आगोसँग खेलेर अर्काको जीवन बचाउने ‘फायर कमान्डर’ नरेशराज कुँवरको साहस

फागुन २९, २०७५

काठमाडौं – चैत लाग्न थाल्यो । गर्मी र सुख्खा मौसम शुरू भएसँगै आगलागीका घटनामा वृद्धि हुने गर्दछन् । अझ विज्ञहरूका अनुसार काठमाडौं आगलागीको जोखिमयुक्त शहर हो ।

काठमाडौं उपत्यकामा मात्र वर्षमा ४ सयभन्दा बढी आगलागीका घटनाहरू हुने गर्दछन् । 


ADVERTISEMENT

तर काठमाडौंमा हुने आगलागीका घटनालाई तत्काल नियन्त्रणमा लिएर जनधनको क्षति हुनबाट जोगाउने संरचना पर्याप्त मात्रामा छैनन् । काठमाडौंका बाटाहरूमा हुने घना सवारी चापका कारणले अग्नी नियन्त्रक सवारीहरू समयमै घटनास्थलमा पुग्न सक्दैनन् । 

कतिपय गल्लीहरू साँघुरा भएकाले अग्नि नियन्त्रण र उद्दारमा समय लाग्ने गरेको तीतो अनुभव अग्नि नियन्त्रकहरूको छ । जुद्ध अग्नि नियन्त्रण कार्यालय वसन्तपुरका फायर कमान्डर नरेशराज कुँवरले लोकान्तरकर्मी नारायण अर्यालसँग आफ्ना भावना र भोगाइ व्यक्त गरेका छन् । 

लोकान्तरकर्मी अग्नि नियन्त्रण कार्यालय वसन्तपुरमा पुग्दा कार्यालयका कर्मचारी आइपर्ने कामका लागि तयारी अवस्थामा बसिरहेका थिए । यिनैमध्ये एक थिए फायर कमान्डर कुँवर । १५ वर्षभन्दा बढी समय आगोसँग लड्ने काम गर्दै आएका फायर कमान्डर कुँवर अग्नि रक्षकबाट जागिरमा प्रवेश गरेका थिए । अहिले फायर कमाण्डर भए ।

‘ओहो सर ! हिड्नुस् जाउँ माथि कार्यकक्षमा, म सुनाउँछु तपाईंलाई हाम्रो कथा,’ हँसिलो मुहार लिएर उनले सिधै कार्यालयभित्र जान आग्रह गरे ।

‘उपत्यकाभित्र वर्षमा करीब ४ सय जति आगलागीका घटना हुने गर्छन्,’ कुँवर सुनाउँछन्, ‘अहिलेसम्म करीब २ हजार अग्नि नियन्त्रणमा म सहभागी भएको छु । कतिपय आगलागीका घटना हामी घटनास्थल पुग्न नपाउँदै समस्या सामाधान भइसक्छ भने कतिपय आगलागीमा हामी ज्यानको बाजी राखेर भिड्छौं र नियन्त्रण गर्छौं ।’ कुँवरले आफ्नो तीतो अनुभव सुनाए, ‘४–५ वटा घटनामा त झण्डै–झण्डै बाँचेर फर्केको छु ।’

‘जोखिमको कोणबाट हेर्दा काठमाडौं नेपालको आगलागीको उच्च जोखिम भएको ठाउँमध्ये पर्छ,’ कुँवरले सुनाए, ‘काठमाडौंमा धेरै अग्निका स्रोत छन् । अधिकांश मानिसमा पूर्वतयारी सम्बन्धी चेतनाको अभाव छ । सबै टोलमा हामीले बर्सेनि रुपमा आधारभूत सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।’

कुँवर भन्छन्, ‘घटनाको आकारको विषयमा मेरो बुझाइ भिन्न छ । सामान्यतया घटनामा मान्छेको मृत्यु भएन भने त्यसलाई सानो घटना मान्न सकिन्छ । अग्नि नियन्त्रण कार्य मानवीयताको पेशा हो । मानिसको मृत्यु भयो भने त्यो ठूलो घटना मान्नुपर्छ भन्ने मेरो बुझाइ हो । अर्को कोणबाट हेर्दा घटना आकारको हिसाबले पनि सानो ठूलो हुन्छ ।’ सबै घटना एकै प्रकारको नहुने कुँवरको भनाइ थियो ।

आफूले कुनै पनि आगलागीको घटनालाई यत्तिकै नछोडेको कुँवरको दावी छ । ‘करोडौं धनराशीभन्दा बढी क्षति भएका घटना पनि मेरै आँखा अगाडि घटेका छन्,’ कुँवर आफ्नो अनुभव सुनाउँछन्, ‘हाम्रो अहिलेसम्मको अनुभवले के भान्छा भने जुनसुकै आगलागीका घटना पनि अन्ततः हामीले नियन्त्रणमा लिएरै छाडेका छौं र कहिल्यै त्यसै फर्केका छैनौं । समस्या समाधान गरेर मात्रै फर्केका छौं ।’

कुँवरसँग धेरै तीतामिठा अनुभवहरू छन् । ‘२०६८ साल मंसिर २८ गते महाबौद्धको एउटा घरको चौथो तलामा आगलागी भएको थियो । हामीले पहिला भुइँबाटै पानीको फोहरा प्रयोग गरेर आगो नियन्त्रणमा लिने प्रयास गर्यौं । तर त्यो प्रभावकारी भएजस्तो नलागेपछि मेरो नेतृत्वमा ३ जना आगलागी भएको कोठामै गयौं । आगो चौतर्फी कोठाभरि नै बलिरहेको थियो,’ कुँवरले स्मरण गर्दै भने । 

‘हामीले पानीको फोहरामार्फत आगो निभाउँदै थियौं, आगो निभ्दै गयो । अचानक हाम्रो पाईपमा पानी बन्द भयो । पानी किन बन्द भयो भनेर म र १ जना साथी घरको कौशीमा निस्क्यौं । मैले दमकलतिर हेरेर भनें, पानी किन बन्द भयो ? मैले तल हेरेर चिच्याइरहेको थिएँ, भित्र अचानक ठूलो आवाज आयो । घरको छत र गाह्रो भत्किएर १ जना साथी त्यहीँ पुरिएछ ।’

‘हामी केवल ३ सेकेन्डले बाहिर पर्यौं तर १ जना साथी भित्र पुरिए । उनी सशस्त्र प्रहरीका जवान थिए । धुवाँ र धुलोमा हामीले केही देखेनौं । तर कता–कता भित्रबाट साथीको आवाज आयो – ‘सर मलाई बचाउनुस्, सर मलाई बचाउनुस्’ । हामीले उनको आवाज सुनेपछि इँट्टा र माटोको बीचबाट उसलाई निकाल्यौं तर साथीको दायाँ हातको सबै औंला करीब गइसकेका थिए । साथीलाई धन्न हामीले बचाउन सफल भयौं,’ कुँवरले गहिरोसँग स्मरण गरे । उनले थपे, ‘त्यति आगो र पानीले घरको गाह्रो र छत मक्किइसकेको रहेछ । हाम्रो दमकलको पानी नसकिएको भए हामी तीनै जना त्यहीँ समाप्त हुन्थ्यौं ।’ कुँवर भन्छन्, ‘थोरै क्षणले बाँचेका घटनाहरू धेरै छन् ।’

उनी अर्को घटना सम्झिँदै भन्छन्, ‘यही ३ महिना अघितिरको घटना हो, अस्ट्रेलियन दूतावास अगाडि एउटा सेनेटरी प्याडको स्टोरमा आगलागी भएको थियो । हामी सधैंजसो आगलागी नियन्त्रण गर्न जानुभन्दा अगाडि विद्युत् प्राधिकरणलाई खबर गरेर जाने गर्छौं । त्यो दिन पनि त्यसै गरेका थियौं ।’

उनले भावुक हुँदै भने, ‘हामीले आगलागी नियन्त्रण गर्न शुरू गर्यौं । बाहिरदेखि भित्रसम्म आगो नियन्त्रणमा खटिएका अरू सहभागीहरू पनि धेरै नै संख्यामा थिए । आगो नियन्त्रणमा आइरहेको थियो । तर अचानक विद्युत् लाइन आयो । घर अगाडिको माथिपट्टि हाई टेन्सन विद्युतीय लाइन रहेछ । आगोको रापका कारणले बिजुलीको तार चुँडियो र बिस्फोट भयो ।’

‘पशुपतिको कृपाले भन्नुपर्छ, घरमा जम्मा भएको पानी र दमकल भएको ठाउँको जम्मा २ फिटबीचमा तार अडियो । अन्यथा २ फिट यता वा उता भएको भए खत्तम हुन्थ्यो । १५–२० जनाको सोही ठाउँमा नै ज्यान जाने अवस्था हुन्थ्यो ।’

कुँवरसँग यस्ता ‘नियर मिस इभेन्ट’ धेरै छन् । ‘४–५ सेकेन्डको समय दूरीमा परेर म धेरैपटक बाँचेको छु,’ कुँवर स्मरण गर्छन्, ‘पशुपतिनाथ र भाग्यको आशिर्वादले हो भन्ने लाग्छ ।’ आगलागीबाट हुने धनजनको क्षतिका प्रत्यक्ष साक्षी रहेका कुँवरले फायर कमान्डरको रूपमा काम गरेको जुद्ध शमशेर अग्नि नियन्त्रण कार्यालय विक्रम संवत् १९४४ मा स्थापना भएको थियो । 

‘हामीलाई अहिलेसम्म बेलायत, ईटली, अस्ट्रिया र यूएनडीपीले प्राविधिक सहायता प्रदान गरेको छ । व्यक्तिगत सुरक्षाका लागि हामीसँग अनुदानमा प्राप्त भएका सामग्रीहरू युरोपियन स्ट्यान्डर्ड छन्,’ कुँवर गुनासो गर्छन्, ‘तर हामीले आधारभुत तहको तालीम पनि प्राप्त गरेका छैनौं । एड्भान्स र रिफ्रेसमेन्ट तालिमको त कुरै नगरौं ।’

फागुन २९, २०७५ मा प्रकाशित

नारायण अर्याल

अर्याल लोकान्तर संवाददाता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस