प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के : पैसाको अभावले विरामीले दुःख पाए भनेर सुन्न नपाउँ

जेठ १, २०७६

धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बुधबार सुदूरपश्चिम प्रादेशिक अस्पताल (सेती अञ्चल अस्पताल) को छड्के अनुगमन गरेका छन् ।

सेवाग्राहीले गुणस्तरीय सेवा नपाएको, पानीको हाहाकार भएको तथा फोहरी भयो जस्ता जनगुनासो बढेपछि मन्त्री सुवेदीले अनुगमन गरेका हुन् ।


ADVERTISEMENT

अनुगमनको क्रममा मन्त्री सुवेदीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेलाई अस्पतालको सेवा सुधार गर्न केही कसर बाँकी नराख्न निर्देशन समेत दिएका छन् । अस्पतालका मेसु पाण्डेलाई निर्देशन दिदै उनले भने, ‘यो अस्पताल प्रदेश सरकार मातहत आएपछि प्रदेश सरकारले केही गरेन । केही हेर्दैन भनेर गुनासो आउँने गरेको छ । जति पैसा चाहिन्छ । खर्च गर्नुस् । पैसाको अभावले अस्पताल फोहोर भयो । अस्पतालमा विरामीले दुःख पायो । पानीको हाहाकार भयो भन्ने कुरा नआओस भन्दै आएका छौ । अब पैसाको अभाव छैन । काम गर्ने र कसरी जनतालाई सेवा सुविधा दिन सकिन्छ । त्यसमा लाग्नुपर्यो ।’

उनले अस्पतालको फार्मेसीमा औषधीको उपलब्धता बढाउन निर्देशन दिएका छन् । सोही क्रममा उनले अस्पताल परिसरमा राखिएका निजी औषधी पसल हटाउन समेत निर्देशन दिए । नभए तत्कालको लागि अस्पताल परिसरभित्रबाटै खोलिएका निजी औषधी पसल बन्द गराएर बाहिर राख्नुपर्ने बताए । अस्पतालका मेसु पाण्डेले अस्पताल सुधारको कार्य तीव्र पारेको दावी गरे ।

पानीको समस्या २ महिनामा समाधान हुने बताउँदै उनले तत्कालको लागि केही अर्टिजन बोरिङ गाडेर पानी आपूर्ति गरिरहेको बताए । तर अस्पताल विकास समितिबाट निजी क्षेत्रलाई टेण्डरमार्फत औषधी पसल राख्न दिएको सो सटर व्यवस्थापन गर्न तथा हटाउन आवश्यक कार्यविधि ल्याउन मन्त्री सुवेदी संग आग्रह गरे ।

कैलाली जिल्ला अस्पतालको रुपमा रहेको सो अस्पताल २०४० साल सेती अञ्चल अस्पतालको परिणत गरिएको थियो । २ सय ५० शैयाको सो अस्पताल प्रदेश सरकार मातहत आएपछि हाल सो अस्पताल प्रादेशिक अस्पतालको रुपमा परिणत गरिएको हो  

जेठ १, २०७६ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस