पाका डाक्टरको अनुभूति : सत्य बोल्दा खुस्किन आँटेको जागिर झूट बोलेपछि जोगियो !

चैत ५, २०७५

काठमाडौं फर्किएपछि स्वास्थ्य मन्त्रालयबाट वीर अस्पतालको बालरोग विभागमा काम गर्ने गरी नियुक्ति पाएँ । कान्ति अस्पताल बालअस्पतालमा परिणत भएको थिएन । म समेत अरू ५ जना विशेषज्ञहरू वीर अस्पतालमा कार्यरत थियौँ । डा. पुष्पलाल राजभण्डारी, डा. योगेन्द्रभक्त श्रेष्ठ, डा. बद्रीराज पाण्डे, डा. ध्रुवलाल श्रेष्ठ र हेमांग दीक्षित । हामी ६ जनाका लागि बालरोगमा १० शैय्या छुट्ट्याइएको थियो र दुई पण्डित (हेमांग र म) २ लाल (पुष्पलाल र धु्रवलाल) र २ अन्टसन्ट (योगेन्द्रभक्त र बद्रीराज) को ३ यूनिट खडा भयो । त्यसबेला वीर अस्पतालमा दुई फिजिसियन– डा. मृगेन्द्रराज पाण्डे र सच्चेकुमार पहारी र ४ जना शल्य चिकित्सकहरू– डा. अञ्जनीकुमार शर्मा, डा. दिनेशनाथ गंगोल, डा. मोइन शाह र डा. विश्वराज दली पनि कार्यरत थिए ।

राजधानीमा उत्तर र दक्षिण गरी दुई अस्पताल थिए– रसियन अस्पताल अर्थात् कान्ति अस्पताल र अमेरिकन अस्पताल अर्थात शान्तभवन अस्पताल ।


ADVERTISEMENT

वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना र पथलैया–ढल्केवर सडक निर्माण र त्रिभुवनकी रानी कान्तिको नाउँले ५० शैय्याको कान्ति अस्पताल रूसी सहयोगअन्तर्गत स्थापित भएका थिए । कान्ति अस्पतालको सञ्चालन केही वर्षसम्म जेनरल हस्पिटलको रूपमा रसियनद्वारा भएको थियो र पछि श्री ५ को सरकारलाई हस्तान्तरण गरिदिएका थिए । रसियनहरूले छाडेपछि कान्ति अस्पतालको कन्तविजोग भयो । एक दिन यस्तो पनि आयो, एक जना बिरामीसम्म पनि अस्पतालमा थिएनन् र यो अस्पताल श्री ५ को सरकारका लागि घाँडो भएको थियो ।

आवश्यकताभन्दा पनि ६ जना बालविशेषज्ञहरूको जमातको समस्या समाधानका लागि श्री ५ को सरकारले वीर अस्पतालका सुपरिटेन्डेन्ट डा. महेन्द्र प्रसाद मातहत यसलाई बालअस्पतालमा परिणत गर्‍यो र हामी ६ भाइकै पदस्थापना कान्ति अस्पतालमा भयो । पछि यसको सुपरिटेन्डेन्टमा सबैभन्दा वरिष्ठ बालचिकित्सक डा. पुष्पलाल राजभण्डारीको नियुक्ति भयो ।

डा. पुष्पलाल राजभण्डारीको अवकाशपछि सो ठाउँमा नियुक्तिका लागि वरिष्टतम डा. योगेन्द्रभक्तको नाउँको चर्चा चल्यो र उनलाई सोधनी हुँदा उनले ठाडै अस्वीकार गरे । कान्ति अस्पतालका ११ लाखको बजेट स्वीकृत थियो । सोमध्ये ७ लाख कर्मचारीको तलबमा जान्थ्यो । बाँकी ४ लाखमा सिंगो बालअस्पताल सञ्चालन गर्नुपर्ने हाँक उनलाई स्वीकार्य भएन । त्यसपछि मलाई अनुरोध गरियो । चुनौतिलाई अवसरको रुपमा प्रयोग गर्न र सफलता हात पार्न मैले सहर्ष स्वीकार गरेँ र कान्ति अस्पतालको सुपरिन्टेन्डेन्टको पद सँभााल्न पुगेँ । वीर अस्पताल विकास समितिमा परिणत भइसकेको थियो । कान्ति अस्पताललाई बालअस्पतालको रूपमा दिगो विकासका लागि स्वायत संस्थाको रूपमा खडा गर्न विकास समितिको रूपमा परिणत गर्न र बजेट रकम बढाउन श्री ५ को सरकारलाई अनुरोध गर्नु मेरो पहिलो प्राथमिकता थियो ।

सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्व काल थियो । म पारिवारिक चिकित्सक भएका नाताले यो काम मेरो लागि सहज हुन गयो ।

अर्जुननरसिंह के.सी. थिए स्वास्थ्यमन्त्री र सचिव थिइन् चन्द्रकला किरण । प्रधानमन्त्रीको कार्यकक्षमा स्वास्थ्यमन्त्री, सचिवलाई बोलाहट भयो र प्रधानमन्त्रीले स्वास्थ्य सचिवलाई ‘डा. बरालको सल्लाहअनुसार प्रस्ताव तैयार गर्नू’ भनी आदेश दिए । चन्द्रकला किरण जंगी स्वभावकी सचिव थिइन् । अन्तर्राष्ट्रिय नारी वर्षका बेला रानी ऐश्वर्यबाट महिला सचिव नियुक्ति गर्नू भनी दिएको आदेशमा वरिष्ठ महिला प्रशासक वृन्दा पाण्डेले परराष्ट्र सेवा छाड्न नमानेकाले चन्द्रकला किरणको दुई तह पदोन्नति भएर तालुमा आलु फलेपछि उनलाई स्वास्थ्य सचिव बन्ने सौभाग्य प्राप्त भएको थियो । ‘डा. बरालको सल्लाहअनुसार’ भन्ने प्रधानमन्त्रीको आदेश उनीलाई सुपाच्य भएन र आफ्नो अपमान भएको शरीरभाषा देखाई फाइललाई प्रधानमन्त्री तर्फ बजारी बैठकबाट बाहिरिन् । प्रधानमन्त्रीलाई स्वास्थ्य सचिवको दरबारिया पहुँच र शक्ति थाहा थियो । प्रधानमन्त्रीको आदेशमा स्वास्थ्यमन्त्रीले स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. गौरी शंकरलाल दासलाई मन्त्रिपरिषद्‍मा पेश गर्ने प्रस्ताव तैयार गर्न अह्राए ।

मुमा बडामहारानी कान्तिको नाउँमा स्थापित कान्ति अस्पतालको बीचमा ‘बाल’–शब्द घुसाउन दरबारमा लेखापढी र स्वीकृति आवश्यक थियो र झन्झटिलो पनि । प्रस्ताव तैयार गर्दा डा. गौरी शंकरलाल दासले अनजानमा ‘कान्ति बालअस्पताल विकास समिति’ शीर्षक राखेर प्रस्ताव तैयार गरेछन् र सोहीअनुसार मन्त्रिपरिषद्‍मा प्रस्ताव पेश भएर स्वीकृत भएर आयो र यस प्रकार रातारात कान्ति अस्पताल कान्ति बालअस्पतालमा नामाकरण हुन गयो ।
देशको एक मात्र बालअस्पतालको रूपमा खडा भएको बालअस्पतालको बजेट ११ लाख भएको मबाट थाहा पाएपछि संवेदनशील भएर प्रधानमन्त्रीले कान्ति बालअस्पताललाई १ करोड बजेट विनिमय गर्ने आदेश दिनुभयो र सो पनि पालना भयो र यस प्रकार मेरो दुवै चाहना पूरा हुन गयो र मलाई काम गर्न केही सहज भयो ।

कान्ति अस्पतालमा कार्यरत हुँदा एउटा घटना घटयो । कन्हैया राजभण्डारी (उहाँलाई हामी कन्दाइ भन्थ्यौँ) को कमलपोखरीको कुमारीथानको घरमा म सपरिवार डेरा लिई बसेको थिएँ । उहाँ मेरो पारिवारिक र सदस्य मित्र हुन पुग्नुभयो । मैले काठमाडौँमा घर ठड्याउँदा उहाँले नै ठूलो सहयोग गर्नुभएको थियो ।

उहाँका छोरा कुञ्ज राजभण्डारीका तर्फबाट जुम्ल्याहा शिशु जन्मे, दुवै छोरी । जुम्ल्याहा शिशु दुवै कम वजन भएका उनीहरूलाई बचाउने जिम्मा उहाँले मलाई सुम्पिनुभयो । मैले प्रसूतिगृह भर्नाबाट निकालेर आफ्नो निगरानीमा कान्ति बालअस्पतालमा ल्याएँ ।

त्यसबेला नवजात शिशु सघन उपचार–कक्ष थिएन । त्यसैले एउटा कोठालाई सघन उपचार–कक्षमा परिणत गराएँ । उहाँकी छोरी जोलीलाई नर्सको रूपमा जिम्मा दिएँ । कोठालाई हिटरका मद्दतले न्यानो पारेँ । नलीबाट दूग्ध आहार दिने तारतम्य मिलाएँ र बाहिरका मानिसलाई कोठाभित्र आउन बन्देज लगाएँ । पशुपतिको कृपा, यी दुवै बाँचे । यिनीहरूको नामाकरण मैले नै गर्नुपर्ने भयो । त्यसबेलाका चर्चित दुई हिन्दी सिनेमा थिए– मिली र जुली । दुवै मिली–जुली आएकाले एउटाको नाउ मिली र अर्काको नाउँ जुली राखिदिएँ ।

दुवै मिली–जुली अहिले आफ्नै सन्तानका आमा भइसकेका छन्, मलाई ‘पापा’ भनी सम्बोधन गर्दछन् । कन्दाइ परिवारको सदस्यहरूमा हाम्रो नाउँ पनि गाँसिन पुगेको छ । केही महिनाअघि वैशाख २०७४ तीर्थाटनको क्रममा गुजरातमा उहाँको ८४ वर्षको उमेरमा निधन भइसकेको छ ।

देशको एक मात्र बालअस्पताल– कान्ति बालअस्पतालमा नवजात शिशु सघन उपचार–कक्ष नभएकोले मलाई ज्यादा पिरोलेको थियो । डा. रणेन्द्रप्रकाश बहादुर श्रेष्ठ बेलायतबाट बालरोग विशेषज्ञता लिई कान्ति बालअस्पतालमा कार्यरत हुनुहुन्थ्यो । अस्पताल भण्डार शाखामा ‘जर्मन–नेपाल मैत्री संघ’बाट उपहारस्वरूप प्राप्त एउटा इन्क्युबेटर बिग्रिएर थन्किएको थियो । मर्मत गरेर एउटा कोठालाई सघन उपचार–कक्षमा परिणत गरी अरू केही स–साना सघन उपचार उपकरण राखेर त्यो कक्षलाई सुसज्जित गराएँ । त्यसपश्चात सघन उपचार–कक्षको जिम्मा डा. रणेन्द्रलाई सुम्पिएँ । ‘तँ चिता म पुर्‍याउँछु’ भन्ने उक्तिमा मलाई विश्वास थियो । मैले डा. रणेन्द्रलाई मेरो नवजात शिशु सघन उपचार केन्द्र स्थापना गर्ने अठोटमा साथ दिन अनुरोध गरेँ ।

जापान सरकारको सहयोगमा सँगै टाँस्सिएको शिक्षण अस्पतालको भवन जापानी स्वास्थ्य उपकरणले सुसज्जित थियो, कान्ति बालअस्पतालको भने कन्त विजोग । भौतिक संरचनाका नाममा सोभियत संघको सहयोगमा निर्मित पुरानो भवन मात्र ।

यसतर्फ सहयोग जुटाउने आशाले बेलायतको वर्मिङघमको सबभन्दा पुरानो मातृशिशु अस्पताल– ‘सोरेन्टो मेटरनिटी अस्पताल’मा स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरी ब्रिटिश काउन्सिलको फेलोसिपमा ३ महिना नवजात शिशुमा प्रशिक्षणका लागि पनि पुगेँ । बाल कल्याणकारी कार्यमा समर्पित युनिसेफसँग हात पैmलाएँ, कतैबाट केही सहयोग जुटेन । गैह्र अन्तर्राष्ट्रिय संघ संस्था देशको प्राथमिकता भन्दा पनि आफ्नो कार्यक्रम थोपर्छन् । आफूले चाहेका विदेशी–स्वदेशी विशेषज्ञहरू नियुक्ति गर्दछन् । सहयोगको ठूलो रकम स्वविवेक मै खर्च गरी मनोमानी गर्छन् । गरीब राष्ट्र चुई साल बोल्दैनन् ।

त्यसपछि एक सुखद् घटना घट्यो– मेरो सपना साकार तुल्याउनेतर्फ । एक जापानी सेवादूतको आगमनले कान्ति बालअस्पतालले काँचुली फेर्‍यो ।

हासिमोतोदेखि कान्तिबाल अस्पतालसम्म

रिउतारो हासिमोतो एक दर्जनपटक अविछिन्न रूपमा डाइट (संसद्) सदस्य, विभिन्न मन्त्रालयहरूको पदभार ग्रहण गर्दै प्रधानमन्त्रीको सर्वोच्च पदसम्म उक्लिन सफल व्यक्तित्व । नेपाललाई असाध्यै मनपराउने र नेपाललाई दोस्रो घरका रूपमा लिने व्यक्तित्व । नेपालको हिम श्रृंखलासँग उनको माया–पिरती गाँसिएको थियो ।

सन् १९८४ को हो, जापान पर्वतारोहण संस्थाको ८० औँ वर्ष पुगेको उपलक्ष्यमा कञ्चनजंघा हिमश्रृंखलाको टोलीको नेतृत्व गर्दै उनी काठमाडौँ आइपुगेका थिए । जापान सरकारले महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेको हुन्छ भन्ने सुनेको थिएँ । नेपालको ‘इन्स्टिच्युट अफ मेडिसिन’ र शिक्षण अस्पताल विशाल जापानी सहायताको रूपमा उभिएको थियो तर बालरोग विभाग थिएन । बालरोगको उपचार र अध्ययन–अध्यापन कान्ति बालअस्पतालमा हुन्थ्यो ।

नेपाली बालबालिकालाई पनि जापानी सहयोगको आशा बोकेर म हासिमोतो बसेको होटल याक एण्ड यतिमा अध्यक्ष रामशंकर श्रेष्ठका साथ पुगेँ । हामीले उनलाई बालअस्पताल निरीक्षण गरिदिन अनुरोध गर्‍यौँ । समयाभाव भए पनि उनी नेपालका बालबालिकाहरूको स्वास्थ्य–स्थिति बुझ्ने उद्देश्यले अस्पताल निरीक्षण गर्न तैयार भए । निरीक्षणको क्रममा बालबालिकाहरूको उपचार र कान्ति बालअस्पतालको दयनीय अवस्था देखेर उनको हृदय पग्लियो ।

जापान फर्किएलगत्तै उनले आफ्नो सांसद् कोषको रकम कान्ति बालअस्पताललाई जुटाइदिए र यसको फलस्वरूप पहिलो खेपको अनुदान नवजात शिशु सघन उपचार केन्द्र निर्माण र औजार उपकरणका लागि प्रयोग भयो । त्यसपछि जापानी सहयोगको क्रम शुरू भयो । दोश्रो खेपको सहयोगका लागि म ‘नेपाली राजदूतावासमा टेण्डर खोल्ने’ समारोहमा भाग लिन जाने क्रममा कान्ति बालअस्पतालबाट गलहत्याइएँ ।

कान्ति बालअस्पतालले काँचुली फेर्‍यो । १ अरब ६० करोडको अनुदानमा नयाँ भवनले औजार उपकरणका साथ सुसज्जित हुने सौभाग्य पायो । बाँचुञ्जेल उनको भ्रमण तालिकामा कान्ति बालअस्पताल प्राथमिकता हुन्थ्यो । आज पनि सो अस्पताललाई जापानी सहयोगको सिलसिला जारी छ

झण्डै जागिर खुस्केको !

भट्टको स्वास्थ्यमन्त्रीत्वकालमा मैले प्रेस रिपोर्टरमाझ भनेको थिएँ– ‘आज कान्ति बालअस्पताल जे–जस्तो रूपमा भवन, उपकरणबाट सुसज्जित छ यो रियुतारो हासिमोतोका नेपाली बालबालिकाप्रतिको स्नेह, सदाशयता र जापानी सरकारको सहयोगबाट सम्भव भएको हो । यसमा श्री ५ को सरकारले नाक फुलाउनुपर्ने आवश्यकता छैन ।’

अखबारमा यो भनाइ छापिएको भोलिपल्ट नै मैले स्वास्थ्य सचिवको पत्र पाएँ– ‘तपाईंले प्रेसमा दिनुभएको वक्तव्यप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण भएको छ । निसेनिबमोजिम तपाईंमाथि कारवाही किन नगरिने ? स्पष्टीकरण दिनुहोला ।’

त्योबेला आजको जस्तो सञ्चार उपकरण विकसित भएको थिएन । श्रव्य, दृश्यमा रेकर्ड थिएन । ‘मैले यो भनेकै होइन, प्रेसले बढाई–चढाई छापेको हो ।’ यस्तो आशयको भूmठो स्पष्टीकरण दिई नौकरीबाट चट हुनेबाट जोगिएको थिएँ । परिस्थितिवश कहिलेकाही झूठको सहारा पनि लिनुपर्ने रहेछ– मन्त्रीलाई सत्य–तथ्य स्वीकार्य नभएपछि यो अस्त्र प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

सन् १९७२ मा कान्ति बालअस्पतालमा कार्यरत रहेकै बेला धेरै डाक्टरहरूका साथै मेरो पनि नारायणी अञ्चल अस्पतालमा सरुवा भयो । प्रधानमन्त्री कीर्तिनिधि बिष्ट प्रधानमन्त्री हुनुहुन्थ्यो ।

स्वास्थ्यमन्त्री प्रयागराज सुवाललाई सरुवा रोक्न आदेश दिँदा पनि काम लागेन । त्यसबेला नारयणी अञ्चल अस्पतालमा फिजिसियन डा. डम्बरबहादुर कार्की, सर्जन डा. विश्वराज दली, स्त्रीरोग विशेषज्ञ डा. सानीमैयाँ दली थिए र सिभिल सर्जन थिए डा. इन्द्रबहादुर खत्री । अस्पतालमा सबै रोगका विशेषज्ञहरू भएकाले केही वर्षका लागि वीरगञ्जवासीहरूको वीरगञ्जबाट रक्सौल डंकन अस्पताल जाने क्रम रोकिएको थियो ।

सबैको पालैपालो सोर्स–फोर्सबाट काठमाडौँ फिर्ती भयो । मैले पनि सोर्स–फोर्स लाउन चुकिनँ । सन् १९८९ मा सुशीला थापा स्वास्थ्यमन्त्री भएको बेला डा. हेमांग दीक्षितले आफ्नो पदबाट राजीनामा गरेका थिए । ‘डा. हेमांग दीक्षितले कान्ति बालअस्पतालबाट राजीनामा गरी खाली भएको ठाउँमा डा. बरालको नियुक्ति’ भन्ने आशयको ठाडो प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेपछि यो स्वीकृत भयो । परिणमतः कान्ति बालअस्पतालमा मेरो पुनर्नियुक्ति भयो । डा. नारायणबहादुर थापा, कल्याणराज पाण्डे, डा. कृष्णध्वज खाँड, डा. अच्युतमणि आचार्य पालैपालो त्यसपछि निर्देशक नियुक्त भए ।

(डा. मणीन्द्र रञ्जन बरालको पुस्तक 'नियति र अनुभूति' बाट । कुलचन्द्र गौतम स्मृति संस्थाले प्रकाशित गरेको पुस्तक बजारमा उपलब्ध छ । निकै पाका बालरोग विशेषज्ञ डा. बरालको यो पुस्तकमा उनको जागिरे जीवन, नेपालको तत्कालीन राजनीति र स्वास्थ्यसम्बन्धी रोचक र जानकारीमूलक तथ्यहरू समावेश छन् ।)

चैत ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस