‘अमानवीय’ मगन्ते : बिरामी बच्चालाई सडक पेटीमा राख्ने कि अस्पताल लैजाने ?

चैत ३०, २०७५

काठमाडौं – भीडभाड हुने काठमाडौंको सुन्धारा क्षेत्र धुलोधुवाँ र कोलाहलपूर्ण छ । सडकपेटीमा पैदल यात्रीको चाप देखिन्छ । 

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई भीडभाड र धुलोधुँवाको वातावरणले छिट्टै असर गर्छ । त्यहीँ सडक पेटीमा राखिएका हुन्छन् बिरामी बच्चाहरू ।


ADVERTISEMENT

बालबालिका, रोगी र अपाङ्गता भएका व्यक्ति सडकमा मागिरहेका देखिन्छन् । त्यहाँ देखिने अमानवीय दृश्य हो – स्वच्छ र तन्दुरुस्त अभिभावकले बिरामी बच्चालाई सडक पेटीमा राखेर माग्ने साधनका रुपमा प्रयोग गर्नु । यस्तै उमेर पुगेका तर शारीरिक अपाङ्गता भएका व्यक्तिहरू जस्तैः आँखा नदेख्नेले बाजा बजाएर माग्छन्, वृद्धवृद्धाले मजेत्रो र हात फिँजाएर माग्छन् ।

देखिएको दृश्य

नेपाल वायुसेवा निगमको कार्यालय अगाडि सडक पेटीमा अन्यत्रभन्दा अलिक बढी भीड हुन्छ । त्यहीँ भीडमा एउटा सानो बच्चा लडिरहेको थियो । बच्चाको टाउको अन्य सामान्य मानिसभन्दा अस्वभाविक रुपमा ठूलो थियो । बच्चाको नजिकै उनकी आमा र दिदी थिए । बच्चाकी दिदी पनि सानै, ५–६ वर्षकी । बच्चाको अवस्था देखेर दयालुहरूले आर्थिक सहयोग पनि तुलनात्मक रुपमा गरिरहेका थिए ।

बच्चालाई के भएको ? प्रश्न सुनेपछि बच्चाकी आमा रौतहटको गौरकी फूलकुमारी देवीले भनिन्, ‘टाउकोमा पानी जमेको रे ! डाक्टरले भनेको । उपचारका लागि पैसा संकलन गर्दैछु ।’ भर्खर २ वर्ष भएका बच्चाको भारतको पटना अस्पतालमा उपचार गर्नका लागि रकम जुटाउन भन्दै आमा फूलकुमारीले बिरामीलाई सडकपेटीमा राखेकी छन् ।

‘बच्चाको उपचार गर्न डाक्टरले ८ लाख रुपैयाँ लाग्छ भनेको छ,’ उनले भनिन् । महिलाले बोकेको ‘जेब्रा झोला’भरि पैसा भरिएको थियो ।

सैनिक अस्पताल बाहिरपट्टि १ जना वयोवृद्ध व्यक्ति लौरो टेकेर बुढो शरीरलाई पर्खालमा अडाएर टाउको झुकाएर उभिइरहेका देखिए । एउटा हातले लौरौ समातेर एउटा हातले पैसा मागिरहेका छन् । पिसाब नलीमा पाइप जोडिएको थैलो पनि बोकेका थिए उनले । 

७५ वर्षीय पूर्णबहादुर लामाको घर बनेपा रहेछ । तर उनी धेरै वर्षदेखि त्रिपुरेश्वर बस्दै आएका छन् । उनका छोराछोरी र पत्नीको मृत्यु भइसकेकाले उनी आफ्नी बहिनीसँग बस्दै आएका छन् । पिसाब नलीमा पाइप जोडिएको प्रसंगमा उनले भने, ‘यो नलगाई त पिसाब नै आउँदैन बाबु ।’ उनी मधुमेह र उच्च रक्तचापका बिरामी पनि रहेछन् ।

सुन्धारा पुलको आडमा एउटी वयोवृद्ध महिला सधैं मागेरहेकी हुन्छिन् । मुखमा मास्क लगाएर माग्ने सिफारिसको कागज देखाउँदै माग्छिन् उनी । उनले आफ्नो अगाडिपट्टि फोटोकपी कागज राखेकी छन् । उनी अविरादेवी पुनमगरको घर प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–२ घनवाङ रहेछ ।

३ वटा छोरा जन्माएकी अविरादेवीले भनिन्, ‘२ छोरा उहिल्यै भारत नोकरीका लागि गए तर त्यसपछि कहिल्यै फर्केर आएनन् ।’ हाल उनी त्रिपुरेश्वरमा एक्लै भाडामा बस्दै आएकी छन् । उनको कान्छो छोरालाई मृगी रोग लागेको छ । कहिलेकाहीँ कान्छो छोरा आउने र भेटघाट गर्ने गर्छन् ।

गोश्वारा हुलाक कार्यालयको पर्खालको छेउमा १ जना दुवै आँखाले नदेख्ने व्यक्ति देखिए । उनले आफ्नो अगाडि एउटा सानो थोत्रो ढलोटको थाल राखेर मादल बजाएर गीत गाइरहेका थिए । उनी नियमितजस्तै त्यही देखिन्छन् । तर उनलाई तुलनात्मक रुपमा सहयोग मिलिरहेको देखिँदैन ।

के गर्दैछन् सरकार र गैसस ?

काठमाडौंमा यी केही प्रतिनिधि पात्र र घटना मात्रै हुन् । राजधानी काठमाडौंका धेरै गल्लीमा घरबारविहीन, आफन्तविहीन वा दुःखी गरीबहरू माग्ने काममा सक्रिय छन् । बालबालिकालाई देखाएर माग्नेदेखि लिएर आफैं माग्नेसम्मका व्यक्ति काठमाडौंमा देख्न पाइन्छ ।

नेपालको संविधानको मूल प्रस्तावनामा नै ‘समाजवादउन्मुख’ लेखिएको छ । बालबालिका र वृद्धवृद्धालाई माग्ने पेशामा लगाउनै नपाइने हो । राज्यले मन्त्रालय नै खडा गरेर सामाजिक सुरक्षाका लागि भन्दै बजेट खर्चिरहेको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था समेत बालबालिका र वृद्धवृद्धाको क्षेत्रमा कार्यरत रहेको बताउँछन् । तर सडकमा बालबालिका र वृद्धवृद्धा पनि मागिरहेका देखिन्छन् ।

चैत ३०, २०७५ मा प्रकाशित

नारायण अर्याल

पत्रकार अर्याल लोकान्तर संवाददाता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस