फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
काठमाडौं –सोमवार दिउँसो १ बजेतिर सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुग्दा एक वृद्ध लौरो टेकेर यताउता गरिरहेका थिए ।
लाग्यो, उनी केही खोज्दैछन् । नजिक गएर सोधेँ- बाजे कसलाई खोज्नुभएको ?
थकित र काँपेको स्वरमा उनले भने- 'मन्त्रीलाई भेट्न आएको । हाम्रै कञ्चनपुरको हो नि त मन्त्री ।'
मन्त्री (खानेपानी मन्त्री बीना मगर) सँग समय लिनुभएको छ त ?
'केही दिनअघि पनि आएको थिएँ । बुडाल थरका एक जनासँग कुरा भएको थियो । यतै कुन कोठा हो, ठम्याउनै सकिनँ ।'
बुडाल थर पहिलो पटक सुनेकाले बडाल भनेका होलान्, भन्ने लाग्यो ।
मन्त्रीको स्वकीय सचिवालयको ढोका खोलेँ, खाली थियो ।
कोठाभित्रको फर्निचर देखेरै चिनेछन्, 'यही कोठा हो बाबु ।'
त्यसपछि मन्त्रीको निजी सचिवालयमा छिरेँ । एक जना कर्मचारी भेटिए ।
मन्त्रीज्यूको सचिवालयमा बडाल थरका कोही हुनुहुन्छ ?
उनले जवाफ फर्काए, 'बडाल होइन बुडाल होला । इन्द्रसिंह बुडाल भन्न खोज्नुभएको हो कि, तर उहाँ आउनुभएको छैन ।
मन्त्री मगर गृहजिल्ला कञ्चनपुर गएकाले स्वकीय सचिवालयका कोही पनि मन्त्रालयमा नरहेको उनले बताए ।
ती कर्मचारीसँग नम्बर मागेर फोन लगाएँ ।
'म खानेपानी मन्त्रालयमा छु । एकजना बाजे तपाईंलाई खोज्दै आउनुभएको रहेछ, त्यसैले फोन गरेको ।'
ती बाजेबारे उनी जानकार रहेछन् ।
'उहाँ केही दिनअघि पनि आउनुभएको थियो । खानेपानीको के योजना भन्दै हुनुहुन्थ्यो । भोलि आउनुस् भनेको थिएँ, आज पो आउनुभएछ,' उनको जवाफ आयो ।
बुडाल मन्त्रालयमा नरहेको जानकारी पाएपछि मैले फोन नम्बर टिपेर बाजेको डायरीमा राखिदिएँ, ता कि अब आउँदा यसरी अल्मलिनु नपरोस् ।
सामाजिक दायित्व पूरा गरेपछि पत्रकार हुनुको नाताले थप जिज्ञासा राखेँ ।
करीब १० मिनेट मन्त्रालयको सिँढीमै उभिएर कुराकानी भयो ।
…
नाम वीरसिंह भण्डारी । उमेर ८३ वर्ष ।
घर बैतडीको दोगडाकेदार गाउँपालिका- ६, थागिल । काठमाडौंबाट ८ सय किलोमिटरभन्दा टाढा ।
एउटै भएको छोरा (कृष्णसिंह भण्डारी) द्वन्द्वकालमा बेपत्ता ।
छोराको प्रसंगमा भावुक हुँदै उनले भने- 'माओवादीहरूले अभियान भनेर लगेका, फर्किएन बाबु ।'
'दुई नाति छन् । एउटा गाउँमै छ, अर्को यही काठमाडौंमा बसेर कोरियन भाषा पढ्छ ।'
उनी काठमाडौं आएदेखि नै होटलमा बसेका रहेछन् ।
'सुन्धाराको होटलमा बसेको छु । नाति कोरियन भाषा पढ्न कीर्तिपुरमा बस्छ,' हातको सार लगाउँदै थपे– 'यत्रोऽऽऽ कोठा छ बाबु । ४/५ जना केटाहरू बस्छन् ।'
नाति साथीहरूसँग मिलेर बसेकाले उनी होटलमा बसेका रहेछन् ।
मन्त्रालयमा कसरी आइपुग्नुभयो त ?
'यही सिँढी चढेर बाबु ।'
उनले बुझेनन् भन्ने लागेपछि दोहोर्याएर सोधेँ- बाहिर ढोकामा पास मागेनन् ?
बल्ल खोजेको जवाफ आयो- 'कांग्रेस दलको कार्यालयबाट भन्दिएका थिए ।'
तपाईं कांग्रेस हो बाजे ?
'हो । क्रियाशील छु ।' उनको अनुहारमा चमक देखियो ।
अनि यहाँ के काम थियो नि मन्त्रीसँग ?
'एउटा पुरानो ट्याङ्की छ, त्यसलाई मर्मत गर्नुपर्यो भनेर । पानी नै चढ्न छाड्यो ।'
अहिले त गाउँगाउँमा सरकार छ, यहाँसम्म धाउनै पर्दैन नि !
'पहिले केन्द्रबाटै पारेको योजना हो, त्यसैले यहाँ आएको ।'
अर्कै पार्टीको सरकार भएकाले उनले केही अप्ठ्यारो महसूस गरेका रहेछन् ।
गुनासो पोखिहाले- 'बाहिर नेपाल सरकार लेख्छन्, भित्र पार्टीको सरकार हुन्छ । हुन त यो कुरा कांग्रेसले नै सिकाएको हो । यिनीहरूले बहुदल नै बुझेनन् । व्यवस्था राम्रो छ, व्यवहार कसैको पनि गतिलो भएन ।'
पञ्चायतदेखि नै पेलान !
खास उनी काठमाडौं आउनुको कारण, खानेपानी मन्त्रालयभन्दा गृहमन्त्रालय रहेछ ।
करीब ३ सय घरधूरी रहेको गाउँ पहिरोको उच्च जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने भनेर तत्कालीन राजा वीरेन्द्रले नै आदेश दिएका रहेछन् ।
'राजाको हुकुमप्रमाङ्गी थियो, तर त्यतिबेलाका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको आदेशमा जिल्लाकाले त्यसलाई गायब पारिदिए,' उनले गुनासो पोखे ।
आफूहरू कांग्रेस भएकाले त्यसो गरिएको उनको बुझाइ रहेछ ।
बहुदल आएपछि आफू साविकको सित्तड गाविसको उपाध्यक्ष पनि भएको उनले सुनाए ।
पहिरोका कारण विस्थापित हुनुपरेपछि गृहमन्त्रालय धाउन थालेका रहेछन्, उनी ।
'पहिरो जान थालेको त २०१८ सालबाटै हो, अझै पनि रोकिएको छैन, गएकोगयै गर्छ,' उनले सुनाए ।
पछिल्लो समय विस्तापित नै हुनुपरेपनि सरकारबाट क्षतिपूर्ति नपाएको उनको गुनासो थियो ।
उनी गृह मन्त्रालय धाउनुको प्रयोजन क्षतिपूर्ति र पुनर्वासको आशा रहेछ ।
'हाम्रै गाउँपालिकाको ४ नम्बर वडामा पहिरो नै छैन पहिरो भनेर बजेट पारेछन्, हाम्रोमा पहिरो छ दिँदैनन् ।'
उनले थपे- 'यो लुटेराहरूको देश हो, कागजमा हुन्छ, व्यवहारमा हुँदैन ।'
निराशा बनेर उनी लौरो टेक्दै सिँढीबाट ओरालो लागे, म पनि पछिपछि लागेँ ।
बाहिर निस्किएपछि मसँग बिदा भएर ती बाजे कांग्रेस संसदीय दलको कार्यालयतिर सोझिए, म भने संसद् सचिवालयतिर लागेँ ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...