संविधानमा हिन्दू राष्ट्रको सवाल : राजनीतिक कि सामाजिक, सांस्कृतिक ?

चैत ९, २०७५

नेपाली राजनीतिमा पेचिलो बन्दै गएको छ हिन्दू राष्ट्रको मुद्दा । यस्तै अवस्था रहेमा सरकार मात्र होइन, दलहरूकै लागि पनि ठूलै चुनौती बन्ने संकेत देखिँदैछ । यसैलाई लिएर मेचीकाली जागरण अभियानमा होमिएको छ राप्रपा नेपाल ।

वैधानिक तरिकाले नभए सडकबाटै हिन्दूराष्ट्र घोषणा गर्छौ भन्न थालेका छन् राप्रपाका नेताहरू । नेपाली कांग्रेसमा पनि यसबारे खुलेरै बहस हुन थालेको छ ।  कांग्रेस महामन्त्री शशांक कोइराला जनमत संग्रहबाट यसको छिनोफानो हुनुपर्छ भन्दै आएका छन् । क्रमशः अन्य नेताहरू समेत क्रमशः खुल्दै गएका छन् । सत्तारुढ दल नेकपाभित्रै पनि यसप्रति रुझान राख्ने नेता तथा कार्यकर्ता थुप्रै छन् । 


ADVERTISEMENT

नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुमा कांग्रेसकै बढी भूमिका छ भन्नेमा द्विविधा छैन । यतिबेला उसकै लागि यो निल्नु न ओकल्नु भइरहेको छ । कांग्रेसले सस्तो लोकप्रियताका लागि गोडा नकमाएको भए यो सम्भव नै थिएन भन्नेमा कांग्रेसी नेताहरू नै बढी जानकार छन् । यसैको कारण कांग्रेस दोस्रो स्थानमा खुम्चिन बाध्य भएको हो भन्ने पनि कांग्रेसी नेताहरूले राम्रै बुझिसकेका छन् ।

अब पनि नचेते आगामी चुनावमा उसको स्थान अझ खस्किने पक्कापक्की जस्तै छ । त्यस्तै परे उसको स्थान राप्रपा नेपालले लियो भने पनि आश्चर्य नमाने हुन्छ । यसको समेत सायद उनीहरूले छनक पाइसकेका छन् ।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनमा प्रशस्तै खेल भएकै हुन् पर्दा पछाडि । सोही खेलकै नतिजा प्रस्फूटन भएको हो संविधान सभाले बनाएको संविधानमा । न जनआन्दोलनमा यस सम्बन्धी माग उठेको थियो, न तत्कालीन विद्रोही माओवादी वृत्तमै यसको संकेत देखिएको थियो । अझ आश्चर्य त के भने संविधान जारी हुनुपूर्व जनतासित मागिएको सुझावलाई समेत लत्याउने काम भएको छ । आँखिर यस्तो किन ? यसमा को कसको बढी हात छ भन्ने धेरै प्रष्ट भइसकेको छ । बाँकी पनि क्रमशः प्रष्ट हुँदै जाने नै छ । अहिलेलाई यत्ति भनौं यसभित्र ठूलै खेल भएको छ ।

बीज टुसाउन मात्र बेर लाग्छ टुसाएपछि हुर्कन बेर लाग्दैन । यो प्राकृतिक न्यायसंगतकै कुरा हो । नेपाललाई पुनः सनातन हिन्दूधर्म सापेक्षकै अवस्थामा फर्काउनुपर्छ भन्ने कुराको बीउ रोपिसकिएको छ । राप्रपा नेपालको कुरै छाडौं कांग्रेसजस्तो जनाधार भएको पार्टीका नेताहरू समेत जनमत संग्रहबाट मात्र छिनोफानो हुनुपर्छ भन्न थालेका छन् भने पक्कै यसले अर्थ राख्छ । कांग्रेसी राजनीतिकै लागि पनि यो आवश्यक भइसकेको छ ।

नेपाली नदीनालामा निकै पानी बगिसकेको छ । जनता आफैं निकै सचेत भइसकेका छन् । उनीहरू आफैं पनि जनमत संग्रहको कुरो गर्न थालेका छन् भने १ दिन राज्यले त्यसलाई स्वीकार्नैपर्छ । यद्यपि आफ्नो पितापुर्खादेखि अपनाउँदै आएको धर्म अवलम्बन गर्न कहाँ रोकेको छ संविधानले भन्ने कुरा पनि आउन सक्छ । 

हामीले सनातनदेखि चलिआएको धर्म अवलम्बन गर्न पाउने हक संविधानमै उल्लेख गरिदिएका छौ नि भन्नेहरू भेटिएका छन् । हालै कांगे्रसी नेता रामशरण महतले यस्तै कुरा गरेका थिए एक धार्मिक सभामा । तर धर्मजस्तो विषय कसैको निगाहमा सीमित हुन सक्दैन । नेपालमा अझै ८१ प्रतिशतभन्दा बढी जनता सनातन हिन्दू धर्मावलम्बी छन् । ओमकार परिवारलाई समेत जोड्ने हो भने यसको संख्या ९१ प्रतिशतसम्म पनि पुग्न सक्छ भन्ने जगजाहेर छ । यस्तो अवस्थामा उसको संरक्षणकै लागि कसैको निगाहा चाहिँदैन । सर्वप्रथम मानिसलाई मानिस भएर बस्न र बाँच्न सिकाउने यो धर्म आफैंमा त्यति कमजोर छैन, जसलाई सुरक्षित हुनकै लागि कसैको निगाहा चाहियोस् ।

छिमेकी मुलुक भारतकै कुरा गर्ने हो भने विगतमा त्यहाँ कतिपटक यसमाथि आक्रमण भयो सबैलाई थाहा छ  । तैपनि त्यहाँ अझै झण्डै दुईतिहाइ जनता यसैका अनुयायी छन् । यस्तो चमत्कार वैदिक सनातन हिन्दूधर्ममा मात्र सम्भव हुन्छ । किनकि उसको विशेषता नै त्यस्तै छ । त्यसैले जनताको चिन्ता ‘बुढी मरी’ भन्नेतर्फ होइन ‘काल पल्किन’ थालेकोप्रति हो । धर्मनिरपेक्षताको आडमा यहाँ के–कति धर्मान्तरणको खेल भइरहेको छ सबैले बुझेको हुनुपर्छ । नेताहरूलाई त झन् बढी थाहा हुुनुपर्ने हो । यसलाई रोक्नकै लागि पनि नेपाललाई पुनः धर्मसापेक्ष राष्ट्रकै रूपमा फर्काउनु अत्यावश्यक भइसकेको छ ।

यसको अर्थ नेताहरू मात्र जिम्मेवार हुनुपर्छ भन्ने होइन । हिन्दूराष्ट्र माग्नेहरू पनि हिन्दू मर्यादाको सवालमा उत्तिकै सचेत हुनुपर्छ । तिथिश्राद्ध तथा न्वारन, पास्नी र जुठो सुतकको निर्णय गर्नु मात्र हिन्दूत्व होइन । हालै एक सञ्चारकर्मी मित्र भन्दै थिए, ‘हामी हिन्दूराष्ट्रको माग त गर्छौ तर साँच्चै हिन्दू मर्यादा बुझ्ने कति छन् भनेर हेर्ने हो भने लाज मान्नुपर्ने अवस्था छ ।’ उनी प्रतिष्ठित सञ्चार गृहको माथिल्लै ओहदामा छन् । देश विदेश घुमेका छन् । हामीभन्दा बढी नै जानकार छन् । उनको भनाइले निकै अर्थ राख्छ । पक्कै कर्मकाण्ड र कथावाचन मात्रै हिन्दूत्वको पहिचान होइन । 

शिखा र सूत्र मात्रै पनि होइन यो । यो त सभ्यता हो, संस्कृति हो अनि आदर्श पनि हो । त्यसैले हिन्दू राष्ट्रको माग गर्नेहरूले आफैं पनि यसतर्फ सचेत हुनुपर्छ र आचरण पनि हिन्दू मर्यादा अनुरुप नै हुनुपर्छ । कागतमा हिन्दूराष्ट्र लेखिँदैमा केही हुँदैन भन्ने जति चाँडो बुझियो त्यति नै राम्रो हुनेछ ।

चैत ९, २०७५ मा प्रकाशित

कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस