मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटीएसलाई

जेठ ८, २०७६

धनगढी- धनगढीमा भएको नेपाल आइस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटीएस टेलिभिजनले हात पारेको छ ।

बुधवार भएको फाइनल खेलमा पश्चिम टुडेलाई १४–४ ले पराजित गर्दै एसटीएस टेलिभिजनले उपाधि जितेको हो ।


ADVERTISEMENT

एसटीएसका लागि शंकर बोहराले ७, सागर शाहले ५ र जितेन्द्र रावलले २ गोल गरे । पश्चिम टुडेका लागि दिपक उपाध्याय र रोशन चौधरीले समान २/२ गोल गरे । उपाधिसँगै एसटीएसले नगद १५ हजारसँगै ट्रफी र प्रमाणपत्र हात पारेको छ भने पश्चिम टुडेले नगद ७ हजारसहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ । 

यसअघि आजै भएका सेमिफाइनलको पहिलो खेलमा पश्चिम टुडेले धनगढी एफएमलाई पराजित गरेको थियो भने एसटीएसले बाबा टेलिभिजनलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिम टुडेका दीपक उपाध्याय, उत्कृष्ट गोलकिपर पश्चिम टुडेकै आभाष उपाध्याय र सर्वाधिक गोलकर्ता एसटीएसका सागर शाह भए ।

प्रतियोगितामा फेयर प्ले अवार्ड दिनेश एफएमले जितेको छ । यस्तै प्रतियोगिता आयोजना गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पत्रकार दीपक उपाध्यायलाई सम्मान समेत गरिएको छ ।

जेठ ४ गतेदेखि शुरू भएर जेठ ८ गते सकिएको नेपाल आइस मिडिया कप फुटसल प्रतियोगितामा ९ वटा टीमले भाग लिएका थिए ।

जेठ ८, २०७६ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस