सिंहदरबारको छेउमै बम आतंक : के हेरेर बसेका छन् गृहमन्त्री र आईजीपी ?

जेठ १३, २०७६

काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा आइतवार काठमाडौंमा बम विस्फोटका घटना भए । विस्फोटबाट ४ जनाको मृत्यु र केही घाइते मात्रै भएनन्, सर्वसाधारणमा त्रास फैलियो ।

आइतवार साँझदेखि सोमबारसम्म भएका शृंखलावद्ध बम विस्फोटका घटनाले शान्ति प्रक्रियामा गएको तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वलाई सम्झायो । अहिले सरकार पक्ष र विद्रोही विप्लव पक्ष कारवाही र प्रतिशोधको दिशामा अगाडि बढेका छन् ।


ADVERTISEMENT

विप्लव समूहले बम विस्फोट गराएर सर्वसाधारणमा त्रास फैलाउँदै आफ्नो आह्वानको बन्दको प्रभाव बढाउने काम गर्‍यो । तर विप्लव समूहमाथि प्रतिबन्ध लगाएर निस्तेज पार्ने अभियानमा लागेको सरकार चाहिँ के हेरेर बसेको छ ? गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालभन्दा प्रतिबन्धित विप्लव समूह कसरी ‘सफल’ भइरहेको छ ?

कतिपयले के आरोप पनि लगाउने गरेका छन् भने राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत लगिएपछि पनि देशमा शान्ति सुरक्षाको स्थिति खासै सुधार आएको देखिएको छैन ।

एनसेल कार्यालयमा भएको बम विस्फोटदेखि हालसम्म हरेक घटनामा सरकार असफल देखिएको छ भने विप्लव समूहले आफ्नो कामलाई सफल पारिरहेको देखिएको छ । त्रास फैलाएर नागरिकमाझ उपस्थिति देखाउने र सरकारविरुद्ध प्रतिशोध साध्ने अभियानमा विप्लव समूह देखिएको छ । विप्लव समूहले घटना गराएपछि मात्रै सक्रिय हुने अवस्थामा सरकार छ । सरकारले घटना हुनुअघि नै विप्लव समूहको योजनालाई निस्तेज पारेको एउटा घटना देखिएको छैन ।

आइतवार साँझ राजधानीको प्रशासनिक केन्द्र सिंहदरबारको छेउ अनामनगरसहित विभिन्न ठाउँमा ४ जनाको ज्यान जाने गरी भएको शृंखलाबद्ध बम विस्फोटले नेपालका सुरक्षा अंगको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । 

सरकार मातहत रहेका सुरक्षा निकायमध्ये राष्ट्रिय अनुसन्धान विभाग सूचना संकलन र विश्लेषणका लागि सबैभन्दा महत्त्वपूर्ण सुरक्षा अंग मानिन्छ । 

राज्यको महत्त्वपूर्ण गुप्तचर अंगको रूपमा रहेको राष्ट्रिय अनुसन्धान विभागले आइतवार साँझ भएका विस्फोटका घटनाको पूर्वाभास पाएको थिएन ? आम नागरिकको अहिलेको प्रश्न यही हो सरकारलाई ।
कतिपयले के आरोप पनि लगाउने गरेका छन् भने राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत लगिएपछि पनि देशमा शान्ति सुरक्षाको स्थिति खासै सुधार आएको देखिएको छैन ।

गत फागुन १० गते दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुख्यालयमा बम विस्फोट भयो र त्यसले एउटा सर्वसाधारणको ज्यान लियो । त्यसपछि फागुनकै २४ गते म्यानपावर व्यवसायी रोहण गुरुङको घरमा बम विस्फोट भयो । त्यहाँ कोही हताहती नभएपनि लाखौंको क्षति भयो । त्यसको प्रतिक्रिया स्वरूप फागुन २८ गते सरकारले विप्लव नेतृत्वको नेकपालाई मन्त्रिपरिषद् निर्णय गरेर प्रतिबन्ध लगायो ।

प्रतिबन्धपछि पनि प्रहरी र विप्लव समूहका नेता कार्यकर्ताबीच झडपको स्थिति बनिरह्यो । सयौं नेता कार्यकर्तालाई सरकारले गिरफ्तार गर्‍यो । कतिपय ठाउँमा गोली प्रहारको घटना पनि भयो । पछिल्लो समय जेठ ७ गते विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरेको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको खबर सार्वजनिक भएपछि विप्लव समूह अझ बढी उत्तेजित भयो । कतिपयले सरकार नै विप्लव समूहलाई उत्तेजित गराउनमा लागेको आरोप लगाउँछन् । फलस्वरूप आइतवार साँझ राजधानीमा ३ विस्फोटबाट ४ नागरिकको ज्यान गयो भने ८ जना घाइते भए ।

यसपालि आफ्नो कार्यकर्ताको ‘हत्या’ भएको र त्यसको बदला लिने आशयका वक्तव्यबाजी गरिरहेको सन्दर्भमा जनतालाई आतंकित गराएर भएपनि नेपाल बन्दको कार्यक्रम सफल बनाउने उद्देश्य रहेको प्रष्टै थियो ।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आइसकेपछि ४ जनाको ज्यान लिने विस्फोट पहिलोपटक भएको हो । २०६२/६३ पछि सर्वसाधारणले यत्तिको आतंक कहिल्यै व्यहोरेका थिएनन् । पछिल्ला घटनाक्रमले द्वन्द्वकालीन अवस्थालाई स्मरण गराइरहेको छ ।

बम विष्फोटका विभिन्न आयामबाट अनुसन्धान गरिएको प्रहरीले बताएको छ । विस्फोटपछि बोल्दै प्रहरी प्रवक्ता विश्वराज पोखरेलले शान्ति सुरक्षा चुस्त दुरुस्त पारेको बताए । तर यहीँनेर प्रहरीको लाचारीपन भेटिन्छ ।

यस्तो थियो पूर्वाभास

विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाइसकेपछि स्वयं विप्लवले बारम्बार प्रतिरोध गर्ने धम्की दिँदै वक्तव्यबाजी गरिरहेका थिए । पछिल्लो समयमा भोजपुरमा आफ्ना कार्यकर्ता घिमिरेको प्रहरीको गोली लागि मृत्यु भएपछि प्रतिरोधका कार्यक्रम सार्वजनिक गर्दै विप्लवले सोमवार नेपाल बन्दसम्मको कार्यक्रम घोषणा गरे ।

यसअघि गरिएका नेपाल बन्दको खासै प्रभाव देखिएको थिएन । राजधानी लगायत देशका धेरै ठाउँमा बन्दको प्रभाव न्यून रहने गरेको थियो । यसपालि आफ्नो कार्यकर्ताको ‘हत्या’ भएको र त्यसको बदला लिने आशयका वक्तव्यबाजी गरिरहेको सन्दर्भमा जनतालाई आतंकित गराएर भएपनि नेपाल बन्दको कार्यक्रम सफल बनाउने उद्देश्य रहेको प्रष्टै थियो । तर अनुसन्धान विभागले परिस्थितिको सुक्ष्म विश्लेषण गर्न सकेन, किन ?

सजगता कम भएकै हो : पूर्व प्रहरी अधिकारी 

विस्फोट लगायतका सम्भावित घटनाबारे सुक्ष्म अध्ययन गरेर त्यसको सूचना राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई दिनुपर्छ तर विभागले सुइँकोसम्म नपाएको देखियो । पूर्व एआईजी जयबहादुर चन्दले यसलाई सिस्टम नै फेलियर भएको भन्न नमिल्ने बताए ।

सोमवार लोकान्तरसँग कुरा गर्दै चन्दले भने, ‘उपत्यकामा आइतवार भएको घटनाको कुरालाई लिएर नेपालको विशेष ब्यूरो र इन्टेलिजेन्स फेलियर भएको भन्न त मिल्दैन तर सजगता कम देखिएकाले चुकेको चाहिँ पक्कै हो ।’

नेपालको गुप्तचर संयन्त्र अहिले पनि दैनिक रूपमा पत्रपत्रिकामा आउने समाचार, दैनिक रूपमा हुने खुला राजनीतिक र अन्य कार्यक्रम अनि चिया पसलमा हुने चियागफबाट प्राप्त हुने सूचनामा निर्भर रहेको देखिन्छ ।

चन्दले अमेरिकामा पनि यस्ता विस्फोटका घटना भइ नै रहने उदाहरण दिएर त्यहाँको खुफिया एजेन्सी सीआईए फेल भएको भन्न नमिल्ने बताए । ‘अमेरिकाजस्तो देशमा पनि विस्फोटका घटना भइरहेका छन्, यसको अर्थ त्यहाँको सीआईए फेल भएको लगाउनु हुँदैन,’ चन्दले भने, ‘तर यस्ता घटना न्यूनीकरण गर्न अनुसन्धान विभागले अझ राम्रोसँग काम गर्न सक्थ्यो । अझ बढी सजगता देखाउन सक्थ्यो । त्यसमा हामी चुक्यौं । अब गल्ती नगर्ने गरी अघि बढ्नुपर्छ ।’

हामीलाई पहिल्यैदेखि सूचना थियो : प्रहरी प्रवक्ता 

शंकास्पद गतिविधि भइरहेका भन्ने सूचना प्रहरीलाई पहिल्यैदेखि नै मोटामोटी थाहा भएको नेपाल प्रहरी प्रवक्ता विश्वराज पोखरेल बताउँछन् । ‘शंकास्पद गतिविधि भइरहेको भन्ने सूचना प्रहरीलाई पहिलेदेखि नै मोटामोटी थियो,’ सोमवार लोकान्तरसँग कुरा गर्दै पोखरेलले भने, ‘तर निश्चित बिन्दू पत्ता नलगाउँदै उनीहरूले घटना घटाए ।’ आइतवारको घटनालाई लिएर प्रहरी नै चुकेको भन्न नमिल्ने उनको तर्क छ ।

पोखरेलले अबका दिनमा प्रहरीको सक्रियतालाई अझ वृद्धि गर्दै लैजाने दाबी गरे । ‘अबको दिनमा प्रहरीको सक्रियतालाई अझ वृद्धि गर्दै लैजान्छौं,’ उनले भने, ‘समाजमा शंकास्पद गतिविधि गर्ने व्यक्तिलाई प्रहरीले अझ बढी निगरानी गर्नेछ । बाहिर हिँडडुलमा सर्च अभियानलाई अगाडि बढाउनेछौं ।’

प्रहरी प्रवक्ता र पूर्व प्रहरी अधिकारीले नेपालको सुरक्षा संयन्त्रलाई असफल नै भन्न नमिल्ने बताएपनि सुरक्षा सजगतामा ध्यान नपुगेको स्वीकार गरेका छन् । संसारभर आममान्यता के छ भने एउटा सूचना संकलन गर्नेको शक्ति हजारौं सेना या प्रहरीको बल बराबर हुने गर्छ । नेपालको गुप्तचर संयन्त्र अहिले पनि दैनिक रूपमा पत्रपत्रिकामा आउने समाचार, दैनिक रूपमा हुने खुला राजनीतिक र अन्य कार्यक्रम अनि चिया पसलमा हुने चियागफबाट प्राप्त हुने सूचनामा निर्भर रहेको देखिन्छ ।

राजनीतिक समाधानको बाटो अझै बन्द भइसकेको छैन 

द्वन्द्व विश्लेषक विष्णु उप्रेतीले राजनीतिक रूपमा ‘विन–विन’ गरेर अघि बढ्ने विकल्प अहिले पनि खुला रहेको स्वीकार्छन् । सोमवार लोकान्तरसँग कुरा गर्दै उप्रेतीले भने, ‘जतिसुकै ठूला बम विष्फोट गर्ने गरेको भएतापनि अन्तिम भनेको राजनीतिक वार्ता नै हो । त्यसमा कुनै प्रश्न नै गर्नुपर्दैन । विप्लव समूहले पनि जसरी बम विस्फोटका कार्यक्रम गरेको छ, त्यो एकदमै गलत ‘एप्रोच’ भयो । यसबाट उहाँहरूले चाहेको लक्ष्य पूरा गर्न सक्नुहुन्न ।’

नेपालको सुरक्षा संयन्त्र असफल नै भएको भन्न नसकिने उप्रेती बताउँछन् । ‘यसलाई फेल नै त भएको नभनौं,’ उनले भने, ‘हाम्रो इन्टेलिजेन्स कमजोर चाहिँ देखियो । अलिकति अपडेट त हुनुपर्थ्यो । यो आन्तरिक र बाह्य रणनीति फरक–फरक पनि हुन सक्छ । सधैंभर देखिने एउटा, वास्तविकता अर्कै पनि हुन सक्छ । तर राजधानीको मुटुमै बम पड्किन थालेपछि यो घटनामा कुनै न कुनै तहको कमजोरी चाहिँ देखियो ।’

राजनीतिशास्त्री टिका ढकालले नेपालको सुरक्षा संयन्त्रबारे अहिल्यै टिकाटिप्पणी गर्न नमिल्ने बताउँछन् । ‘हामीले अहिले नै सुरक्षा संयन्त्रबारे टिप्पणी गरिहाल्ने स्थिति बनेको छैन,’ सोमवार लोकान्तरसँग कुरा गर्दै ढकालले भने, ‘तर उपत्यकाभित्रै बम विस्फोट भएको छ, हाम्रो इन्टेलिजेन्सलाई पूर्वाभास हुनुपर्ने हो, त्यहाँनेर कमजोरी जस्तो देखिन्छ । बम विस्फोटका घटनाबारे पूर्वाभास नहुनु अलि अनौठो प्रकारको चीज हो ।’

विप्लव समूहमा हतियारद्वारा नै सरकारलाई चुनौती दिने क्षमता नभएको ढकाल टिप्पणी गर्छन् । ‘बम बनाएर विस्फोट गर्न हिँडेका मान्छेहरू आफैं समातिएका छन्, आफैं विस्फोटमा परेर मरे, उनीहरूको हतियारबद्ध आक्रमण गर्ने क्षमता छैन भन्ने पुष्टि भएको छ,’ ढकालले भने, ‘गृहमन्त्री आफैं लामो समयसम्म द्वन्द्वको एउटा प्रमुख पात्र भएर आउनुभएको हो । उहाँहरूले भन्दा कसले बढी चिनेको होला र विप्लव समूहलाई ?’

विप्लव समूहलाई राजनीतिक दृष्टिकोणबाट पनि हेर्नुपर्ने ढकाल तर्क गर्छन् । ‘सामान्य कानून व्यवस्थाको दृष्टिकोणबाट हेर्ने हो भने सुरक्षा संयन्त्रको कमजोरी देखिएला तर विप्लव समूहलाई राजनीतिक दृष्टिकोणबाट पनि हेर्नुपर्ने हुन्छ,’ ढकालले भने, ‘हिजोको माओवादी द्वन्द्वको सन्दर्भमा पनि यो देखिएको थियो । विप्लवलाई आपराधिक समूहका रूपमा मात्र हेरेर समस्या समाधान हुँदैन ।’

सरकारको गुप्तचरी फेल भएको पहिलो घटना होइन

प्रहरी संगठनका पूर्व अधिकारी र द्वन्द्व विश्लेषकहरूले सुरक्षा संयन्त्र फेल भएको भनेर अहिल्यै भन्न नमिल्ने बताएको भएतापनि देशमा योभन्दा अगाडि पनि ठूला ठूला हत्याका घटनाहरू घटेका छन् र प्रायः सबैमा अनुसन्धान विभागकै लापरवाही पाइएको छ । दिनदहाडै राजधानीको घण्टाघरमा फैजान अहमद, लाजिम्पाटमा सञ्चार उद्यमी जमिम शाह, सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधिश रणबहादुर बमको हत्या भएको थियो । प्रहरीले कतिपय घटनाहरूको अनुसन्धान गर्न पनि सकेको छैन । 

देशमा बढिरहेको सुरक्षा चुनौतीमाथि सत्तारुढ दलका अध्यक्षको पनि जिम्मेवारी हुने नै भयो तर प्रचण्डले अझै पनि विप्लवलाई नीतिका कुरा सिकाइरहेका छन् ।

संसारका कतिपय देशको दृष्टान्त हेर्ने हो भने त्यहाँको सुरक्षा संयन्त्रले सम्भावित घटनाबारे पहिल्यै सूचना संकलन गर्ने काम गर्छ । एक अध्ययनका अनुसार युरोप अमेरिकामा ८० देखि ९० प्रतिशत सम्भावित घटनालाई त्यहाँको सुरक्षा संयन्त्रले निस्तेज पारेको हुन्छ । सुरक्षा संयन्त्रको काम जनतालाई अमनचैन र शान्ति कायम गराउनु हो । आइतवार भएका विस्फोटका घटनाले सुरक्षा संयन्त्रको लापरवाहीलाई उजागर गरेको छ ।

सुरक्षा लापरवाही लुकाउन ‘नीतिका कुरा’

नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवार बिहान आयोजित एक कार्यक्रममा बम विस्फोट गरेर राजनीतिक लक्ष्य पूरा हुन नसक्ने बताए । विप्लव र प्रचण्ड दुवै जनयुद्धका सारथी मानिन्छन् । देशमा बढिरहेको सुरक्षा चुनौतीमाथि सत्तारुढ दलका अध्यक्षको पनि जिम्मेवारी हुने नै भयो तर प्रचण्डले अझै पनि विप्लवलाई नीतिका कुरा सिकाइरहेका छन् ।

सोमवार नै संसदमा बोल्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउन राज्यले काम गरिरहेको बताए । बादलले त विप्लव समूहसँग ४ कम्पनी सेना रहेको खुलासा पनि गरे तर सरकारले विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउनका लागि के–के प्रयास गरिरहेको छ भन्ने बादलले खुलाएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बारम्बार विप्लव समूहलाई हत्या, हिंसा र आतंक नमच्चाउन आग्रह गरिरहेका देखिन्छन् । तर शान्ति र सुरक्षा पाउने नागरिकको अधिकारलाई नीतिगत र सैद्धान्तिक कुराहरूले खासै असर पार्ने देखिन्न । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले तत्काल यो समस्याको हल खोज्नुपर्ने बताउँछन् ।

‘राजनीतिक हल खोज्ने हो भने तत्काल राजनीतिक प्रक्रिया शुरू गरोस् सरकारले,’ भण्डारीले भने, ‘होइन कानूनी हल खोज्ने हो भने पनि तत्काल सुरक्षा संयन्त्रले जनतालाई थप आतंकित हुन नदिने गरी कदम चालोस् । सबै मिलेर यो व्यवस्था ल्याएका हौं, सबै मिलेर हिंसाको सामना गर्दै यो स्थानमा आइपुगेका हौं हामी । अहिल्यै गृहमन्त्री वा आईजीपीको राजीनामा माग्नुभन्दा पनि सरकारले यस्ता समस्या हल गर्नुपर्ने माग हाम्रो रहेको छ ।’

जेठ १३, २०७६ मा प्रकाशित

ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस