रोबोट प्रविधि : अहिलेलाई सुबिस्ता, पछि चाहिँ विनाश

फागुन ३०, २०७५

आमूल विकास तथा सकारात्मक प्रगति आममानव तथा सम्पूर्ण विश्व जगतको शाश्वत सत्य र अनिवार्य आवश्यकता समेत हो । सबै समय र स्थानका मानिसले विकासका लागि एकल तथा सामूहिक प्रयास गर्नुपर्छ । ढुंगे युगबाट कृषि युग हुँदै पशुपालनको समयमा समेत सापेक्षतामा केही विकास अवश्य भए । तर पछिल्लो शय वर्ष विकास र प्रगतिको रफ्तार उच्च रह्यो र मानव जीवनमा कहिल्यै नसोचिएको उथलपुथल ल्यायो । 

ईसापूर्व १००० को ग्रीसेली, त्यसपछि रोमन नहुँदै मेसोपोटामिया अनि ह्वाङ्हो भ्याली सभ्यताका समय केही रोमाञ्चक विकास भए । पानीघट्टा, ज्यामितीय आँकलन, वाष्पयन्त्र त्यसैका उदाहारण हुन् । लेखक जँ बड्रिलार्ड आप्mनो पुस्तक ‘सिमुलाक्रा यान्ड सिमुलेसन’ मा कल्पनालाई सबैभन्दा महत्त्वपूर्ण सामर्थ्य मान्छन् । पूर्वीय दर्शनको आदिग्रन्थ वेदमा समेत पुष्पकविमान, आकाशवाणी, पानीजहाज लगायत अहिलेका अधिकांश प्रविधिको कल्पना देखिन्छ । आधुनिक समयमा विज्ञानले ती कल्पनालाई यथार्थमा ल्याउँदा मानव जीवनमा बहुपक्षीय सुलभता र सहजता आए ।  


ADVERTISEMENT

सन् १८७६ मा ग्राहमले तत्कालमा सबैभन्दा फरक वैज्ञानिक उपलब्धिस्वरूप फोनको आविष्कार गरे । १९०१ मा मार्कोनीले रेडियो, बेयर्डले १९२५ मा टेलिभिजन, १९३८ मा इर्कड र माउच्लीले कम्प्युटरको विकास गराउँदा नयाँ आविष्कारको शृंखला नै बन्यो । एकपछि अर्को गर्दै एटीएम मशिन, इन्टरनेट, रकेट, जेनेटिक इन्जिनीयरिङ, वासिङ मशिन, विद्युतीय चिम, हवाईजहाज, केबलकार आदि बन्दै गए । 

यी सबै विकासहरू मानवकै विशिष्ट क्षमता र अभ्यासले सम्भव भए । रोमाञ्चक र अविश्वसनीय आविष्कारले नयाँ उचाइ लिँदै पछिल्लोपटक यान्त्रिक बौद्घिकताको लहर आउँदैछ । मानवीय व्यवहार प्रदर्शन गर्नसक्ने यन्त्र अथवा रोबोटहरूमार्पmत यसको प्रयोग व्यापक बन्दैछ । मशिन भए पनि उनीहरू काममा मानव जस्तै देखिन्छन् । केही विलक्षण मानिसहरूका उच्च रचनात्मकताले जन्माएकोे त्यो यान्त्रिक विद्वत्ताले बाँकी आम मानिसमाथि असीमित जैविक चुनौती थप्ने देखिन्छ । 
के हो यान्त्रिक विद्वत्ता ?

यसको पहिलो लक्षण र अन्तिम आघात अर्थव्यस्थामाथि नै देखिनेछ, सबैभन्दा पहिले आर्थिक क्षेत्र नै रुग्ण र जीर्ण बन्नेछ । यसका भविष्यका अन्तर्घातहरूलाई सम्बोधन गर्न बेलैदेखि सबै सरोकारवालाहरू सचेत हुन आवश्यक छ । 

यन्त्रहरू मानवबाट मात्रै निर्मित र सञ्चालित हुनुपर्ने पुरानो व्याख्यालाई चुनौती दिँदै मानव जस्तै काम गर्नसक्ने स्वचालित यन्त्रमानवको विकास नै यान्त्रिक विद्वत्ता हो र यसलाई कृत्रिम प्रज्ञा समेत भनिन्छ । जोन हायसले ‘ द कम्प्ल्टि प्रोब्लम सल्भर’ नामक पुस्तकमा कृत्रिम प्रज्ञालाई संसारका सबै समस्याको समाधानका रूपमा हेरेका छन् । पछिल्लो समय आफैं चल्ने गाडी, स्वचालित हतियार, स्वचालित रोबोट, खेतबारीमा काम गर्ने स्वचालित मशिनहरूको प्रयोग बढ्दैछ । जापानमा एक बीमा कम्पनी ‘फुकको लाइफ इन्स्योरेन्स’मा मानवस्रोत तथा श्रमसाधनको सट्टामा केही हदसम्म यन्त्रमानवले काम गर्दैछन् । दुई वर्षपहिले त्यहाँ नै एउटा होटलले रोबोटहरूकै प्रयोगबाट आगन्तुकलाई सेवा दिने अभ्यास थालेको थियो ।

नेपालमा समेत दरबारमार्गस्थित एसबीआई बंैकभित्र परी नामक रोबोटको प्रयोग गरियो । यस्ता यन्त्रमानवले मानिसका जिज्ञासाको जवाफ दिने, आवश्यकता अनुसार सहयोग गर्ने काम गर्छन् । अबको केही दशकभित्र अहिले मानवले मात्र गर्नसक्ने भनिएका अधिकांश कामहरू रोबोटबाटै हुनेछन् । अबको क्रान्ति भनेकै रोबोट क्रान्ति हुने देखिन्छ । रोबोट उत्पादनमा सक्रियमध्येका एन्ड्रोइड लभ डल, सेक्स बोट, ट्रु कम्प्यानियन नामक कम्पनीहरूले त हिँडडुल गर्ने, दोहोरो संवाद गर्ने, मानवीय संवेदना र उत्तेजना प्रर्दशन गर्ने अनि सम्भोग समेत गर्नसक्ने रोबोटको विकासमा समेत काम गरिरहेको बताएका छन् । सुन्दा निकै रमाइलो लाग्ने यी कृत्रिम प्रज्ञाको विकासले दिने पीडा भने अवश्य पनि अधिक हृदयविदारक र दर्दनाकसमेत हुनेछ । 

पीडाको पोखरी

नीक बोर्स्टम र एम मिलानको सम्पादन रहेको २००८ मा प्रकाशित पुस्तक ‘ग्लोबल क्याटास्ट्रोफिक रिस्क’ले संसारका अन्य समस्या वातावरण विनाश, आतंकवाद, भोकमरी, लागूपदार्थ दुर्व्यसनी, गृहयुद्घ जस्तै कृत्रिम प्रज्ञालाई पनि मुख्य समस्या भन्छ । मर्भिन मिस्कीको पुस्तक ‘द सोसाइटी अफ माइन्ड’ ले समेत समान तर्क गर्छ । 

जब कृत्रिम मानवहरूले अन्य सामान्य मानिसले जस्तै कामहरू गर्छन् यसको सबैभन्दा सघन प्रभाव पर्ने पक्ष रोजगार बजार हो । अहिले नै सामान्य मशिनको प्रयोगका कारण थुपै्र मानवले रोजगारी गुमाइरहेका छन् । व्यावसायिक सञ्चार विषयका एक लेखक प्राध्यापक कोर्टल्यान्ड बोभीको तर्क छ – मसलबेस्ड इकोनोमीबाट मशिनबेस्ड अपरेसनमा जाँदा नै रोजगारीका अवसरमा भारी कटौती आइसकेको छ । एउटा इन्टरकमले एक वा दुई रिसेप्सनिस्टलाई प्रतिस्थापन गर्दैछ । एउटा ट्याली नामक सफट्वेयरले कम्तीमा दुईदेखि तीनजना लेखापालहरूलाई विस्थापन गर्दैछ । अघिल्लो दशकमा कुनै पनि बैंकको सामान्य शाखा सञ्चालनमा ल्याउन कम्तीमा एक दर्जन मानवस्रोत आवश्यक हुन्थ्यो । अहिले अधिकांश बैंकका सामान्य शाखाहरू चारदेखि पाँचजनाबाट नै कुशल रूपमा सञ्चालित छन् । अझ बौद्घिकता वा प्रज्ञा समेतले सुसज्जित भएका यन्त्रमानव समेत बनेमा रोजगारीमा गम्भीर गिरावट आउने सम्भावना छँदैछ । 

‘अकाउन्टेन्सी फ्रम पी डब्ल्यु’ नामक एक प्रतिवेदन अनुसार कृत्रिम प्रज्ञाका कारण सन् २०३० सम्ममा अमेरिकामा ३८, जर्मनीमा ३५, बेलायतमा ३०, जापानमा २१ प्रतिशत रोजगारी प्रतिस्थापन हुने देखिन्छ । बढीमा यातायातमा ५६ देखि उत्पादनमूलक क्षेत्रमा ४६ हुँदै सबैभन्दा कम शिक्षामा ९ प्रतिशत प्रभाव पार्ने सर्वेक्षण नतिजाहरू बाहिरिएका छन् । 

चाहेर पनि मानिसले हप्तामा १५ घन्टाभन्दा बढी काम पाउन नसक्ने र जीवन जिउने आर्थिक उपार्जन नै हुन नसक्ने अनुमान छ । कामको चरम अभावका कारण आलस्यता, अभाव हुँदै अपराधको मार्गमा मानिसहरू होमिनेछन् ।

यसरी रोजगारीमा सघन गिरावट आएपछि असंख्य मानिसले आर्थिक हैसियत गुमाउनेछन् । भयावह आर्थिक संकुचन, संकट तथा असमानताहरूले मानवलाई अत्याउनेछन् । जीवन निर्वाहकै लागि हत्या, हिंसा, लुटपाट, चोरी डकैती जस्ता आपराधिक गतिविधिहरू बढ्नेछन् । मानिसहरू आफूसँग भएका सम्पत्ति बेचबिखन गरी जीवन निर्वाहका लागि सस्ता देशहरूमा उच्च बसार्इंसराइ गर्ने अनुमान गरिँदैछ । अन्तर्देशीय अपराध समेत मौलाउनेछ । हरेक कुरा यान्त्रिक हुने भएकाले विद्युतको माग अहिलेभन्दा ४० गुणा सम्मले बढ्ने र संसारभर ऊर्जाको भयावह संकटसमेत हुने देखिएको छ । जीवनमा वैराग्यका र मानवीय असंवेदनाका कारण मानिसहरू सामाजिक, पारिवारिक दायित्वबाट पनि पन्छिने हुनसक्छ । पारिवारिक विखण्डन हुने, शिशु जन्मदर अधिक घट्ने साथै मानिसमा नकारात्मक विचारहरूको प्रवाह बढ्दा सभ्यता र विकास नै रोकिन सक्नेसम्मका चिन्ताहरू गहिरिँदैछन् । 

चाहेर पनि मानिसले हप्तामा १५ घन्टाभन्दा बढी काम पाउन नसक्ने र जीवन जिउने आर्थिक उपार्जन नै हुन नसक्ने अनुमान छ । कामको चरम अभावका कारण आलस्यता, अभाव हुँदै अपराधको मार्गमा मानिसहरू होमिनेछन् ।

उपभोक्ताको सामर्थ्य घटेपछि उत्पादकहरू पनि शिथिल वा बन्द हुने हुँदा आर्थिक प्रगतिमा नै विशाल धक्का लाग्नेछ । कम्पनीहरू धराशायी बन्नेछन् । मशिनको अत्यधिक प्रयोगबाट देशका सुरक्षासँग सम्बन्धित अत्यन्त गोप्य तथ्यांकहरू चोरिन सक्छन् । विगतका साइबर हमलाहरू यसैका उदाहरण हुन् । अघिल्लो वर्षमात्र नेपालमा ५८ सरकारी कार्यालयका वेबसाइटहरू आक्रमणमा परेका थिए । उत्तर कोरियाबाट सञ्चालित भनिएको लाजारस नामक ह्याकरले एनआईसी एसिया बंैकको स्विफ्ट ह्याक गरी ठूलो नोक्सानी पुर्‍यायो । केही महिना पहिलेमात्र त्रिभुवन विमानस्थलको वेबसाइटमा इन्डोनेसियाली ह्याकरबाट आक्रमण भएको थियो । विद्युतीय सुरक्षा जोखिममा नेपाल १२२ देशमध्ये १०८ औं स्थानमा रहेको देखिन्छ । यान्त्रिक विद्वत्ताको कारण प्राकृतिक रूपमा प्रदत्त मानवको गोपनीयताको अधिकारको गम्भीर उल्लंघन हुनेछ । 

अहिले नै गूगलमा प्रतिसेकेन्ड ४० हजार खोजी गरिन्छ । कृत्रिम प्रज्ञाको बाहुल्यपछि इन्टरनेट प्रविधिमाथि करोडौं गुणाले भार बढ्छ र शायद उक्त समयमा कामै गर्दैन । काम गर्दागर्दै आइपर्ने मानवीय संवेदना, सत्यताको सापेक्षता, आवश्यकताको विवेक जस्ता पक्षहरूका आधारमा हुनुपर्ने व्यावहारिक फरक देखाउन मशिनले सक्दैन । सम्पूर्ण प्रणाली नै अस्तव्यस्त हुनेछ । एकोहोरो प्राविधिक अराजकताले सबैलाई नराम्ररी अत्याउनेछ । त्यस्ता मशिन र प्रविधि खरिद गर्न अत्यधिक पैसा लाग्छ । अनुभवबाट सिक्ने र गल्तीबाट सुध्रने आधुनिक व्यवस्थापनका सिद्घान्तहरू कामका कुनै पनि क्षेत्रमा लागू हुँदैनन् । 

पहिले विश्वयुद्घहरूले संसार ध्वंस भएजस्तै अब चाहिँ प्रविधिमाथिको पराधीनता अनि प्राविधिक आक्रमणले त्यस्तो विनाश ल्याउनेछ । आर्थिक विकासको खोजीमा हिँडिरहेको संसारलाई फेरि गलत बाटोमा लैजान सक्छ । यान्त्रिक विद्वत्ता  अहिलेलाई विकासको प्रशंसनीय उपलब्धि भए पनि भविष्यलाई अन्तर्घाती विनाशको बाटो बन्ने पक्का छ । यसको पहिलो लक्षण र अन्तिम आघात अर्थव्यस्थामाथि नै देखिनेछ, सबैभन्दा पहिले आर्थिक क्षेत्र नै रुग्ण र जीर्ण बन्नेछ । यसका भविष्यका अन्तर्घातहरूलाई सम्बोधन गर्न बेलैदेखि सबै सरोकारवालाहरू सचेत हुन आवश्यक छ । 

फागुन ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस