको सेवाका निम्ति गरेको समर्पणको उच्च सम्मान गर्नुपर्दछ । उनको घरमा पुगेर उनका बालवच्चा र परिवारका सदस्यहरूलाई पनि प्रधानमन्त्रीले भेटुन् भन्ने हो । शुक्रवार मात्रै सेनापतिले भेटेर निकै राम्रो काम गरेका छन्, यद्यपि यो उनको कर्तव्य थियो । कसैको मृत्यु कमसल र सकैको मृत्यु भव्य नहोस् । राष्ट्रका लागि काम गर्दागर्दै जीवन अर्पण गर्नेहरू जो कोही हुन्, ती महान छन् ।
उनको परिवारलाई राज्यले हेरोस्, दु:ख बुझोस् । हाम्रो देशमा नेता मर्दा मात्रै निकै हल्लाखल्ला हुने गर्छ, तर सिपाही मर्दा खासै त्यसको असर देखिन्न । छिमेकी देश भारतबाट सिकौं सिपाहीको सम्मान, मान र शान कसरी राख्ने भन्ने कुरा । कानूनअनुसार पाउने सेवा सुविधा मात्र हैन दुर्घटनामा परेका फौजीका परिवारलाई राज्यले विशेष प्याकेज घोषणा गरेर राहत दिनुपर्छ, अनि मात्रै उनीहरूको सच्चा सम्मान हुनेछ । यस घडीमा स्व. अर्जुन घिमिरे जमदार साहेबलाई 'जय नेपालको' एक स्यालुट नदिई मन मान्दैन ।
हावाको झोकाजस्तो अप्रिय निर्णय !
एकदमै दु:खको कुरा हो, पाथीभराबाट उडेको एक मिनेटमै हेलिकप्टर दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिएका छन् ।
मौसमको फेरबदल मात्र हैन, हिमपात नै भइरहेको र हावा चलिरहेको अवस्थामा त्यो उचाईमा पुग्नका लागि किन अप्रिय निर्णय भयो ? केबल पछुताउनुबाहेक अब कुनै विकल्प त छैन, तर नेपालको आकाश सुरक्षित छैन भन्ने जानकारहरू नै हेलिकप्टरमा सवार भएको हुँदा यो हदसम्मको हेलचेक्र्याइँ किन गरियो यो आफैंमा ठूलो प्रश्न त हो नै गम्भीर विषय पनि हो । यस्तो घटनाबाट के पाठ सिक्ने र ? पाठ सिक्न के बाँकी थियो र ? दिउँसो पौने १ बजे हेलिकप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए भन्ने सुनिन्छ । हेभी हिउँ परेको उनको गुनासो रहेछ । तर किन फेरि हेलिकप्टर उडाइयो ? कतै मालिक र मन्त्रीको दबाबमा त उडाइएन ? कतै हावाहुरीले त समस्या पारेन ? कैयौं प्रश्नहरू जन्मिएका छन् ।
गृह मन्त्रालयले खराब मौसमका कारण दुर्घटना भएको बताएको छ । तर यो चित्त बुझ्दो जवाफ हुन सक्दैन । छानबिन समिति त गठन गर्नका लागि मात्र गठन हुने हो । सिंहदरवारस्थित गृह मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका थिए । तर यस्तो किसिमको हतारको प्रतिक्रिया नै अन्तिम सत्य हुन सक्दैन । सत्य मान्न पनि सकिन्न ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...