अर्थमन्त्रीले पेश गरे बजेटका प्राथमिकता : 'फराकिलो दायराको सामाजिक सुरक्षा र उच्च आर्थिक वृद्धि'

बैशाख २७, २०७६

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेका छन् । 

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (पूर्व बजेट) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै अर्थमन्त्री खतिवडाले सांसदहरूले दिने सुझावका आधारमा बजेट ल्याउने बताए ।


ADVERTISEMENT

मुलुकले अवलम्बन गरेको विकासको ढाँचा, संघीयता, मौलिक हकको कार्यान्वयन र साधनको उपलब्धताबीचको तालमेलको खाकाभित्र रहेर बजेट आउने उनले बताए ।

आगामी वर्षलाई युवा परिचालन वर्ष तथा अधुरा आयोजना सम्पन्न गर्ने वर्षको रुपमा लिने मन्त्री खतिवडाले बताए । उनले आगामी आर्थिक वर्षमा भूकम्पपछि भत्केका आवास निर्माण सम्पन्न गर्ने गरी बजेट आउने बताए ।

‘आगामी वर्षको बजेट न्यायिक वितरण सहितको उच्च आर्थिक वृद्धि, सामाजिक न्याय सहितको समावेशी विकास, क्षमता अनुसारको कामको अवसर र मर्यादित रोजगारीको सुनिश्चितता, फराकिलो दायराको सामाजिक सुरक्षा, व्यवस्थित र गुणस्तरीय पूर्वाधार राष्ट्रिय पूजीको सम्बद्र्धन बजेटका सिद्धान्त हुनेछन्,’ उनले भने । 

सभामुख कृष्णबहादुर महराले २९ गते आइतवार र ३० गते पूर्ब बजेट छलफलका लागि समय तोकेका छन् । पूर्व बजेट छलफल सकिएपछि सरकारले १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट संसदमा पेश गर्नेछ । 

बैशाख २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार