इरान महान् देश हो, कसैले धम्क्याउँदा डराउँदैन : रूहानी

जेठ १, २०७६

काठमाडौं – इरानका राष्ट्रपति हसन रूहानीले उलेमासँग सोमवार राति भेटघाट गरेपछि इरान महान् भएकाले कसैले पनि धम्क्याउन नसक्ने बताएका छन् । 

रूहानीले भने, ‘ईश्वरको इच्छाले हामीहरू यो कठिन समयलाई गौरवका साथ काट्नेछौं र हाम्रो शिर उँचो राख्छौं अनि शत्रुलाई परास्त गर्छौं ।’


ADVERTISEMENT

राष्ट्रपतिले रमजानको पवित्र महिनाको अवसरमा उलेमासँग भेटघाट गरेका थिए । अमेरिकाले इरानमाथि कठोर आर्थिक प्रतिबन्ध लगाएको अनि संयुक्त अरब अमिरातको तटीय क्षेत्रमा आइतवार चार पोतमा आक्रमण गरिएपछि यस क्षेत्रमा तनाव बढेको छ । इरानले यो घटना चिन्ताजनक भएको भन्दै यसको जाँच गर्नुपर्ने माग राखेको छ । 

वैश्विक शक्तिहरूसँग सन् २०१५ मा भएको ऐतिहासिक आणविक सम्झौतामा निश्चित गरिएको वाचाबाट तेहरान पछि हटेपछि अमेरिका र इरानबीच हालैका हप्तामा वाग्युद्ध चालु छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अघिल्लो वर्ष सम्झौताबाट अमेरिकालाई निकालेर इरानमाथि एकतर्फी प्रतिबन्ध लगाएका थिए ।

एजेन्सी
 

जेठ १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस