विदेशी लगानी र भौतिक समृद्धिको तारतम्य

चैत ११, २०७५

काठमाडौंमा सम्मेलनको तयारी चल्दैछ । विदेशी लगानीकर्तालाई भित्र्याउने ध्येयले यसै साताको अन्त्यमा आयोजना गर्न लागिएको दुईदिने सम्मेलनमा ४० देशका ६५० लगानीकर्ता / प्रतिनिधि भित्रिने सरकारी अपेक्षाको प्रचार-प्रसार लगानी बोर्ड नामक निकाय मार्फत भइरहेको छ । कुल ३१ खर्ब ५० अर्ब रुपिञाका ७३ वटा आयोजनाको चर्चा चलेको छ जसमा १० वटा पर्यटकीय परियोजना छन् । यिनमा कति लगानी आउला त्यो त सम्मेलन सकिएपछि थाहा हुने विषय हो ।

चर्चित सम्मेलनका सहभागीहरूलाई सुरक्षा प्रदान गर्न मात्र दुई हजार सुरक्षाकर्मी तैनाथ गरिने जानकारी सार्वजनिक भएको छ । यसको तात्पर्य यो लगानी सम्मेलनको आयोजना नै एक खर्चिलो अभ्यास हुनेछ । आवश्यक भौतिक संरचना, सुहाउँदो र भरपर्दो कानूनी आधार, बजारमा पहुँचको व्यवस्था भएपछि मात्र सम्भाव्य लगानीकर्ता आकर्षित हुने यथार्थ सबैसामु छ । यसतर्फ समुचित प्राथमिकता गएन भने ठूलो आशा भरोसा गर्न नमिल्ने विगतका अनुभवले बताउँछन् ।   


ADVERTISEMENT

नेपालको वर्तमान सरकार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा छ जसका दुबै अध्यक्षको सशक्त वामपन्थी पृष्ठभूमि छ । क्रान्तिकारी छवि उजिल्याउने अभ्यासमा वर्षौंदेखि पूँजीवादी अर्थव्यवस्थाको विरोध गर्दै आएका नेता र तिनले हाँकेको प्रशासनिक संयन्त्रले विदेशी लगानीलाई कति सुरक्षा देलान् ? सम्भाव्य लगानीकर्तामा यसबारे सन्देह हुन सक्छ जुन अस्वाभाविक होइन । त्यसैगरी मुद्रा कारोबार, मुनाफा विप्रेषण,श्रमसेवा,कर सहुलियत लगायतका अनेक पक्षमा लगानीकर्ता आश्वस्त हुन चाहन्छन् । यस्ता मामिलामा सरकारी निकायहरू नीतिगत हिसाबले कति तत्पर र कति सहज हुन्छन् त्यो पनि सम्मेलनका सहभागीहरूका निम्ति चासोको विषय हुने कुरामा द्विविधा छैन । 

तर यी सबै तात्कालिक अभिरुचिका विषय हुन् । नेपालको भौगोलिक अवस्थिति र भूपरिवेष्टित अवस्थाले यहाँ कम लागतमा ठूल्ठूला कल-कारखाना सञ्चालन गर्न गाह्रो छ । यहाँ फस्टाउने भनेको पर्यटन र जलविद्युत्‌का उद्योग हुन् । घरेलु उद्योगबाट उत्पादित वस्तुको माग होटेल समेतका पर्यटन व्यवसायले गरिदिँदा मूल्य अभिबृद्धिका कृयाकलापलाई सघाउ पुग्ने हुन्छ । अन्न, फलफूल, तरकारी जस्ता खेतीका उब्जनीले आन्तरिक माग धान्नुका साथै पर्यटकका आवश्यकता पनि पूरा हुने ठाउँ रहन्छ । तसर्थ कृषि उद्यमलाई प्रोत्साहित गर्ने नीति देशको दीर्घकालीन हितमा हुन्छ भन्ने सोच हामीले राखेका हौं ।

सगरमाथा समेतका हिमाच्छादित पर्वत, जैविक विविधता र अतिथि सत्कारका परम्पराले गर्दा नेपाललाई पश्चिमा पर्यटकहरूको आकर्षक गन्तव्य मान्ने गरिएको छ । तर हाम्रो देशको महत्व बाहिरी आवरणमा सीमित रहनु हुँदैन । वेदभूमि, देवभूमि र बुद्धभूमि नेपालका विशेषता भएको हुनाले यसलाई विश्वकै आध्यात्मिक स्थल बनाई प्रस्तुत गर्न कठिन छैन । सगरमाथाको शिखरबाट हुने उद्‌घोषले बाँकी विश्वलाई शान्तिको सन्देश जाने सम्भावना टड्कारो छ । परन्तु यसका आधारस्तम्भ निर्माणको समय शायद अहिले आइसकेको छैन ।

अध्यात्ममा त्यत्ति अभिरुचि नभएको पार्टी सत्ताधारी भएका बखत नेपालको हिन्दू व्यक्तित्व सङ्गलो रूपमा देखिन पनि सक्दैन । ‘होली वाइन’ जस्ता प्रकरण सम्झिँदा विकृति र विचलनका सिलसिला रोकिने अपेक्षा गर्नु सम्भवत: बुद्धिमानी पनि हुने छैन ।  

चैत ११, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस