उर्जामन्त्री पुनको चेक राजदूतसँग आग्रह - नेपालमा लगानी गर्नुस्

चैत २२, २०७५

काठमाडौं–उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि चेक रिपब्लिकका आवासीय राजदूत मिलन हेवोर्काबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा शुक्रवार भएको भेटवार्तामा द्धिपक्षिय हितको विषयमा छलफल भएको थियो ।

भेटमा उर्जामन्त्री पुनले नेपाल र चेक रिपब्लिकको बीचमा धेरै समानता रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ सुमधुर हुने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय फोरमहरूमा समेत दुवै देशको बीचमा समान धारणा र सहकार्य रहँदै आएको भन्दै आगामी दिनमा पनि थप सहकार्य हुने बताए । 


ADVERTISEMENT

मन्त्री पुनले वेस्ट म्यानेजम्याण्ट, स्मार्ट मिटर र स्मार्ट ग्रिडको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा समेत राजदूत मिलनसँग छलफल गरेका थिए । उनले विदेशी लगानीका लागि नेपालमा उपयुक्त वातावरण रहेको भन्दै चेक रिपब्लिकका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीका लागी आह्वान गरे ।

‘विदेशी लगानीलाई सहयोग पुग्ने गरी हामिले कानुन निर्माण गरेका छौं, अहिले लगानीका लागि समेत उपयुक्त वातावरण छ, तपाईंमार्फत चेकका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्न चाहन्छु ।’ मन्त्री पुनले भने ।

भेटमा चेक राजदूत हेवोर्काले चेक रिपब्लिक र नेपालबीच लामो समयदेखी मैत्रीपुर्ण सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर हुने विश्वास व्यक्त गरेका थिए । उनले 'वेस्ट म्यानेजम्याण्ट', स्मार्ट मिटर र स्मार्ट ग्रिडको क्षेत्रमा काम गर्न चेक कम्पनीहरु ईच्छुक रहेको बताए । साथै १ सय मेगावाटसम्मको जलविद्युत परियोजनामा लगानी गर्न चेक कम्पनीहरू ईच्छुक रहेको जानकारी समेत उनले दिए ।

‘सौर्य उर्जा र जलविद्युतको क्षेत्रमा काम गर्न केहि चेक कम्पनीहरू ईच्छुक छन्, नेपाल सरकारले त्यसको लागि हामीलाई  वातावरण बनाईदिनुपर्यो, हामी नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न चाहन्छौं  ।’ राजदूत हेवोर्काले भने ।

उनले त्यसका साथै सिंचाई, पानी र आधुनिक पम्पको क्षेत्रमा पनि सहकार्य गर्न सकिने धारणा व्यक्त गरेका थिए । 

 

 

 

चैत २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार