मोदीले किन गरे ममता बनर्जीको सकारात्मक वर्णन ? यस्तो छ राजनीतिक अर्थ

बैशाख ११, २०७६

काठमाडौं – भारतमा चुनावी मौसम चलिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड अभिनेता अक्षय कुमारलाई दिएको गैरराजनीतिक अन्तर्वार्तामा ठूलै राजनीतिक सन्देश दिएका छन् । 

उक्त अन्तर्वार्तामा मोदीले आफ्ना राजनीतिक विरोधीहरूका विषयमा दिएका बयानको निहितार्थ विश्लेषकहरूले खोजिरहेका छन् । 


ADVERTISEMENT

उनले गुलामनबी आजादलाई आफ्नो साथी भने अनि घोर विरोधी ममता बनर्जीले उनलाई हरेक वर्ष कुर्ता र मिठाई पठाउने गरेको बताए । 

प्रधानमन्त्रीले विपक्षी नेताको कुरा गर्दा उनीहरूको असफलताको बखान गर्ने गर्थे । तर चुनावी मौसममा विरोधीलाई प्रशंसा गर्दा त्यसका अर्थहरू खोज्न थालिएको छ । 

मोदीले चतुराइका साथ चुनावी फाइदाका लागि तौलेर कुरा गर्ने गरेका छन् । 

पश्चिम बंगालका कुल ४२ सीटमध्ये तीन चरणमा १० सीटमा चुनाव भइसकेका छन् । बाँकीका चार चरणमा राज्यका ३२ सीटमा चुनाव हुँदैछन् । यतिखेर आफ्नो बयानले बंगालमा ठूलो सन्देश दिने मोदीलाई थाहा छ । 

ममता बनर्जीले अहिलेसम्मको चुनाव प्रचारमा मोदीलाई तारो बनाएकी छन् । उनको प्रचार नै मोदीविरोध केन्द्रित छ । विरोध गरेर आफ्नो पक्षमा वातावरण बनाउने उनको सोच हो । यस्तो बेलामा मोदीले आफूलाई ममता दिदीले हरेक वर्ष कुर्ता र मिठाई पठाउने गरेको भनिदिँदा ममताको मोदीविरोधको दाबी कमजोर हुने देखिन्छ । 

मोदीको बयानको अर्को एक पाटो पनि छ । अहिले भारतीय जनता पार्टीको हालत सन् २०१४ को जस्तो छैन । सर्वेक्षणहरूले भाजपा एक्लै बहुमत ल्याउने स्थितिमा नरहेको देखाएका छन् । 

अनि जीएसटी, नोटबन्दी र राफेल जस्ता मुद्दामा विपक्षीहरूले भाजपालाई घेरिरहेका छन् । उत्तर प्रदेशमा कहिल्यै नमिल्ने समाजवादी पार्टी र बहुजन समाज पार्टी पनि मिलेपछि भाजपालाई गाह्रो पर्ने देखिएको छ । 

त्यसैले मे महिनामा सरकार बनाउनका लागि आवश्यक संख्या पुगेन भने पनि भाजपासँग गठबन्धनका लागि सहज हुन्छ । ममताप्रतिको नरम बोलीले पनि उनीसँगको गठबन्धनको सम्भावना पनि खोलेको देखिन्छ । 

३२ सीटमा चुनाव हुन बाँकी नै रहेकोले बंगालको पूर्ण चित्र बन्न सकेकै छैन । यस्तो अवस्थामा मोदीले ममता बनर्जीका सम्बन्धमा स्नेही कुरा गरेर चलाख दाउ खेलेको भन्न सकिन्छ ।

एजेन्सी
 

बैशाख ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस