पाँचथर हत्याकाण्ड : नूनमा शिशाको धूलो मिसाइएको घटनासँग जोडिएला हत्याको रहस्य ?

प्रतिकात्मक तस्वीर
जेठ ७, २०७६

काठमाडौं –पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ मा आरुबोटेमा ९ जनाको हत्या हुनेगरी भएको विभत्स हत्यासँग सम्बन्धित हुनसक्ने एउटा रहस्य बाहिरिएको छ ।

हत्या भएका धनराज शेर्माको घरमा केही दिन अघि नूनमा शिशाको धुलो मिसाइएको पाइएको थियो । शेर्माकी श्रीमतीले घरमा ढाकाको कपडा बुन्ने तालिम दिन्थिन् । 


ADVERTISEMENT

नूनमा मिसाइएको शिशाको धूलो खाजामा शेर्मा परिवारका सदस्यसहित ८ जनाले खाएका थिए । त्यसपछि उपचारका लागि अस्पताल पुगेका ६ जना फर्किसकेका थिए ।  २ जना अझै फर्किन बाँकी छ ।

नूनमा कसले शिशाको टुक्रा मिसायो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको मिक्लाजुङ ३ का वडा सचिव सञ्जय राईले लोकान्तरलाई दिए ।

‘केही दिनअघि नूनमा शिशाको धूलो मिसाइएको पाइएको थियो, अहिले यही घरमा यस्तो घटना भयो,’ सो घरबाट ५० मिटरको दूरीमा पर्ने वडा कार्यालयका सचिव राईले भने, ‘यी दुई घटना अन्तरसम्बन्धित छन् कि छैनन् हामीले भन्न सक्ने अवस्था रहेन ।’

साथै उनले घटना भएका दुई घर सँगै पनि नरहेको बताए । ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको घर करीब १ किलो मिटरको दूरीमा रहेको उनले जानकारी दिए ।

गएराति अज्ञात समूहले बमबहादुर र धनराजको परिवारका ९ जनाको विभत्स हत्या गरेको थियो । एक किशोरीले भागेर ज्यान जोगाउन सफल भएकी छन् ।

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस