जात्रै जात्रा : सफल सिक्वेल [फिल्म समीक्षा]

जेठ ४, २०७६

काठमाडौं- अनपेक्षित रूपमा भेट्टिएको वस्तुले मानिसलाई कतिसम्म तनाव दिन्छ र त्यसलाई जोगाउन कति गाह्रो पर्छ भन्ने विषयलाई गज्जब ढंगले उठाइएको फिल्म हो- जात्रै जात्रा ।

करीब तीन वर्षअघि 'जात्रा'को नसिद्धिएको कथालाई सिक्वेलमा भनिएको छ ।


ADVERTISEMENT

जात्रैजात्रामा कथाका मुल पात्र विपिन कार्की (फणीन्द्र), रवीन्द्र झा (मुन्ना) र रवीन्द्रसिंह बानियाँ (जोयश) दोहोरिएका छन् । र उनीहरूको मित्रतामा आएको उतारचढाव र त्यसको उत्कृष्ट मिलन नै कथाको सार हो ।

कस्तो छ कथा ?

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको 'मह विश्वविद्यालय'बाट निर्देशन यात्रामा होमिएका प्रदिप भट्टराई निर्देशित फिल्म 'जात्रैजात्रा'मा फणीन्द्र, मुन्ना र जोयश नक्कली नोट काण्डमा जेलबाट मुक्त भएपछि समाजमा फर्कन्छन् । उनीहरू समाजमा पुन: स्थापित हुन चाहन्छन् । तर जेलनेल भोगेर आएकाहरूलाई सजिलै काम दिइँदैन । समाजले अर्कै आँखाले हेरिदिन्छ ।

मुन्ना सैलुनमा काम गर्न साहूलाई अनुनयविनय गर्छन् तर त्यहाँ उनीमाथि अभद्र व्यवहार हुन्छ । त्यसपछि उनले खुला स्थानमै सैलुन पसल खोल्छन् । त्यस्तै जोयशले पनि बल्लतल्ल सिलिण्डर बोक्ने काम पाउँछन् । फणीन्द्रले एक पण्डितबाजेको ट्याक्सी चलाउँछन् । सोहीक्रममा फणीन्द्रले ट्याक्सीमा तस्कर दयाहाङ राई (दावा) को १० किलो सुन भेट्टाउँछन् । घटना बिस्तारै उनका दुई जना साथीले पनि थाहा पाउँछन् ।

भेट्टाएको सुन उनीहरूले पचाउलान् ? सुन तस्करहरूले उनीहरूलाई शंकाको घेरामा राख्छन्, निरन्तर पछ्याउँछन् । सुन जोगाउन केसम्म गर्छन्, हात लाग्छ कि लाग्दैन ? फिल्म यसकै सेरोफेरोमा घुमेको छ । 

के छ राम्रो ?

सफल सिक्वेलको रूपमा दरिएको फिल्म 'जात्रैजात्रा'को कथा विपिन कार्की 'फणीन्द्र'को वरिपरि घुमेको छ । विपिनको अभिनयमा खोट लगाउने ठाउँ नै भेटिँदैन । उनको अभिनय जीवन्त छ । परिस्थितिअनुसार सुहाउँदो अभिनय छ । विपिनले 'चरित्र अभिनेता'का उपमालाई सार्थकता तुल्याउने स्तरका अभिनय गरेका छन् ।

रवीन्द्र झा 'मुन्ना'ले यसमा पनि उही कोटीको अभिनय गरेका छन्, जुन जात्रामा गरेका थिए । संवादहरू परिस्थितिअनुकूल छन् । उनको अभिनयमा दर्शकले कतै खित्का छोड्छन् त कतै भावुक बन्छन् । 

तुलनात्मक रूपमा रवीन्द्रसिंह बानियाँ 'जोयश'ले जात्रामा भन्दा यसमा अभिनय सुधारेका छन् । यसमा उनको निखारिएको अभिनय देख्न पाइन्छ । उनले पनि विभिन्न संवादमार्फत कथालाई मूलधारबाट भाग्न दिएका छैनन् ।

सुन तस्करको भूमिकामा देखिएका दयाहाङको लुक र गेटअप दर्शकले रुचाउँछन् । दयाहाङको अभिनयले दर्शकलाई मजा दिन्छ ।  

वर्षा राउत 'सम्पदा'ले यस फिल्ममार्फत आफूलाई सफल अभिनेत्रीको रूपमा स्थापित गराएकी छन् । उनको अभिनय परिस्थितिअनुकूल ठिकठाक छ ।

नेपाली फिल्म बजारमा सिक्वेल निकाल्न हतार गर्ने चलन हाबी हुँदै गएको छ । फलस्वरूप दर्शकले एकाधबाहेक फिल्म हलमा लागेको/नलागेको चालै पाउँदैनन् । निर्देशक प्रदिप भट्टराईले सिक्वेलका लागि नगरेको हतारोनै उत्कृष्ट बन्न पुगेको छ । उनले कथालाई परिस्थितिअनुसार उनेका छन् । कथामा छिद्र भेट्न मुश्किल छ । फिल्मको कथामा उनले निकै मेहनत गरेको देखिन्छ । फिल्मको कथामा उनले प्रशस्त मात्रामा हास्यरस घोलेका छन् । फिल्मका चोटिला संवादहरू द्विअर्थी लागेपनि भद्दा छैनन् ।

फिल्ममा निर्देशक भट्टराईले कमेडीलाई नि परिस्थितिअनुसार भन्न सकिन्छ भन्ने गज्जबको उदाहरण दिएका छन् ।

मौका पाउँदा पुरुषले महिलामाथि कसरी कुदृष्टि लाउँछन्, नेपाली समाजमा पैसालाई कुन रूपमा लिइन्छ र इज्जतसँग कसरी जोडिन्छ भन्ने वास्तविकतालाई निर्देशक भट्टराईले उल्लेखनीय ढंगले पस्किएका छन् । फिल्मको इन्डिङ निर्देशकले निकै रोचक ढंगले गरेका छन् ।  फिल्मको ब्याकग्राउण्ड साउण्ड कतैकतै नमिलेको जस्तो देखिन्छ । तर दर्शकले त्यति हेक्का पाउँदैनन् ।

छायांकन पनि ठिकठाक छ ।

फिल्म चलाउन चकलेटी अनुहार राख्नुपर्छ र विदेशमै शूटिङमै गर्नुपर्छ भन्ने परिपाटीलाई जात्रैजात्राले गतिलो झाप्पड दिएको छ ।

अन्त्यमा, यति त भन्नैपर्छ- जात्रैजात्रा नहेरे तपाईंले एउटा राम्रो नेपाली फिल्म छुटाउनुहुनेछ ।

जेठ ४, २०७६ मा प्रकाशित

प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि कला, साहित्य, संगीतमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस