ओली–प्रचण्डलाई प्रश्न : चरम गुटबन्दीभित्रको समाजवाद कस्तो होला कमरेड ?

बैशाख २४, २०७६

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया नटुंगिँदै गुट–उपगुटको अभ्यास शुरू भएको छ ।

तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपामा वर्षदिन बित्नै लाग्दा पनि पोलिटब्यूरो, जनवर्गीय संगठन र विभागबीच एकता हुन सकेका छैन ।


ADVERTISEMENT

गत जेठ ३ केन्द्रीय कमिटी एकता भएको थियो । ३ महिनाभित्र सम्पूर्ण एकता प्रक्रिया सम्पन्न गर्ने प्रतिवद्धताका साथ भएको एकताले वर्षदिन नाघिसक्यो । पार्टी एकता त हालसम्म भएको छैन, बरू पार्टीभित्र गुट–उपगुटको अभ्यास हुन थालिसकेको छ । 

निर्वाचनताका स्थायी सरकार, समाजवादउन्मुख अर्थतन्त्रसँगै पानीजहाज र रेलका कुराले जनतामा ठूलो प्रभाव परेको थियो । तत्कालीन गठबन्धनले प्रचण्ड बहुमत ल्यायो । तर दुईतिहाइ सरकार सञ्चालनको डेढ वर्ष पूरा हुन लाग्दा पनि जनताका आधारभूत समस्या ज्यूँका त्यूँ देखिन्छन् ।

पार्टीका नेताले समाजवादका ठूला–ठूला कुरा गर्न भने छाडेका छैनन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको पूर्वसन्ध्यामा झापाको बिर्तामोडमा ‘अबको समाजवाद’ विषयक संवाद कार्यक्रममा बोल्दै नेताहरूले समाज गतिशील बन्दै गएको निष्कर्ष निकाले । गतिशील समाजमा समाजवाद ल्याउन नयाँ चुनौती थपिएको भनेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । हिजोका धारणाले अबका प्रश्नको उत्तर नपाइने ज्ञवालीको ‘समाजवादी’ धारणा थियो ।

सोही बहसमा हालका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जोडदार रूपमा समाजवादको बहस चलाउनुपर्ने धारणा राखे । समाजवादको बहस घनिभूत नभइ समाजवादतर्फ पुग्ने रणनीतिक लक्ष्य पूरा हुन नसक्ने श्रेष्ठको भनाइ थियो । पार्टी एकताको पूर्वसन्ध्यामा दुवै दलका नेताहरू यसरी एकजुट भएर एकअर्काको विचारको तह बुझ्न खोजेका पनि हुन सक्छन् ।

ती तिनै नारायणकाजी श्रेष्ठ हुन्, जो पार्टीभित्र आफ्नो गुटको प्रभाव बढाउन अभ्यासरत छन् । जिल्ला कमिटीको नेतृत्वमा आफ्नो प्रभाव एकदमै कम भइसकेपछि पोलिटब्यूरोमा कम्तिमा आधा दर्जन आफ्ना गुटका नेता छिराउने प्रयास गरिरहेका छन् ।

ती तिनै नारायणकाजी श्रेष्ठ हुन्, जो पार्टीभित्र आफ्नो गुटको प्रभाव बढाउन अभ्यासरत छन् । जिल्ला कमिटीको नेतृत्वमा आफ्नो प्रभाव एकदमै कम भइसकेपछि पोलिटब्यूरोमा कम्तिमा आधा दर्जन आफ्ना गुटका नेता छिराउने प्रयास गरिरहेका छन् ।

पार्टीमा हरबखत ‘कम्युनिस्ट’ नाम झुण्डिएको हुने भएपनि नेपालमा यस्ता बहस विरलै हुने गर्दछन् । कम्युनिस्टले सोच्ने, खाने, हिँड्ने, बोल्ने, पढ्ने तरिका अरूको भन्दा भिन्न हुन्छ अर्थात क्रान्तिकारी हुन्छ भन्ने मान्यता छ । कम्युनिस्टहरूले आफूलाई सर्वहारा वर्गको अग्रदस्ता मान्छन् । विचारको हतियारलाई प्रयोग गरेर भीषण वर्गसंघर्ष जित्न सकिन्छ भन्ने मान्यता कम्युनिस्टको रहेको हुन्छ ।

पार्टीभित्र आफ्ना गुटका नेता व्यवस्थापन गर्न वरिष्ठ नेता माधवकुमार नेता अब्बल मानिन्छन् । नेता नेपालले जिल्ला कमिटी नेतृत्वमा आफ्ना मान्छेहरू नपर्ने भएपछि छुट्टै नामावली तयार गरेर समानान्तर कमिटी गठन गर्ने धम्की दिए । नेता नेपालको धम्कीले डराएका अध्यक्षद्वय प्रचण्ड र ओलीले बालुवाटारमा बोलाएर ‘डाडु पन्यू’ नै हस्तान्तरण गरेपछि नेता नेपाल खुशी भए । त्यसपछि केको मापदण्ड ? एकता हुनुभन्दा अगाडिकै नेतृत्वलाई जिल्लाको नेतृत्व दिने सहमति भयो ।

नयाँ र वैज्ञानिक मापदण्ड भनिएपनि पुरानै मिलेर चलाउ भन्ने खालको प्रक्रिया लागू भएपछि नेकपा नेतृत्वमा नेता नेपालले ओलीगुट बराबरकै शक्ति आफ्नो हातमा पारे । पूर्वएमालेबाट अध्यक्ष बनेका ४४ जनामध्ये ओलीनिकट २८ र नेपालनिकट १६ जना छन् । सचिव बन्नेमा भने ओलीनिकट ११ र नेपालनिकट २२ जना छन् ।

पूर्व एमाले खेमामा नेता नेपालले छुट्टै गुटको अभ्यास गरिरहँदा पार्टीका अध्यक्ष प्रचण्ड भने शक्तिशाली देखिएका छन् । जिल्ला कमिटी नेतृत्वमा ओली र नेपाल गुटको भन्दा बढी प्रचण्ड गुटका नेताहरू बढी छन् । यसले महाधिवेशनमा प्रचण्डलाई फाइदा गर्नेछ ।

तर अहिले विचारको संघर्ष भएकै छैन । अहिले त पदका लागि संघर्ष भइरहेको छ । हरेकले आफूलाई पदका लागि दाबी गरिरहेको छ र आफू निकटको शीर्ष नेतालाई दबाब दिइरहेको छ ।

एकता प्रक्रियाको महत्त्वपूर्ण कोशेढुंगा मानिएको पोलिटब्युरो गठनमा पनि नेकपा विभाजित छ । शीर्ष नेताले आफ्ना गुटका नेता नपर्ने अवस्थासम्म मात्र ‘मापदण्ड’ नमिलेको भन्दै असन्तुष्टि जनाउने गर्छन् । यद्यपि नेकपा स्रोतका अनुसार कम्तिमा २ पटक केन्द्रीय सदस्य भइसकेकामध्येबाट पोलिटब्यूरो सदस्य चयन गर्ने तयारी छ । 

पोलिब्यूरो गठनमा मापदण्ड तय भएको बताइएको छ तर ओली समूहबाट ३८, प्रचण्ड समूहबाट ४९, माधवकुमार नेपाल समूहबाट ३६, रामबहादुर थापा समूहबाट १०, वामदेव गौतम समूहबाट ७ र नारायणकाजी श्रेष्ठ समूहबाट ७ जना पर्ने व्यवस्था मिलाइएको छ । बाहुन क्षेत्रीको हकमा ३ र महिला, दलित, जनजाति र मधेसीको हकमा २ कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने मापदण्ड लागू गर्ने सहमति शीर्ष नेताहरूले गरेका छन् । 

बढीभन्दा बढी आफ्नो गुटका नेतालाई हरेक कमिटीमा घुसाउन प्रयास गर्नेले नै सबभन्दा बढी मापदण्डको कुरा निकालेर ‘रोइलो’ गर्ने गरेका छन् नेकपाभित्र । जनताले मतमार्फत २ ठूला कम्युनिस्ट पार्टीको एकीकरणलाई अनुमोदन गरेकै हुन् । तर एसियाकै ठूलो मध्येमा पर्ने नेपालको सत्तारुढ कम्युनिस्ट पार्टी पूर्णरूपमा एकीकृत नहुँदै गुटउपगुटको दलदलमा फस्ने संकेत गरेको छ । 

गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले सचिवालयका नेतामध्ये पनि महासचिव र अध्यक्षद्वय बढी निरंकुश बनेको आरोप लगाएका थिए । ‘जिल्ला कमिटीको नेतृत्व र पोलिटब्यूरो गठनमा सचिवालयका अधिकांश नेताले आफ्ना गुटका नेता पार्न खोज्नु भनेको गुटबन्दीको चरम अभ्यास हो,’ एक स्थायी कमिटी सदस्यले भने, ‘यसरी पार्टी पनि चल्दैन र सरकारले पनि राम्रो काम गर्न सक्दैन । एकीकृत पार्टी हुन नपाउँदै नेताहरू गुटबन्दीमा लाग्न शुरू गरिसकेको देखिन्छ ।’ 

पार्टीभित्र देखिएको चरम गुटबन्दीमा प्रचण्ड सतहमा देखिने गरेका छैनन् तर हरेक विधि र मापदण्डमा प्रचण्डले आफूलाई शक्तिशाली बनाउँदै लागिरहेका छन् । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीलाई तत्कालीन पार्टी एमालेभित्रैका गुटहरूको अहिले व्यवस्थापन गर्नुपरेको छ । यसकारण ओली प्रचण्डभन्दा कम शक्तिशाली देखिएका छन् । वरिष्ठ नेता नेपाल पनि आफूलाई प्रचण्ड र ओलीकै बराबरीमा उभ्याउन खोजिरहेका छन् ।

‘कम्युनिस्ट पार्टीमा विचारको संघर्ष हुनु आम कुरा हो,’ एक स्थायी कमिटी सदस्यले भने, ‘तर अहिले विचारको संघर्ष भएकै छैन । अहिले त पदका लागि संघर्ष भइरहेको छ । हरेकले आफूलाई पदका लागि दाबी गरिरहेको छ र आफू निकटको शीर्ष नेतालाई दबाब दिइरहेको छ ।'


केही दिनअघि ३ नम्बर प्रदेश सचिव आनन्द पोखरेलले आफूलाई पोलिटब्यूरोमा पार्न नखोजिएकोमा आपत्ति जनाएका थिए । अन्य ३ वटा प्रदेशका सचिव पनि आफूले पोलिटब्यूरो पाउनुपर्ने दाबी गर्दै दबाब सिर्जना गरिरहेका छन् ।  

नेकपाभित्र गुट–उपगुटको अभ्यास सिर्जना भएको छ । एउटा प्रश्न सतहमा उब्जेको छ – गुटको अभ्यासले ल्याउने समाजवाद कस्तो होला ? यसको उत्तर पत्ता लगाउने जिम्मा नेकपाको भविष्यलाई नै दिँदा उचित होला ।

बैशाख २४, २०७६ मा प्रकाशित

ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस