थाहै नपाई बिग्रन सक्छ मिर्गौला, कसरी बच्ने ?

फागुन ३०, २०७५

काठमाडौं- मिर्गौला बिग्रिएर जीवनमा तनाव भोगेका व्यक्ति धेरै भेटिन्छन् । विभिन्न कारणले मिर्गौला बिग्रिन्छ । तर समस्या के भने कुनै लक्षण नै नदेखाई मिर्गौला बिग्रिन पनि सक्छ । झुक्किएर मिर्गौला गुमाउनुपरेको पनि धेरै भेटिन्छन् । खासगरी दीर्घरोगीहरूको मिर्गौला कुनै लक्षण नै नदेखिई बिग्रिन सक्छ ।

स्वास्थ्य अवस्था सामान्य भएका तथा कुनै दीर्घरोग नभएकाको मिर्गौला बिग्रिँदै जाँदा लक्षण देखिन्छन् । तर यी लक्षण पत्याउनै नसकिने हुन सक्छन् । मिर्गौलामा नभएर अन्य समस्या भएको जस्तो लाग्छ,  जस्तै : उकालो–ओरालो गर्दा थकाइ महसूस हुने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, अत्यधिक पानी पिउँदा पनि मुख सुकिरहने जस्ता लक्षण देखिन्छन् ।


ADVERTISEMENT

सामान्य व्यक्तिमा मिर्गौला बिग्रिएको लक्षण बिरामीअनुसार फरक–फरक देखिन सक्छ । मिर्गौला बढी नै बिग्रिँदै गएको छ भने बिरामीको छाला फुस्रो हुँदै जाने र बिस्तारै छालाको कत्ला नै निस्किन थाल्छ । मिर्गौलाले कामै गर्न नसक्ने अवस्था भइसकेको छ भने शरीरमा पानी जम्मा भएर फुल्न थाल्छ । फोक्सोमा पानी जम्मा हुन सक्छ ।

दीर्घरोगले ग्रस्त व्यक्तिको भने मिर्गौलामा समस्या भएको थाहै नहुन सक्छ । दीर्घरोगीलाई बाहिर लक्षण नदेखिने र भित्रभित्रै कमजोर बनाएर मिर्गौला ड्यामेजको अवस्थामा पुग्ने खतरा रहन्छ ।

दीर्घरोगीले बेला–बेलामा मिर्गौला जाँच गराउनु नै खतराबाट बच्ने उत्तम उपाय हो । पिसाब परीक्षण गरेर पनि मिर्गौला स्वस्थ रहे/नरहेको पत्ता लगाउन सकिन्छ । बिग्रिन थालेको सुरुवाती अवस्थामै पहिचान भएर उपचार गरिए मिर्गौला जोगाउन सकिन्छ ।

फागुन ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस