नक्कली प्रमाण पत्र पेश गरी जागिर खाने प्रहरी नायब निरीक्षक विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

फागुन २९, २०७५

काठमाडौं- नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी परिसर जावलाखेलमा कार्यरत प्रहरी नायव निरीक्षक प्रकाशचन्द्र घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शैक्षिक योग्यताको नक्कली प्रमाण पत्र पेश गरी सेवामा प्रवेश गरी नियुक्ति लिई लाभ समेत लिएको अभियोगमा निजविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले विज्ञप्तिमार्फत् जनाएका छन् ।


ADVERTISEMENT

'प्रहरी नायव निरीक्षक प्रकाशचन्द्र घिमिरेले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी सेवामा प्रवेश गरी नियुक्ति लिई लाभ समेत लिएको देखिँदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन माग दाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ,' प्रवक्ता दंगालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

फागुन २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस