मंसिर ११, २०८०
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
काठमाडौं - अभिनय, अभिनय, अभिनय ! पुष्प खड्काले अरु केही सोचेनन् । बुझ्ने भएदेखि नै चलचित्रको ‘हिरो’ बन्ने सपना देखे ।
चिनेजानेको कोही थिएनन्, न आफूले नै चलचित्र क्षेत्रबारे बुझेका थिए । तर संघर्ष छाडेनन्, निरन्तर साधना गरिरहे ।
त्यसैले त आज म्युजिक भिडियो र चलचित्रमा बिकेका छन् पुष्प । हिजो ‘हिरो’ बन्ने पुष्पको सपना थियो, आज त्यहीँ विपनामा बाँचेका छन् पुष्प ।
पुष्प सोच्थे, ‘मैले अभिनय गरेको चलचित्र हेर्न हलमा दर्शकको भीड लागोस्, मेरो अभिनयको सबैले प्रसंसा गरुन्, दर्शकको भीडमा घेरिन पाउँ ।’ आज पुष्पले सोचेजस्तै भएको छ ।
हलमा चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शनरत छ । उनले हिजो सोचेजस्तै चलचित्र हेर्न हलमा दर्शकको भीड लाग्यो । सयौं दर्शकले पुष्पलाई घेरे, उनीसँग सेल्फी खिचाए ।
सोचेको जीवन जिउन पाउँदा कस्तो लाग्छ ? लोकान्तरसँगको कुराकानीमा पुष्पले भने, ‘बाध्यताको जीवन जिउनुभन्दा सपनाको जीवन जिउनु कैयौं गुणा आनन्ददायी हुन्छ । म मेरो सपनाको जीवनमा जिइरहेको छु । अत्यन्तै खुशी छु ।’ तर यहाँसम्म आउन पुष्पले निकै ठूलो संघर्ष गरेका छन् ।
स्कूलको पढाइ : आधा नेपाल, आधा भारत !
पुष्प कैलालीमा जन्मिए । स्कूले जीवन आधा नेपाल, आधा भारतमा बित्यो । बुवाआमा रोजगारीको शिलशिलामा भारतमा रहेकाले पुष्पले ६ कक्षासम्मको अध्ययन उतै गरे ।
विद्यालयमा पढाइबाहेक कराँते, नृत्य लगायतका क्रियाकलाप प्राथमिकतामा पर्थे । पुष्प कराँते र नृत्यमा अग्रसरता देखाउँथे ।
उनी ६ कक्षासम्म भारतमा पढेपछि जन्मथलो कैलाली आएर ८ कक्षामा भर्ना भए । एसएलसी त्यहीँबाट दिए । एसएलसीपश्चात् भने कञ्चनपुरमा बसेर ‘प्लस टू’मा साइन्स पढे ।
चलचित्रमा देखिने सानैदेखिको रहर । तर कसरी अभिनय गर्ने ? चलचित्रमा कसरी जोडिने ? केही थाहा थिएन । अभिनय गर्न के–के चाहिन्छ भनेर धेरै बुझ्थे तर कतैबाट बाटो पाउँदैन्थे उनी ।
पुष्प भन्छन्, ‘प्लस टू पढ्दै गर्दा होस्टेलबाट भागेर लुकीलुकी नृत्य सिक्न जान्थें ।’ २०६३ सालमा पुष्प काठमाडौं आए ‘प्लस टू’ पछिको अध्ययनका लागि । काठमाडौं आउनासाथ उनी पढाइसँगै नृत्य सिक्न थाले ।
‘काठमाडौं आउनेबित्तिकै वानेश्वरको डान्स सेन्टरमा भर्ना भइसकेको थिएँ,’ पुष्प भन्छन् ‘एक हिसाबले नृत्य मेरो नशा नै बनिसकेको थियो ।’
‘राजेश हमाललाई छोएँ मात्र’
सानैदेखि चलचित्र खुब हेर्ने उनी । स्कूलबाट भागेर, घरबाट पैसा चोरेर धेरैपटक चलचित्र हेरेका रहेछन् पुष्पले ।
काठमाडौं आउनासाथ एकदिन रंगशालामा फुटबल प्रतियोगिता भइरहेको थियो । पुष्पले महानायक राजेश हमाल र नायिका झरना थापालाई आँखैअगाडि देखे । चलचित्रमा देखिरहने कलाकारलाई प्रत्यक्ष देख्न पाउँदा उनी निकै हर्षित भए ।
भीड छिचोल्दै राजेशको नजिक पुगे उनी । कोही राजेशसँग फोटो खिचिरहेका थिए, कोही अटोग्राफ लिइरहेका थिए । पुष्प भन्छन्, ‘ममा बोल्ने ‘कन्फिडेन्स’सम्म थिएन । मैले उहाँलाई पछाडिबाट छोएर फर्किए ।’
त्यो समय हलमा राजेश हमाल, निखिल उप्रेती लगायतले अभिनय गरेका चलचित्रको दबदबा थियो । उनीहरूका चलचित्र हेर्न दर्शकको बाक्लो भीड लाग्थ्यो ।
त्यो देखेर पुष्पले सोच्थे, ‘उहाँहरूको कस्तो क्रेज, म पनि एकदिन उहाँहरूजस्तै बन्छु । मेरो चलचित्र हलमा लाग्दा दर्शकहरूको यसरी नै भीड लाग्नेछ ।’
पुष्प पढाइभन्दा नृत्यतिर बढी केन्द्रित हुन थालिसकेका थिए । राष्ट्रिय सभागृह, प्रज्ञा प्रतिष्ठान, पर्यटन बोर्ड लगायतमा हुने सांगीतिक कार्यक्रममा नृत्य प्रस्तुति दिन थालेका थिए । जहाँ गायक तथा कलाकारहरू पनि प्रस्तुति दिन्थे ।
मोडल दिक्पाल कार्की पुष्पका साथी थिए । उनको माध्यमबाट पुष्पले रेडबुलको विज्ञापनमा देखिने अवसर पाए । जुन विज्ञापन टेलिभिजनमा बज्दा पुष्पमा खुशीको सीमा नै रहेन ।
धेरैलाई भेटे, आश्वासन मात्र पाए
पुष्पलाई जसरी हुन्छ चलचित्र खेल्नु थियो । तर त्यहाँसम्म पुग्ने बाटो थिएन । चलचित्रमा आउनकै लागि पुष्पले नाट्यकर्मी अनुप बरालसँग अभिनय प्रशिक्षण लिइसकेका थिए ।
तर एकैचोटी चलचित्रमा कसले लिने ? साथी दिक्पालले नै म्युजिक भिडियो हुँदै चलचित्रमा जान सुझाए । पुष्प निर्धक्क थिए, ‘म्युजिक भिडियो पाए भने उत्कृष्ट काम गर्छु ।’
तर म्युजिक भिडियोमा पनि कसले अभिनय गराउनु ? पुष्पले त्यो समय चलेका अधिकांश म्युजिक भिडियो निर्देशकलाई भेटे । १ वर्षसम्म चल्यो पुष्पको त्यो संघर्ष ।
‘धेरै निर्देशकलाई भेट्ने र फोटो छोड्ने गरें । तर सबैले आश्वासन मात्र दिनुभयो,’ पुष्पले विगत सुनाए ।
आलोक नेम्वाङ : ‘गड फादर’
पुष्प स्वर्गीय निर्देशक आलोक नेम्वाङलाई आफ्नो ‘गड फादर’ (भगवान्) बताउँछन् ।
किनभने आलोकले पुष्पलाई म्युजिक भिडियो र चलचित्रमा प्रवेश गराए । धेरैका आश्वासन मात्र पाएका पुष्पको भेट १ दिन आलोक नेम्वाङसँग भयो । त्यो भेटमा गायक हेमन्त शर्मा पनि सँगै थिए । हेमन्त नयाँ गीतको तयारीमा रहेछन् ।
त्यो भेटमा पुष्पले आलोकलाई फोटो छोडेर फर्के । ३ दिनपछि फोन आयो । आलोकले भने, ‘एउटा गीत छ । तपाईको सिन अलि थोरै छ । काम गर्नुहुन्छ ?’ पुष्पले धेरै सोचेनन् । जवाफ फर्काए – हुन्छ ।
‘सुटिङ कस्तो हुन्छ भनेर हेर्न उत्साहित हुने म अभिनय गर्न पाएपछि उत्साहित नहुने कुरै भएन ?’ उत्साहित मुद्रामा पुष्पले लोकान्तरसँग अनुभव सुनाए । पुष्पले अभिनय गरेको हेमन्त शर्माको ‘के माया गर्नुहुन्न र ...’ लोकप्रिय भयो ।
पुष्प पनि दर्शकमाझ लोकप्रिय भए । त्यसयता आलोकले नै धेरै म्युजिक भिडियोमा पुष्पलाई काम गराए । केही म्युजिक भिडियोमा अभिनय गरेपश्चात् पुष्प आलोककै निर्देशनमा बनेको चलचित्र ‘अझै पनि’मा हिरोको साथीको भूमिकामा देखिए । त्यो बेला पुष्पलाई लाग्थ्यो, ‘म मुख्य हिरोको भूमिकामा कहिले आउने होला ?’ पछि आलोकको निधन भयो ।
पुष्प भन्छन्, ‘उहाँ मेरो मात्र होइन, हामी केही मोडलहरूको अभिभावक हुनुहुन्थ्यो । उहाँको सहयोगमा काम गर्न एकदमै सजिलो हुन्थ्यो । उहाँको निधनपछि हामीलाई धेरै गाह्रो भयो ।’
पुष्प क्रमशः म्युजिक भिडियोहरू गरिरहेका थिए । उनका डेढ दर्जन बढी भिडियो सार्वजनिक भइसकेका थिए । भिडियो निर्देशकको नजरमा पर्ने भएका थिए पुष्प ।
त्यही समय उनलाई अर्को एउटा गीतले निकै लोकप्रिय बनायो । शिव परियारको ‘पिलायो साथीले’ बोलको गीतमा अभिनय गरेपश्चात् म्युजिक भिडियोमा पुष्पको तानातान शुरू भयो । ‘त्यसपछि कहिल्यै काम माग्नुपरेन । म्युजिक भिडियोको क्षेत्रमा त्यो गीतलाई ‘टर्निङ प्वाइन्ट’ भन्न चाहन्छु,’ पुष्प भन्छन् ।
दर्पण छायाँ–२ चलेन, मंगलम्बाट ‘स्टार’ !
‘पिलायो साथीले’ गीतमार्फत पुष्पले ‘दर्पण छायाँ–२’मा अभिनय गर्ने मौका पाएका रहेछन् । गायक शिव परियारले ‘दर्पण छायाँ–२’ मा गीत गाएका थिए ।
निर्देशक तुलसी घिमिरेले शिवको त्यो गीत हेरेका रहेछन् । भनेछन् तपाईको गीतको मोडललाई चलचित्रमा खेलाउनुपर्यो । शिवले पुष्पलाई तुलसी घिमिरेले भेट्न चाहेको बताए ।
पुष्प त्यसअघि म्युजिक भिडियोझैं धेरै चलचित्रबाट अस्वीकृत भइसकेका थिए । भिडियो हेरेर निर्माता/निर्देशक पुष्पलाई भेट्न बोलाउँथे । कतिपय चलचित्रको लागि अडिसन पनि दिए । तर कसैले चलचित्रमा लिएनन् ।
त्यसैले तुलसी घिमिरेको कुरामा पनि पुष्प आश्वस्त थिएनन् । तरपनि पुष्पले तुलसीलाई भेटेर फर्किए । पुष्पले सोचेका थिए यो चलचित्रमा पनि नायकको साथीको भूमिकामा होला । त्यसैले त्यति चासो पनि दिएका थिएनन् ।
पुष्पले केही दिनपछि निर्देशक विक्रम कार्कीमार्फत बुझे – चलचित्रमा त मुख्य भूमिकामा लिन चाहिएको रहेछ । ‘दर्पण छायाँ–२’ मा मुख्य नायकको भूमिकामा अभिनय गरे, त्यसपश्चात ‘मंगलम्’मा अभिनय गरे उनले ।
‘दर्पण छायाँ–२’ले अपेक्षाकृत व्यापार गर्न सकेन तर ‘मंगलम्’ले पुष्पलाई एकाएक स्टार बनायो । चलचित्र सफल मात्र भएन, पुष्पको कामको खुलेरै तारिफ भयो । अहिले पुष्प अभिनित ‘दाल भात तरकारी’ प्रदर्शनरत छ ।
नयाँ चलचित्र ‘मारुनी’को छायांकन केही दिनअघि सकेका छन् उनले ।
दर्शकको माया र नामबाट सन्तुष्टि
पुष्पको हातमा अहिले पनि चलचित्रको कथा छ । तर पुष्प छनोट गरेर मात्र अभिनय गर्ने बताउँछन् । वर्षमा १ सयको हाराहारीमा नेपाली चलचित्र प्रदर्शनमा आउँछन् । जसमा नाफा कमाउने चलचित्र ज्यादै न्यून छन् ।
‘कलाकारलाई चलचित्र चूज गर्नुपर्ने अवस्था छ । निर्माताहरूले जति पनि चलचित्र बनाउन सक्नुहुन्छ । तर कलाकारहरूको लगातार चलचित्र चलेन भने दर्शकमाझ त्यो क्रेज रहँदैन,’ पुष्प भन्छन्, ‘वर्षमा ५/७ वटा चलचित्र नाफामा जाँदा ती चलचित्रभित्र आफूलाई पार्नुपर्ने हुन्छ ।’
पुष्प लामो संघर्ष र साधनबाट उदाएका हुन् । निरन्तरको संघर्षले नै आज उनलाई सफलता मिलेको छ । कुराकानीको बिट मार्दै पुष्प भन्छन्, ‘जीवनभर कमाएको दर्शकको माया र नामबाट सन्तुष्टि मिलेको छ । त्यसमै सबै दुःख बिर्सेर खुशी हुन्छु ।’
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...