श्रीलंकामा भएका विस्फोटमा मर्नेको संख्या २९० पुग्यो, २४ जना पक्राउ

बैशाख ९, २०७६

काठमाडौं – श्रीलंकाका विभिन्न स्थानमा रहेका विलासी होटल र चर्चहरूमा आइतवार भएको शृंखलाबद्ध विस्फोटमा परी मर्ने व्यक्तिको संख्या २९० पुगेको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

आइतवारै एउटा घरमा प्रहरीले छापा मार्दा २४ जना पक्राउ परेका छन् भने कारवाहीका क्रममा तीन प्रहरी मारिएका छन् । 


ADVERTISEMENT

घटनापछि श्रीलंका सरकारले तत्कालै लागू हुने गरी निषेधाज्ञा (कर्फ्यु) लगाएको रक्षामन्त्री रुवान विजेवर्दनेले बताए । 

‘स्थिति सामान्य नहुन्जेलसम्म कर्फ्यु लगाइनेछ,’ कोलम्बोमा उनले पत्रकारहरूलाई बताए । 

सरकारी अधिकारीहरूले फेसबूक र ह्वाट्सयाप लगायतका प्रमुख सामाजिक सञ्जाल र सन्देश पठाउने यापहरूलाई ब्लक गरिएको जनाएका छन् । गलत सूचना र हल्ला नफैलियोस् भनी उनीहरूले यसो गरेका हुन् । 

घटनामा विदेशी नागरिकहरू पनि मारिएका छन् । भारत, अमेरिका, चीन, डेनमार्क, जापान, पाकिस्तान, बंगलादेश र मोरक्कोका नागरिक मारिएका हुन् । तीसजना विदेशी नागरिकको मृत्यु भएको पुष्टि भइसकेको छ ।

विस्फोटको पहिलो शृंखला ईस्टर सन्डेका दिन बिहान पौने ९ बजे भएको थियो । त्यतिखेर मानिसहरू प्रार्थनाका लागि भेला भएका थिए । 

आक्रमणको जिम्मा अझै पनि कसैले लिएको छैन । सन् २००९ सम्म तमिल विद्रोहीहरूसँग सरकार युद्धरत अवस्थामा हुँदा बम विस्फोट प्रायः भइरहेका हुन्थे । 

पक्राउ गरिएका २४ जना मानिस धार्मिक अतिवादी भएको रक्षामन्त्री रुवान विजेवर्दनेले बताएका छन् । 

द वायरबाट
 

बैशाख ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस